अख्तियारद्वारा जुगल गाउँपालिकाका चार कर्मचारीसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ढाकाराम अर्याल, इन्जिनियर सुरेश पौडेल, असिस्टेन्ट सब इन्जिनियर रूपक घिमिरे र लेखापाल सतेन्द्र यादवविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो । साथै बलेफी तेम्बाथान सडक उपभोक्ता समितिका अध्यक्ष देवेन्द्र शाक्य र कोषाध्यक्ष अनुषा लामाविरुद्ध पनि मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पालिका कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीको मिलेमतोमा झूटो प्रतिवेदनका आधारमा ३६ लाख ४९ हजार ८९९ रुपैयाँ अनियमितता भएको छ । जुगल गाउँपालिकास्थित बलेफी तेम्बाथान मोटरबाटो निर्माण गर्ने क्रममा आर्थिक वर्ष २०७४÷७५ मा झुटो विवरणको आधारमा रकम भुक्तानी गरेको, मापदण्ड बमोजिम निर्माण नगरी हचुवाको भरमा काम गरेको तथा गराइएको, डोर हाजिर तथा माइन्युटमा पनि कीर्ते हस्ताक्षर गरेको पाइएको अख्तियारले जनाएको छ ।

अधिकृत अर्याल, इन्जिनियर पौडेल, सब इन्जिनियर घिमिरे र लेखापाल यादवबाट अनियमितता भएको रकम बराबरको बिगो कायम गरी कैद र जरिवानासहित बिगो असुल गर्नको लागि माग गरिएको छ । त्यसैगरी उपभोक्ता समितिका अध्यक्ष शाक्य र कोषाध्यक्ष लामाविरुद्ध पनि सोही रकम बराबरको बिगो कायम गरी कैद वा जरिवाना गरी बिगोसमेत जफत गर्न माग दाबी लिइएको प्रवक्ता भण्डारीले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?