संविधान र गणतन्त्रको रक्षाका लागि एकजुट हुने नौ दलको निर्णय

सत्ता बाँडफाँट राष्ट्रपति निर्वाचनपछि

अनिल क्षेत्री
Read Time = 14 mins

काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सहितका नौ दलले संक्रमणकालीन न्यायका बाँकी काम अविलम्ब पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको नौ दलको बैठकले शान्ति सम्झौता र संविधानको भावनाअनुसार नै शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्नुपर्नेमा जोड दिएका छन् । बैठकले जनताको त्याग र बलिदानबाट प्राप्त संविधान र लोकतान्त्रिक गणतन्त्रको मर्म तथा भावनाविपरीत काम भएको भन्दै त्यसविरुद्ध एकजुट हुने पनि निर्णय गरेको छ ।

बैठकपछि संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै गठबन्धनमा साझेदार दलहरूले संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि एकजुट हुने निर्णय गरेका हुन् । यस्तै, नौ दलले सर्वोच्चको फैसलाबमोजिम संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्मा पेस गर्ने पनि निर्णय गरेका छन् । संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘द्वन्द्वकालीन घटनाबाट पीडित नागरिक एवं उनका परिवारलाई न्याय दिन आवश्यक विधेयक सम्मानित सर्वोच्च अदातलको फैसलाबमोजिम कानुन बन्ने गरी संसद्को यसै अधिवेशनमा प्रस्तुत गरिनेछ । कानुन निर्माणका साथै सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिनसम्बन्धी आयोग गठन गरिनेछन् ।’

यस्तै, संविधानविपरीतका गतिविधि र तिनलाई सहयोग गर्ने क्रियाकलापहरू लोकतन्त्रविरोधी अवाञ्छित रहेको ठहर गर्दै नौ दलले संविधान र लोकतान्त्रिक गणतन्त्र रक्षाका लागि एकजुट भई अगाडि बढ्ने दृढतासमेत व्यक्त गरेका छन् । ‘केही दिनयता जनताको त्याग र बलिदानबाट प्राप्त संविधान र लोकतान्त्रिक गणतन्त्रको मर्म एवम् भावनाविपरीत भइरहेका केही क्रियाकलापतर्फ हाम्रो ध्यान गम्भीर रूपले आकृष्ट भएको छ,’ विज्ञप्तिमा भनिएको छ,’ संविधानले नचिनेका नदेखेका तथाकथित पदका नाममा गरिने संविधान विपरीतका गतिविधि र तिनलाई सहयोग गर्ने क्रियाकलापहरू लोकतन्त्रविरोधी अवाञ्छित हुन् भन्ने विषयमा हामी एकमत छौँ । संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि एकजुट भई अगाडि बढ्ने दृढता व्यक्त गर्दछौँ ।’ साथै शान्ति प्रक्रियाका बाँकी कामलाई विस्तृत शान्ति सम्झौता र संविधानको भावनाअनुरूप तार्किक निष्कर्षमा पुर्‍याउन प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा जनाइएको छ । यस्तै, सत्ता बाँडफाँटको विषय राष्ट्रपतिको निर्वाचनपछि छलफल हुने पनि नौ दलको विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आहृवानमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बैठक बसेको हो । बैठकमा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन, मन्त्रिपरिषद् विस्तार र प्रधानमन्त्रीले विश्वासको मत लिनेलगायत समसामयिक राजनीतिक विषयहरूमा छलफल भएको नेपाली कांग्रेका प्रमुख सचेतक रमेश लेखकले बताउनुभएको छ । यही फागुन २५ गते राष्ट्रपति निर्वाचनका लागि मतदान हुँदै छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा लगाइएको आचारसंहिता निष्क्रिय हुनेबित्तिकै मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रधानमन्त्री प्रचण्डको तयारी छ । हाल एमाले, राप्रपा र रास्वपाले छाडेका १६ मन्त्रालयको बोझ प्रधानमन्त्री दाहालमाथि छ भने सरकारमा माओवादी र जनमत पार्टी मात्रै छन् ।

द्वन्द्वकालमा मारिएका पाँच हजारको जिम्मा लिने बताउनुभएका कारण प्रचण्डमाथि फौजदारी अभियोगमा छानबिन गरी कारबाहीको माग गर्दै परेको रिट सर्वोच्च अदालतमा दर्ता हुने भएपछि माओवादी केन्द्रले आपत्ति जनाइरहेको छ । त्यस्तोमा अन्य आठ दल पनि साथमा देखिएका हुन् ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, जनमत पार्टीका उपाध्यक्ष एवं मन्त्री अब्दुल खान, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत सहभागी हुनुहुन्थ्यो । एमालेको सहयोगमा १० पुसमा प्रधानमन्त्री बन्नुभएका प्रचण्डले राष्ट्रपति निर्वाचनको मुखमा कांग्रेससँग गठबन्धन गर्नुभएको छ ।

गठबन्धनको बैठकमा डा.बाबुराम पनि सहभागी
आठ दलीय गठबन्धनको बैठकमा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई पनि सहभागी हुनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटार बैठकमा अध्यक्ष भट्टराई पनि सहभागी हुनुभएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, नेता रमेश लेखक, माओवादीबाट जनार्दन शर्मा, शक्ति बस्नेत सहभागी रहनुभएको थियो । यस्तै, नेकपा एसबाट राजेन्द्र पाण्डे, प्रमेश हमाल, वेदुराम भुसाल, लोसपाबाट महन्थ ठाकुर र शरद्सिंह भण्डारी, राजमोबाट चित्रबहादुर केसीलगायत नेताहरूको सहभागिता थियो । आठ दलीय गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, नागरिक उन्मुक्ति, जनमत, जनमोर्चा र लोसपा छन् ।

प्रधानमन्त्री निवासमाथि उड्यो अनधिकृत ड्रोन
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार परिसरमा अनधिकृत ड्रोन उडेको छ । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा आठ दलीय गठबन्धन बैठक चलिरहेको बेला अनधिकृत ड्रोन उडेको हो । उत्तरदेखि दक्षिणतिर उडेको ड्रोन पुनः दुई मिनेटमा सोही दिशामा फर्केको थियो । केही मिनेटसम्म त्यस क्षेत्रमा ड्रोन उडे पनि सुरक्षाकर्मीहरूले कुनै एक्सन लिएनन् । अनधिकृत ड्रोन उडेपछि बालुवाटार सुरक्षा निकायले त्यसको खोजीका लागि ड्रोन उडाएको थियो । ड्रोन कसले उडाएको भन्ने यकिन हुन सकेको छैन । उडाइएको ड्रोनको खोजी भइरहेको सुरक्षा स्रोतले जनाएको छ । केही दिनअघि पनि प्रधानमन्त्रीको सरकारी निवासमाथिको आकाशमा ड्रोन उडाइएको थियो । तर, सुरक्षा निकायले उक्त ड्रोन नियन्त्रणमा लिन सकेनन् न त त्यो कसले उडाएको थियो भन्ने पहिचान नै हुन सक्यो । बिना अनुमति ड्रोन प्रधानमन्त्री निवासमाथि उडेको पाइएपछि अनुसन्धान थालिएको जानकारी दिँदै काठमाडौं प्रहरी परिसरका एसपी दानबहादुर कार्कीले भन्नुभयो, ‘अनुमति नलिई उडाएको पाइएको छ । अनुसन्धान थालिएको छ । अनुमति नलिई कसले के प्रयोजनका लागि उडाएको हो भन्न सकिँदैन ।’

सांसदहरूको संयुक्त अभिमुखीकरण स्थगित
आठ दलीय गठबन्धनले फागुन २४ मा राखेको सांसदहरूको संयुक्त भेला स्थगित गरेको छ । निर्वाचन आयोगले लागू गरेको आचारसंहिताका कारण सांसदहरूको भेला रोकिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । संघीय र प्रदेश सांसदको संयुक्त भेला राष्ट्रपतिको निर्वाचनको अघिल्लो दिन आठ दलले बोलाएका थिए । आचारसंहिता १७ फागुन देखि ५ चैतसम्म लागू हुने निर्वाचन आयोगले जनाएको छ । आठ दलीय कार्यदलले गरेको निर्णयअनुसार संघीय प्रदेशका सांसदको छुट्टाछुट्टै अभिमुखीकरण गरिसकेको छ । बिहीबार संघीय सांसद र शुक्रबार प्रदेश सांसदलाई शीर्ष तहका नेताहरूले अभिमुखीकरण गरेका छन् । पुरानो गठबन्धन ब्युँताउनु पर्नुको कारण र राष्ट्रपतिमा आठ दलका साझा उम्मेदवार रामचन्द्र पौडेललाई मत दिनका लागि आफ्ना सांसदहरूलाई अभिमुखीकरण गरिएको थियो ।

राष्ट्रपति निर्वाचनबारे राप्रपाले फागुन २४ गते निर्णय लिने
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचनबारे आगामी बुधबार निर्णय गर्ने भएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी फागुन २४ गते राष्ट्रपति निर्वाचनको अघिल्लो दिन बुधबार बस्ने पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट राष्ट्रपति निर्वाचनबारे निर्णय लिने जानकारी दिनुभयो । राष्ट्रपति निर्वाचन प्रक्रियामा भाग लिने वा नलिने निर्णय भइनसकेको जानकारी दिँदै अध्यक्ष लिङ्देनले भन्नुभयो, ‘हामी अझै निर्णयमा पुगिसकेका छैनौँ । निर्वाचन प्रक्रियामा भाग लिने वा नलिने भनेर २४ गते कार्यसम्पादन समितिको बैठक बस्छौँ र निर्णय गर्छौं ।’ राप्रपा १० पुसमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा गएको थियो । तर, १३ फागुनमा राष्ट्रपति निर्वाचनले गठबन्धन फेरबदल भएसँगै राप्रपा समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएको थियो ।

आफ्नो भूमिमा पाखुरा बजार्नु नै राष्ट्रियता र देशभक्ति हो : पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले श्रमको सम्मान गर्ने संस्कृतिले राष्ट्रलाई माथि उठाउने बताउनुभएको छ । आइतबार नेपाल ट्रेड युनियन कांग्रेसको ७७ औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा वरिष्ठ नेता पौडेलले राष्ट्रलाई बढाउन श्रमको सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले आफ्नो गाउँघरका खेतबारी बाँझो राखेर खानेकुरा विदेशबाट आयात गरेर खाइराखेको अवस्था रहेको भन्दै त्यस्तो अवस्थाको अन्त्य हुनुपर्ने धारणा राख्नुभयो । आफ्नो भूमिमा पाखुरा बजार्नु नै राष्ट्रियता र देशभक्ति भएको उल्लेख गर्दै नेता पौडेलले श्रम गर्ने जनतालाई राज्यले सम्मान गर्नुपर्ने र श्रम गर्नलाई प्रेरित गर्नुपर्ने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?