रूसी पत्रकारद्वारा युक्रेनी बालबालिकालाई सहयोग गर्न ‘नोबेल पुरस्कार’ बिक्री

Read Time = 2 mins

मस्को । रूसी पत्रकार दिमित्री मुरातोभले युक्रेनी बालबालिकालाई सहयोग गर्न नोबेल पुरस्कार बिक्री गर्नुभएको छ । स्वतन्त्र अखबार नोभाया गजेटाका रूसी प्रधान सम्पादक मुरातोभले युक्रेनको युद्धबाट विस्थापित बालबालिकालाई सहयोग गर्न आफूले प्राप्त गरेको नोबेल शान्ति पुरस्कारको स्वर्ण पदक १०३.५ मिलियन डलरमा लिलामीमा बिक्री गर्नुभएको हो ।

हेरिटेज अक्सनले न्यूयोर्कमा आयोजना गरेको बिक्रीमा उक्त पदक अज्ञात बोलपत्रदातालाई बेचिएको थियो । ती व्यक्तिले फोनमार्फत पदक किनेका थिए । मुरातोभले सन् २०२१ मा फिलिपिन्सकी पत्रकार मारिया रेसासँगै पुरस्कार जित्नुभएको थियो । नोबेल समितिले उहाँहरूलाई ‘अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्ने प्रयासका लागि’ सम्मान गरेको थियो ।

सोभियत संघको पतनपछि उहाँ सन् १९९३ मा नोभाया गजेटा स्थापना गर्ने पत्रकारहरूको समूहमा हुनुहुन्थ्यो । पत्रिकाले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र उहाँको कार्यनीतिको आलोचना गर्दै आएको छ । रूसले युक्रेनमा आक्रमण गरेको एक महिनाभन्दा बढी समयपछि मार्चमा पत्रिकाको सञ्चालनमा अवरोध आएको थियो ।

क्रेमलिनको रक्तपातपूर्ण सैन्य अभियानको आलोचना गर्ने कसैलाई पनि कडा जेल सजाय दिने कानुन ल्याएपछि सञ्चालनमा अवरोध आएको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?