एन्फा अध्यक्षमा नेम्वाङ, ‘डर्टी पोलिटिक्स’बाट टाढा हुन्छु  : शेर्पा

हिमालय टाइम्स
Read Time = 8 mins

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा पंकजकुमार नेम्वाङ निर्वाचित हुनुभएको छ । निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै नेम्वाङ अध्यक्षमा निर्वाचित हुनुभएको हो । बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सोमबार राति भएको मतगणना अनुसार नेम्वाङले ४५ मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्द्वी शेर्पाले ३९ मत पाउनुभयो ।

एन्फा चुनावमा कुल ८४ मत खसेको थियो । त्यसबाहेक अध्यक्ष पदका अर्का उम्मेदवार राजीव राज पौड्यालले एक मत पनि प्राप्त गर्नुभएन । एन्फाको २१ सदस्यीय कार्यसमितिका लागि सोमबार निर्वाचन भएको थियो । सदस्यका उम्मेदवार चारजनाको बराबरी मत आएपछि पुनः चुनाव हुनेभएको छ । १९ सदस्यीय कार्यसमितिको टुंगो सोमबारै लागेको छ ।

वरिष्ठ उपाध्यक्षमा नेम्वाङ प्यानलकै वीरबहादुर खड्का ४४ मतसहित विजयी हुनुभयो । शेर्पा प्यानलका उम्मेदवार शिक्षित पराजुलीले ४० मतमात्रै प्राप्त गर्नुभयो । चार उपाध्यक्षमध्ये तीनजना नेम्वाङ प्यानलका उम्मेदवार विजयी हुनुभयो शेर्पा प्यानलका एक उम्मेदवार विजयी हुनुभयो । नेम्वाङ प्यानलबाट दावा लामा, दीपक खतिवडा र विराटजंग शाही निर्वाचित हुँदा शेर्पा प्यानलका दीर्घबहादुर (कुमार) केसी विजयी हुनुभयो । शेर्पा प्यानलका उपेन्द्रमान सिंह, रत्नकुमार श्रेष्ठ र विज्ञानराज शर्मा तथा नेम्वाङ खेमाका सुन्दरनरसिंह जोशी पराजित हुनुभयो ।

महिला सदस्यमा भने दुवै प्यानलका एक-एक उम्मेदवार विजयी हुनुभयो । शेर्पा प्यानलकी पेमा डोल्मा लामा र नेम्वाङ प्यानलकी सरिला श्रेष्ठ विजयी हुनुभयो । नेम्वाङ प्यानलकी विन्द्रा देवान र शेर्पा प्यानलकी विना श्रेष्ठ पराजित हुनुभयो ।

१३ खुला सदस्य पदमा भने ११ जना निर्वाचित हुनुभयो । जसमा नेम्वाङ प्यानलबाट ६ तथा शेर्पा प्यानलबाट पाँच सदस्य विजयी हुनुभयो । चारजना सदस्यका उम्मेदवारको समान ३९-३९ मत भएपछि दुई सदस्यको टुंगो लागेको छैन । बाँकी दुई सदस्यको विशेष साधारणसभा आहृवान गरेर टुंगो लगाउनुपर्ने भएको छ ।

सदस्य पदमा नेम्वाङ समूहका रविन्द्र चन्द ४६, अनिल मल्ल ४७, भोजराज शाही ४४, पुरुषोत्तम थापा ४३, महेन्द्र क्षेत्री ४४, विजय नारायण श्रेष्ठ ४४ मतसहित विजयी हुनुभयो । शेर्पा प्यानलका रमेश व्यञ्जनकार ४३, भरत बुढ थापा ४०, टीका लामा ४१, मणिराज विष्ट ४२, मनिष जोशी ४८ मत ल्याएर विजयी हुनुभयो । शेर्पा प्यानलका रूपेश अधिकारी, लोकेन्द्र गुरुङ र दीपक थापा क्षेत्री तथा नेम्वाङ समूहका दीपेन्द्र धिमालको समान ३९ मत ल्याउनुभयो ।

समग्रमा नेम्वाङले कार्यसमितिमा स्पष्ट बहुमत हासिल गर्नुभएको छ । २१ सदस्यीय कार्यसमितिमा नेम्वाङ प्यानलका १२ जनाले र शेर्पा प्यानलबाट एक उपाध्यक्षसहित सातजनाले चुनाव जित्नुभएको छ । अब कार्यसमितिको पहिलो बैठकले संघको महासचिव र कोषाध्यक्ष मनोनयन गर्नेछ । र एन्फाको नयाँ कार्यसमिति २३ सदस्यीय बन्नेछ । निर्वाचित भएसँगै प्रतिक्रिया दिँदै अध्यक्ष नेम्वाङले एन्फा र जिल्ला, एन्फा र खेलाडी तथा फिफा र एएफसी सम्बन्ध अझै सुमधुर बनाउँदै लैजाने प्रतिबद्धता जनाउनुभयो । उहाँले खेलाडी र प्रशिक्षकको विवाद पहिलो बैठकबाट निर्णय गर्ने थप्नुभयो ।

‘छानविन समितिको प्रतिवेदनको बृहत् रूपमा छलफल गर्छाैं । सबै पक्षसँग बसेर समस्याको समाधान गर्नेछौं,’ अध्यक्ष नेम्वाङले भन्नुभयो, ‘फिफाबाट प्रारम्भिक आर्थिक प्रतिबन्ध जस्तै अवस्था छ । सोही कारण साधरण सभामा अडिड रिपोर्ट पेश गर्न सकेनौं । यो दायित्व पूरा गर्नेछौं । आफ्नो कार्यकालमा साफ जित्ने लक्ष्य राखेका छौं । यसबाहेक ग्रासरुट, युथ, महिला, लिगलाई व्यवस्थित गर्ने र राष्ट्रिय लिग सुरु गर्नेछौं ।’

नेम्वाङ चार वर्षअघि शेर्पा अध्यक्षमा चुनिँदा उहाँकै प्यानलबाट सर्वाधिक मतसहित उपाध्यक्षमा विजयी हुनुभएको थियो । पछि कार्यसमितिले नेम्वाङलाई वरिष्ठ उपाध्यक्षको जिम्मेवारी दिएको थियो । लामो समय शेर्पा र नेम्वाङले सँगै सहकार्य गर्नुभएको थियो । तर, पछिल्लो कार्यसमितिमा सँगसँगै काम गर्नेक्रममा भने उहाँहरूबीच मतभेद हुँदै गएपछि सम्बन्ध चिसिन पुगेको थियो ।

यता पराजित अध्यक्ष पदका उम्मेदवार शेर्पाले आफू सधैं फुटबलमै जोडिरहने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले निर्वाचित नयाँ नेतृत्वलाई बधाई तथा शुभकामना दिनुभयो । ‘नयाँ टिमलाई सफलता मिलोस् मेरो शुभकामना छ । नेपाली फुटबल विगतभन्दा व्यवस्थित रूपमा अगाडि बढ्नुपर्छ,’ हिमालय शेर्पा क्लबका अध्यक्षसमेत रहनुभएका शेर्पाले भन्नुभयो, ‘अब क्लब बलियो बनाउने काम गर्छु । क्लबको एकेडेमी खोल्छु । ग्रासरुटका कार्यक्रम सञ्चालन गर्ने र नेपाली फुटबलबाट टाढा हुँदिन्न तर डर्टी पोलिटिक्सबाट टाढा हुन्छु ।’

एन्फाको नवनिर्वाचित कमिटी
अध्यक्ष- पंकजविक्रम नेम्वाङ
वरिष्ठ उपाध्यक्ष- वीरबहादुर खड्का
उपाध्यक्ष- दावा लामा, विराटजंग शाही, दीपक खतिवडा र दीर्घबहादुर केसी (कुमार)
महिला सदस्य- सरिला श्रेष्ठ र पेमाडोल्मा लामा
सदस्य- मनिष जोशी, अनिल मल्ल, रविन्द्र चन्द, विकासनारायण श्रेष्ठ, भोजराज शाही, महेन्द्र क्षेत्री, पुरुषोत्तम थापा, रमेश व्यन्जनकार, मनिराज विष्ट, टीकाराम लामा र भरत बुढ् थापा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?