तराईमा बढ्न थाले सर्पदंशका बिरामी

हिमालय टाइम्स
Read Time = 5 mins

धनगढी  तराईमा बढेको गर्मीसँगै अस्पतालमा सर्पदंशका बिरामी बढ्न थालेका छन् । धनगढीस्थित सेती प्रादेशिक अस्पतालका अनुसार पछिल्लो समय दैनिक दुई/तीन वटासम्म सर्पदंशका गम्भीर बिरामी भर्ना हुने गरेका छन् । ‘सर्पले टोकेका बिरामीको संख्या दैनिक पाँच/६ जनासम्म पुग्ने गरेको छ,’ सेती प्रादेशिक अस्पतालका सर्पदंश उपचार संयोजक डाक्टर शेरबहादुर कमरले भन्नुभयो, ‘तीमध्ये दुई/तीनजना धेरै विषालु सर्पले टोकेका बिरामी आउने गरेका छन् ।’

उहाँले मानिसको लापरबाहीका कारण सर्पदंशका बिरामी बढ्ने गरेको बताउनुभयो । रातिमा होसियारी नअपनाई हिँड्डुल गर्ने, सुत्दा ओच्छ्यान राम्ररी नहेरेर सुत्ने गरेका कारण सर्पदंशका बिरामी बढ्ने गरेको उहाँले बताउनुभयो । ‘तराईका बढी विषालु सर्प गोमन र करेत हुन्,’ उहाँले भन्नुभयो, ‘ती सर्प सुक्खा ठाउँमा बस्न रुचाउँछन्, करेत ओच्छ्यानमै पनि लुकेर बसेको हुन्छ, राति सुत्दा राम्ररी नहेरेर सुत्ने बानीले ओच्छ्यानमै सर्पले टोक्ने गरेको भेटिएको छ ।’सुतेको बेला करेत सर्पले टोकेको थाहा नपाएरै कतिपय बिरामीको मृत्यु हुने गरेको कमर बताउनुहुन्छ ।

सुतेको वेला करेत सर्पले टोकेको थाहा हुँदैन । कमरका अनुसार करेतले टोकेपछि पेट दुख्ने, बान्ता हुने, टाउको दुख्ने लक्षण भए पनि ज्वरो आउँदैन । ‘सर्पले टोकेको थाहा नपाउने धेरैले ग्याष्ट्रिक भएको भन्दै सामान्य औषधि खाने गरेका छन् । धेरै स्वास्थ्यकर्मीले सर्पले टोकेको पनि थाहा पाउँदैनन्,’ कमरले भन्नुभयो, ‘सेती अस्पतालमा कार्यरत पुराना स्वास्थ्यकर्मीले त्यस्ता बिरामी पत्ता लगाउन सक्छन् । यदि पेट दुख्ने, बान्ता हुने, टाउको दुख्ने जस्ता लक्षण देखिए बिरामीले तुरुन्त सेती अस्पतालको इमरजेन्सीमा आएर देखाउँदा राम्रो हुन्छ ।’

करेत सर्पले टोकेका बिरामी चार/पाँच घण्टासम्म अस्पताल आउँदा पनि उपचार हुन सक्ने उहाँले बताउनुभयो । कोब्रा र करेत सर्पले न्युरो टक्सिन विष फाल्ने गर्दछन् । जसले नसामा असर गर्ने हुँदा विषको प्रभाव छिटो देखिने गर्दछ । तर, गोमन सर्पले टोकेको खण्डमा भने एक डेढ घण्टामै सर्पदंशको उपचार भएका अस्पताल पुग्नुपर्ने उहाँको सुझाव छ । ‘गोमन सर्पले करेत जस्तो लुकेर टोक्दैन । गोमन भएको ठाउँ नजिक जाँदा उसले पहिला नै मानिसलाई चाल दिन्छ,’ कमरले भन्नुभयो, ‘तर, जबरजस्ती गरेमा गोमनले झम्टन पनि बेर लगाउँदैन ।’ गोमन सर्प दाउराको थुप्रो, झाडी भएका सुक्खा स्थानमा बस्न रुचाउने हुँदा त्यस्ता स्थानमा जाँदा मानिसले सावधानी अपनाउनुपर्ने उहाँको सुझाव छ ।

डा. कमरका अनुसार कैलाली कञ्चनपुरमा अझै पनि सर्पले टोकेमा धामी झाँक्रीमार्फत झारफुक गराउने परम्परा कायमै छ । जसकारण कतिपय मानिसको मृत्यु हुने र कतिपयलाई बचाउन धेरै मिहिनेत गर्नुपरेको उहाँले बताउनुभयो । ‘सर्पले टोकेपछि तुरुन्त नजिकको अस्पताल जानुको सट्टा अझै पनि धामीझाँक्रीलाई देखाउने गरेको पाइन्छ,’ उहाँले भन्नुभयो, ‘बिरामी मर्ने अवस्थामा मात्रै अस्पताल पुर्याइने गरिन्छ । त्यस्ता बिरामीलाई बचाउन धेरै मिहिनेत गर्नु पर्दछ ।’

कैलाली कञ्चनपुरका ठाउँठाउँमा सर्पदंश उपचार केन्द्र हुँदाहुँदै पनि मानिसले धामी झाँक्रीको भर परेर आफ्नो ज्यान आफैँ जोखिममा पार्ने गरेको उहाँको गुनासो छ । सेती प्रादेशिक अस्पतालमा हाल १७ वटा आइसियु बेड र १२ वटा भेन्टिलेटर बेड छन् । पछिल्लो समय सबै आइसियु र भेन्टिलेटर बेड सर्पदंशका बिरामीले भरिने गरेका कमरको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?