ऐतिहासिक महत्व बोकेका धर्मशाला र पाटीपौवाहरू लोप हुँदै

हिमालय टाइम्स
Read Time = 7 mins

-डम्मर बुढा मगर

बागलुङ । पाटीपौवा तथा धर्मशाला भन्नेबित्तिकै बटुवालाई सम्झिने गरिन्छ । बागलुङमा एक दशकअगाडिसम्म सडकको पहुँच खासै थिएन । सडक नहुँदा यहाँका नागरिक पैदल यात्रा गरेर टाढा-टाढा पुग्ने गर्थे । पैदल यात्रुलाई बासस्थानका लागि गोरेटो बाटोको छेउछाउहरूमा पाटीपौवा तथा धर्मशाला बनाउने गरिन्थ्यो । बटुवाहरू रात कटाउन यहीँ बास बस्ने गर्थे ।

तर, सडक सञ्जालले जिल्लाका सबै क्षेत्र जोडिएपछि यस्तै ऐतिहासिक महत्व बोकेका धर्मशाला र पाटीपौवाहरू लोप हुँदै गएका छन् । केही ठाउँमा भएका संरचना पनि जीर्ण अवस्थामा छन् । यस्ता मौलिकता बोकेका संरचनाको संरक्षणमा कसैको ध्यान पुगेको छैन । बागलुङको पश्चिम क्षेत्रमा सडक सञ्जाल र होटल रेस्टुरेन्टको सुविधा नभएको समयमा बटुवा, तीर्थयात्रीलगायतका मानिसहरूका लागि विभिन्न ठाउँमा निर्माण गरिएका धर्मशाला र पाटीपौवा संरक्षण अभावमा संकटमा परेका हुन् ।

अधिकांश गाउँठाउँमा रहेका धर्मशाला, पाटीपौवा, चौतारी निर्माण गर्ने र बटुवाका लागि पिउने पानी राखिदिने परम्परा अहिले हराएको छ । एक दशकअघिसम्म पनि ग्रामीण क्षेत्रमा धर्मशाला, पाटीपौवाको प्रयोग प्रचलनमा थियो । तर, अहिले धेरैजसो ठाउँमा निर्माण गरिएका पाटीपौवा र धर्मशाला जीर्ण बनेका छन् । त्यस्ता ऐतिहासिक महत्व बोकेका संरचनाको संरक्षणमा स्थानीय सरकार र सरोकारवालाको समेत ध्यान नपुगेको स्थानीयको गुनासो छ ।

बास बस्नका लागि पाटीपौवा, धर्मशाला, थकाइ मार्न र भारी बिसाउन चौतारी निर्माण गरिन्थ्यो भने प्यास मेटाउनका लागि धर्मशालामा माटोको घैंटो निर्माण गरेर चिसो पिउने पानी राखिदिने चलन थियो । तर, अहिले यो चलन हराएकोप्रति बुढापाका चिन्तित छन् । बाटोको छेउछाउमा पाटीपौवा र धर्मशाला निर्माण गरेर बाटो हिँड्ने बटुवाका लागि पिउने पानी राखिदिँदा पुण्य आर्जन हुने निसीखोला गाउँपालिका–४ का मिनबहादुर बुढा मगरले बताउनुभयो ।

बटुवाहरू दिनभर हिँड्दा थकित हुने र बास बस्नका लागि बस्तीहरू नभेट्याउने हुँदा रात बिताउन र तिर्खा मेटाउनका लागि धर्मशाला निर्माण गर्ने गरेको उहाँले बताउनुभयो । पहिले–पहिले अहिलेको जस्तो होटलको व्यवस्था र सडकको सहज पहुँच नभएको हुँदा बटुवालाई बास बस्नका लागि धर्मशाला बरदान साबित हुन्थ्यो । ‘पहिले त अहिलेको जस्तो होटलहरू थिएनन्, यस्ता सडक सुविधा थिएनन्, गाडी चल्दैनथे, अहिले जताततै गाडी गुड्छन्, एक ठाउँबाट अर्को ठाउँमा पुग्न दिनभर हिँड्नुपथ्र्यो, हिँड्दा-हिँड्दै साँझमा कुनै बस्ती नभएको ठाउँमा पुगियो भने धर्मशालामा बस्ने गरिन्थ्यो,’ बुढा मगरले भन्नुभयो, ‘रातभर त्यही धर्मशालामा बसेर अर्को दिन आफ्नो गन्तव्यमा पुगिन्थ्यो, अहिले त सरर्र गाडी चढ्यो, एक/दुई दिन लाग्ने ठाउँमा पनि एकै छिनमा पुग्न सकिन्छ ।’

ग्रामीण क्षेत्रमा सडक विस्तारले व्यापकता पाएसँगै बागलुङमा यस्तो मौलिक सम्पदा र परम्परा अत्यन्तै कम देख्न पाइन्छ । ग्रामीण क्षेत्रमा इतिहासको साक्षी बनेर रहेका ऐतिहासिक पाटीपौवा, धर्मशालाहरू भत्किएका छन् भने केहीका अवशेषसमेत बाँकी छैनन् । ग्रामीण क्षेत्रका सौन्दर्यसँग जोडिएका यस्ता सम्पदाको संरक्षणमा स्थानीय पालिकाले चासो देखाउन जरुरी भएको स्थानीय बताउँछन् ।

यात्रुको सुविधाका लागि बनाइएका पाटीपौवा र धर्मशाला पछिल्लो समय सडकका कारण कम उपयोग हुँदै आएको निसीखोला गाउँपालिका-४ का पूर्णबहादुर नेपालीले बताउनुभयो । जिल्लाका विभिन्न ठाउँमा रहेका दर्जनौँ पाटीपौवा र धर्मशालाको अस्तित्व संरक्षण र उपभोग अभावमा संकटमा परेका छन् । निसीखोलाको कालापैराको फेदमा रहेको धर्मशालालाई स्थानीयले संरक्षण गर्दै आएका छन् ।

निसीखोला गाउँपालिका-६ का वडाध्यक्ष सूर्यमान बुढा मगरले पुराना ऐतिहासिक सम्पदाको संरक्षणमा आफूहरू निरन्तर लागेको भन्दै पालिकाले पनि त्यस्ता सम्पदाको संरक्षणका लागि बजेट विनियोजन गरिरहेको बताउनुभयो । उहाँले आफ्नो वडामा पनि मौलिक सम्पदाहरू लोप हुँदै गएको भन्दै तिनीहरूको संरक्षणमा वडा कार्यालय र युवाहरूलाई जागरुक बनाएको बताउनुभयो ।

दैनिकरूपमा त्यसको लिपपोत नभए पनि दसैँको समयमा सरसफाइ र लिपपोत हुँदै आएको छ । स्थानीयहरूले अहिले त्यहाँ पशुचौपायासमेत बाँध्ने गरेको पाइन्छ । स्थानीय सरकारले उच्च स्थानमा अनावश्यकरूपमा कंक्रिटका भ्यु टावर निर्माण गर्छन् तर यस्ता ऐतिहासिक सम्पदाको संरक्षणमा ध्यान दिँदैनन् ।

स्थानीय सरकारले बस्तीमा सडक पुर्याउने नाममा जथाभावी डोजर चलाउने गरेका छन् तर त्यसले गर्दा पनि यस्ता मौलिक संस्कृति धरापमा परेका छन् । सरोकारवाला निकायले जीर्ण बनेका यस्ता संरचनालाई पुनर्निर्माण गरेर संरक्षण गर्नुपर्ने देखिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?