सांसद ढाकाकुमार श्रेष्ठले दुर्गा प्रसाईलाई मध्यस्थता गरिदिन भन्दै गरेको अर्को अडिओ सार्वजनिक

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको भनिएको प्रकरणको दोस्रो अडिओ पनि सार्वजनिक भएको छ ।

सार्वजनिक भएको दोस्रो अडिओमा आफूलाई ढाकाकुमार श्रेष्ठको भाइ बताउने व्यक्ति र दुर्गा प्रसाईंबीचको फोन संवाद छ । उक्त अडिओमा ती व्यक्तिले ढाकाकुमारले भेट्न चाहेको भन्दै प्रसाईंसँग समय मागेका छन् ।

यस्तो छ संवादको अंश–

दुर्गा प्रसाईं-  तपाईं डा. ढाकाकुमार श्रेष्ठको भाइ ?

फोनमा बोल्ने व्यक्ति- हजुर ।

दुर्गा प्रसाईं- भन्नु त सर के कुरा हो ?

फोनमा बोल्ने व्यक्ति- दाइलाई पार्टीले कारबाही गर्ने भयो । साधारण सदस्य पनि नहरने, सांसद पद पनि जाने भयो क्यारे ।

दुर्गा प्रसाईं- मैले के गर्दा हुन्छ ?‘ ढाकाकुमारको के गल्ती छ र ? माग्ने मान्छेको पो गल्ती हो त ? कुरा बुझ्नुभएन, भाइ ?

फोनमा बोल्ने व्यक्ति-  त्यही त दाइलाई फसाए क्यार, त्यति सोझो मान्छेलाई । अब के गर्ने त, हजुरले बुझिदिनुपर्यो यो कुरालाई ।

दुर्गा प्रसाईं- अब मैले के गर्नुपर्यो त अब भन्नु न । म सहयोग गरिहाल्छु नि ।

फोनमा बोल्ने व्यक्ति- एकचोटि दाइले भेट्न खोज्नुभएको थियो, हजुरलाई । हजुर कता हुनुहुन्छ होला ?

दुर्गा प्रसाईं- म आज वीरगन्जको कार्यक्रममा छु । मलाई भरे बेलुका भेट्न भन्नु न त ल ।

फोनमा बोल्ने व्यक्ति- वीरगन्जको कहाँ हुनुहुन्छ ?

दुर्गा प्रसाईं- अहिले म कार्यक्रममा आइरहेको छु । बैंक, लघुवित्त र सहकारीले सिध्याइहाल्यो । रवि लामिछानेहरू अब लुट्न गएका छन् त्यहाँ। मलाई एउटा कुरा चित्त नबुझेको क्या, सांसद बनाउँदा पनि पैसा लिने, मन्त्री हुँदा पनि पैसा लिने । यो त भएन नि, पार्टी अध्यक्षहरूको ।

फोनमा बोल्ने व्यक्ति- यो त खै, अब दाइहरूको यो के हो बुझ्दिनँ क्यार । त्यही त, दाइले एकपटक कुरा गर् न त भन्नुभएको थियो क्यार ।

दुर्गा प्रसाईंका सहयोगी यदु गौतम र फोनमा सांसद ढाकाकुमार हुँ भन्नेबीचको संवाद-

यदु गौतम- यो कुरा फेरि यदुजीलाई भन्नुभएको छ भनेर भनेर पनि नभन्नुहोला के यार । किनभने तपाईं माननीय हो नि त यार । मैलै सम्मान गर्नुपर्‍यो नि । रविजीलाई मैले चितवनमा भेट्न खोजेको थिएँ । दुर्गा दाइ र रवीजी मिलेपछि यो देश आफ्नो बनाउन सकिन्छ भनेर भनेको थिएँ । तर, उहाँले खासै चासो लिनुभएन ।

सार्वजनिक भिडियोमा यदु गौतम भनिएका व्यक्तिले लाउड स्पिकर अफ गरेर कुराकानी गरिरहेको देखिन्छ । उताबाट ढाकाराम श्रेष्ठ भनिएका व्यक्ति बोल्न थालेपछि भिडियो कैद गरिरहेका व्यक्तिले मोबाइलको लाउड स्पिकर अन गर्छन् ।

ढाकाकुमार श्रेष्ठ भनिएका व्यक्ति- ‘दुर्गा प्रसाईंजीले त्यो अडियोको बारेमा केही बोलिदिनुभयो भने केही पोजिटिभ मेसेज जान्थ्यो अनि सजिलो हुन्थ्यो भन्ने कुरा मेरो हो । तपाईंले केही प्रयास गर्नुहुन्थ्यो भन्ने के सर । यो कुरा बढाएर‘के फाइदा उहाँलाई ।

यदु गौतम- अब फाइदा, घाटा भन्दा पनि अब । त्यो विषयमा भरे सल्लाह गरौँला सर । अहिले फोन राखेँ ।

आइतबार सार्वजनिक अडिओमा ढाकाकुमार श्रेष्ठ भनिएका व्यक्तिले आफू स्वास्थ्यमन्त्री बन्नका लागि पार्टीको कोर टिमलाई दुई करोड रुपैयाँ बुझाउनु पर्ने भन्दै प्रसाईंसँग पैसा मागेको कुराकानी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?