लुम्बिनी प्रदेश राज्यमन्त्री विमला वली प्रहरी नियन्त्रणमा, मुख्यमन्त्रीको आग्रहपछि बुटवल लगियो

हिमालय टाइम्स
Read Time = 11 mins

विवेक खड्का/हिटा
दाङ । लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । एक महिलामाथि कुटपिट गरेको भन्दै राज्यमन्त्री वलीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको हो । राज्यमन्त्री वलीमाथि तुलसीपुर उपमहानगरपालिका-५ का एकराज बस्नेतकी श्रीमती मीना भण्डारीलाई कुटपिट गरेको आरोप छ । बस्नेतको घरमै पुगेर उहाँले श्रीमती मीनालाई कुटपिट गरेपछि विवाद भएको थियो । लगत्तै प्रहरी घटनास्थलमा पुगेर राज्यमन्त्री वलीलाई नियन्त्रणमा लिएको थियो ।

यता, लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीलाई बुटवल पठाइएको छ । इलाका प्रहरी कार्यालयको गेटमा राज्यमन्त्री विमलाविरुद्ध नाराबाजी र प्रदर्शन हुन थालेपछि माहोल बिग्रन सक्ने ठानेर प्रहरीले मंगलबार दिउँसो राज्यमन्त्री विमलालाई जिल्ला प्रहरी कार्यालय घोराही पुर्‍याएको थियो । परिस्थिति सबै सहज भएको र मुख्यमन्त्रीले पनि बुटवल पठाइदिन आग्रह गरेको हुँदा पठाइएको प्रहरीले वताएको छ । राज्यमन्त्री विमलाले त्यस्तो हर्कत गर्नु पछाडिको कारण के थियो ? भन्ने बारेमा स्पष्ट जवाफ प्रहरी प्रशासनले पनि दिन सकेको छैन ।

मीनाको उजुरी
लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वलीविरुद्ध इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी परेको छ । विमलाले घरको बेडरुममै गएर आफू र छोरीलाई कुटपिट गरेको भन्दै मीना भण्डारी बस्नेतले इप्रका तुलसीपुरमा किटानी जाहेरी दिनुभएको छ । इप्रका तुलसीपुरका निमित्त प्रमुख प्रहरी निरीक्षक रञ्जन स्वाँरले स्वास्थ्य राज्यमन्त्रीविरुद्ध किटानी जाहेरी आएको पुष्टि गर्नुभएको छ ।

राज्यमन्त्रीविरुद्ध किटानी जाहेरी हामीकहाँ आएको छ’, स्वाँरले भन्नुभयो, ‘जिल्लाको आदेशअनुसार किटानी जाहेरी जिप्रका पठाउँदै छौँ ।’ ‘राज्यमन्त्रीज्यू विरुद्धको जाहेरी जिप्रकामा दर्ता गर्छौं,’ एसपी काफ्लेले भन्नुभयो,

के छ जाहेरीमा ?
मीनाले विमलाविरुद्ध अभद्र व्यवहारमा जाहेरी दिनुभएको छ । विमला बिहान ८ः४५ बजे आफ्नो घरमा आएर ढोकामा हानेपछि आफूले गेट खोलिदिएको जाहेरीमा छ । त्यसपछि घरभित्र पसेर एकराजको खोजी गरेपछि आफूले मेरो श्रीमान् घर हुनुहुन्न भन्दा विमलाले ‘तेरो श्रीमान् होइन मेरो श्रीमान् हो, तुरुन्तै निकाल्’ भन्दै आफूमाथि हमला गरेको मीनाले प्रहरीमा दिएको जाहेरीमा छ । त्यस क्रममा आफ्नो कपाल लुछेर लडाई लात्ती र मुड्कीले हानेको जाहेरीमा छ । छुट्याउन आउँदा ६ वर्षकी छोरीलाई समेत हातपात गरेको उल्लेख छ ।

राज्यमन्त्री वलीले तुलसीपुर-५ स्थित एकराज बस्नेतको घरभित्र पसेर मंगलबार बिहान मीना भण्डारी र उहाँकी छोरीमाथि कुटपिट गरेको आरोप लागेपछि वलीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसपछि अनाहकमा अर्काको घरमा पसेर महिला तथा बालबालिकामाथि कुटपिट गर्ने राज्यमन्त्रीलाई काबारहीको माग गर्दै स्थानीय महिलाहरूले इप्रका अगाडि नाराबाजी र प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा उत्रिएका महिलाहरूले ‘राज्यमन्त्री वली मूर्दावाद’, ‘दोषी राज्यमन्त्री वलीलाई कारबाही गर्’ भन्ने जस्ता नाराबाजी गरेका थिए ।
जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले घटनाको अनुसन्धान भइरहेकाले थप कुरा अनुसन्धानपछि मात्रै खुल्ने बताउनुभयो । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले स्वास्थ्य राज्यमन्त्री विमला वली पक्राउ परेको विषयमा अध्ययन गर्ने बताउनुभएको छ ।

एकराज चार दिनअघि घरबाट निस्केको र हाल सम्पर्कमा नरहेको मीनाले बताउनुभएको छ । एकराज र विमलाबीच सम्बन्ध रहेको विषय गत भदौमा नै सार्वजनिक भएको थियो । फेसबुकमार्फत उनीहरूको फोटो सार्वजनिक भएपछि त्यतिबेला उनीहरूले सम्बन्ध अस्वीकार गरेका थिए ।

विवादै विवादमा विमला
राज्यमन्त्री विमला यो घटनामा मात्रै हैन, समग्रमा उहाँको प्रदेशसभा यात्रा नै विवादमुक्त बन्न सकेन । फलतः उहाँको राजनीतिक यात्रालाई नै ‘हल्का’ टिप्पणी गर्ने वातावरण उहाँकै कारण सृजना भयो ।

लुम्बिनी प्रदेशसभा सदस्य श्रीमान् उत्तरकुमार वलीको जिप दुर्घटनामा परी निधन भएपछि तत्कालीन नेकपाले उत्तरकी पत्नी विमलालाई प्रदेशसभा उम्मेदवार बनाएर वली परिवारप्रति सहानुभूति जगायो । तत्कालीन प्रदेशसभाको उपनिर्वाचनमा कांग्रेसलाई पराजित गरेर प्रदेशसभा भित्रिनुभएकी विमलाको यो राजनीतिक यात्राको सुरुवाती महत्वपूर्ण ‘इनिङ’ थियो । किनकि उहाँ यसअघिसम्म सक्रिय राजनीतिमा हुनुभएको थिएन न त राजनीतिक ‘चेत’ नै थियो ।

प्रदेशसभामा उहाँको प्रतिनिधित्वले उहाँको राजनीतिक यात्राको महत्वपूर्ण मार्ग कोरिरहेको भए पनि उहाँको यात्रा तत्कालीन नेकपा खारेजीपश्चात् ढुलमुलाउन थाल्यो । अनि संसद्मा चल्ने अंकगणितको हिसाबमा विमला जोड र घटाउका प्रमुख ‘चिन्ह’ बन्न थाल्नुभयो । अनि ‘विमला बेपत्ता’ काण्डहरू एकपछि अर्को गर्दै जन्मिए ।

दाङ क्षेत्र नम्बर ३ (ख) को उपनिर्वाचनबाट निर्वाचित विमला २०७८ वैशाख १९ मा पहिलोपटक बेपत्ता भएको खबर बाहिरियो । नेकपा खारेज भई एमाले र माओवादी केन्द्र अलग भइसकेको अवस्थामा सत्तारूढ एमालेले उहाँलाई विपक्षी गठबन्धनले बेपत्ता पारेको आरोप लगायो । नेकपा खारेजीपश्चात् दल रोज्ने अधिकार पाउनुभएकी विमला माओवादी रोज्ने तयारीमा हुनुभयो । उहाँ बेपत्ता भएको खबर बाहिरिएको केहीबेरपछि उहाँले पत्रकार सम्मेल नै गरेर भन्नुभयो ‘म बेपत्ता भएको छैन, म यहीँ छु ।’

त्यो पत्रकार सम्मेलनमार्फत नै उहाँले आफूले नेकपा माओवादी केन्द्र रोजेको स्पष्टसमेत पार्नुभयो । तर, एमालेले भने त्यो बेला माओवादीले नै विमलालाई कब्जामा लिएर बलजफ्ती पार्टी प्रवेश गराएको भनेर आरोप लगायो ।

सत्तारूढ एमालेको नजरमा बेपत्ता बन्नुभएकी उहाँ तीन महिनापश्चात् २०७८ साउनमा फेरि बेपत्ता हुनुभयो । वैशाख १९ मा उहाँले रोजेकै दल नेकपा माओवादी केन्द्रसँग उहाँको सम्पर्क टुटेपछि माओवादी केन्द्रले उहाँलाई बेपत्ता भएको धारणा सार्वजनिक ग¥यो । केही समयपछि सम्पर्कमा आउनुभएकी उहाँले त्यो बेला आफू बिरामी भएर उपचारका लागि नेपालगञ्जमा रहेको र बेपत्ता नभएको वताउनुभएको थियो ।

माओवादी केन्द्रले भने सांसद विमला बेपत्ता भएको मात्रै बताएन, सत्तारूढ एमालेले नै उहाँलाई बेपत्ता पारेको दाबी गरेको थियो । त्यो बेला शंकर पोखरेल नेतृत्वको प्रदेश सरकार फेरबदलको कसरत चलिरहेको थियो । सरकार फेरबदलका लागि विमलाको मत नै निर्णायक थियो । यही योजना मुताबिक सांसद विमलालाई एमालेले आफ्नो पक्षमा पार्ने रणनीति बनाएको आरोप माओवादी केन्द्रको थियो । उहाँ बेपत्ता भएको भनिएकै बेला विमलाकै नाममा आफू एमालेमा रहेको विज्ञप्ति सार्वजनिक भइसकेको थियो ।

एमालेको अपहरणमा परेको र आफू माओवादीमै रहेको भनेर स्पष्टीकरण दिनुभएकी विमलाको मतको जोडबलमा तत्कालीन शंकर पोखरेल नेतृत्वको सरकार परिवर्तन भयो । अनि त्यही योगदानकै प्रतिफल माओवादी नेतृत्वको वर्तमान प्रदेश सरकारले विमलालाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेको थियो । पटक-पटक बेपत्ता पारिएको, बन्धक बनाइएको भनेर विवादित बन्नुभएकी सांसद विमला राज्यमन्त्री बनेपछि महिला तथा बालिका कुटपिटको अर्को जघन्य मुद्दामा मुछिनुभएको छ । सामान्य गृहिणी रहनुभएकी खत्री श्रीमान्को मृत्युपछि एकैपटक सांसदको टिकट पाएर राजनीतिमा देखिनुभएको हो र पटक–पटक विवादमा पर्दै आउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?