पुलिस समूह विजेता

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । काठमाडौंमा जारी सातौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको खेलमा नेपाल पुलिस क्लबले न्यु डाइमण्ड युथ स्पोर्ट्स क्लबलाई पराजित गर्दै समूह ‘ए’को विजेता बनेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा बिहीबार भएको खेलमा विभागीय टोली पुलिसले न्यु डायमण्डलाई तीन-दुईको सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । यस जितसँगै पुलिस समूह ‘ए’ को विजेता बन्यो । प्रतियोगितामा न्यु डायमण्ड पनि उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।

खेलमा पहिलो सेट २५-२२ ले जितेको पुलिसले खेलको दोस्रो सेट २२-२५ ले गुमायो । त्यस्तै, खेलको तेस्रो सेट पुलिसले २५-१४ ले जित्यो भने खेलको चौथो सेट न्यु डायमण्डले आफ्नो पक्षमा पा¥यो । न्यु डायमण्डले २५-२३ ले जित्यो । त्यसैगरी खेलको पाँचौँ तथा अन्तिम सेट पुलिसले १५-१० ले जित्यो ।

यसैगरी बिहीबार भएको अर्को खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) कृष्ण एकेडेमीलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘बी’ मा रहेको एपिएफ कृष्ण एकेडेमी क्लबलाई तीन–शून्यको सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । एपिएफले पहिलो सेट २५-४ ले हरायो भने खेलको दोस्रो सेट २५–४ ले पाखा लगायो । त्यस्तै, खेलको तेस्रो तथा अन्तिम सेट एपिएफले २५-३ ले आफ्नो पक्षमा पार्‍यो ।

बुढानीलकण्ठ भलिबल क्लबमाथि सोझो सेटमा जित निकाल्दै केशवलाल स्मृति भलिबल प्रशिक्षण केन्द्र पुरुषतर्फ क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुढानीलकण्ठ समूह ‘डी’ बाट अन्तिम आठमा पुग्न सफल भएको हो । यो समूहबाट टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले क्वाटरफाइनलमा स्थान बनाइसकेको छ ।

बुढानीलकण्ठले पहिलो सेट २७-२५ ले जित्न सफल भयो । खेलको सुरुवातदेखि नै लगातार पछि परेको केशवलालले उत्कृष्ट पुनरागमन गर्दै जित निकाल्न सफल भएको हो ।

त्यसपछिको दुवै सेट केशवलालले जित्न खासै मिहिनेत गर्नुपरेन । दोस्रो सेटमा २५-१८ को जित निकालेको केशवलालले तेस्रो सेट २५-१६ ले सहजै जित्न सफल भयो । बुढानीलकण्ठका विवेक तामाङ केल्मी प्लेयर अफ दि म्याच घोषित हुनुभयो । यस जितसँगै केशवलालले तीन खेलबाट ६ अंक जोडेको छ । बुढानीलकण्ठले तीन खेलबाटै तीन अंक जोड्यो । मधेशले अंकको खाता खोल्न सकेको छैन ।

त्यसअघि पुरुषतर्फ नेपाल पुलिस क्लब पनि समूह विजेता बन्यो । समूह ‘सी’को पुलिसले आफूले खेलेका तीनै खेलमा विजयी बन्दै नौ अंकका साथ समूह विजेता बनेको हो । पुलिसले अन्तिम खेलमा गण्डकी प्रदेशमाथि रोमाञ्चक प्रतिस्पर्धामा २५-२३, २५-२१, २४-२६ र २५-१५ को जित निकालेको हो । अब पुलिसले क्वाटरफाइनलमा समूह ‘ए’ को दावाली मिलन केन्द्रसँग प्रतिस्पर्धा गर्नेछ ।

समूह ‘सी’ कै अर्को खेलमा ढोरपाटन स्पोर्ट्स क्लबले नवप्रवेशी न्युटन भलिबल एकेडेमीलाई तीन-दुईले पराजित गर्दै अंक बाँड्न बाध्य भयो । निकै नै सनसनीपूर्ण खेलमा ढोरपाटनले न्युटनलाई २५-२३, २५-२०, १८-२५, २२-२५ र १५-९ ले पराजित गर्दै अंक बाँडेको हो । एक खेल जित र एक खेल हारेको ढोरपाटनको दुई अंक भएको छ भने न्युटनको एक अंक रहेको छ । यस्तै, गण्डकीको तीन अंक भएको छ । ग्रुप ‘सी’ बाट दोस्रो भएर क्वाटरफाइनलको यात्रा गर्ने अर्को टोलीको छिनोफानो गण्डकी र ढोरपाटनबीचको खेलबाट टुंगो लाग्नेछ ।

समूह ‘डी’को खेलमा टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब दुई खेलमा विजयी बन्दै ६ अंकका साथ क्वाटरफाइनल प्रवेश गर्न सफल भएको छ । पहिलो खेलमा बुढानीलकण्ठ स्पोर्ट्स क्लबलाई पराजित गरेको हेल्प नेपालले आज सम्पन्न दोस्रो खेलमा बागमती प्रदेशको केशवलाल स्मृति भलिबल क्लबलाई २५-१८, २५-१८ र २५-१३ ले पराजित गर्दै ६ अंकका साथ क्वाटरफाइनल प्रवेश गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?