मूल्यवृद्धि र मल अभावविरुद्धको आन्दोलनलाई राप्रपाले निरन्तरता दिने, यस्तो छ कार्यक्रम

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । राप्रपाले जनजीविकाको आन्दोलनलाई निरन्तरता दिने भएको छ । विभिन्न २२ बुँदे माग राखेर प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको केही दिनपछि सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेसँगै राप्रपाका भ्रातृ संगठन आन्दोलित बनेका छन् ।

पार्टीका उपाध्यक्ष एवं आन्दोलन परिचालन समितिका संयोजक बुद्धिमान तामाङको अध्यक्षतामा बसेको बैठकले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको पार्टी प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

राप्रपाले खेती लगाउने समयमा पनि किसानलाई रासायनिक मलको आपूर्ति हुन नसकेको र किसानका समस्यामा केन्द्रीत भई १३ असारमा ७७ वटै जिल्लाका कृषि ज्ञान केन्द्रमा धर्ना तथा कोणसभा गर्ने भएको छ । यसैगरी प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रका विषय सम्बोधन हुनुपर्ने माग राखेर १७ असारमा ७७ वटै जिल्लाका सदरमुकाममा राँके जुलुस गर्ने निर्णय गरेको छ ।

बैठकले १९ असारमा पार्टीसँग आबद्ध ट्रेड युनियनको नेतृत्वमा श्रमिकको उचित ज्याला निर्धारण र श्रमिकको जीवन बिमा लगायतका माग सहित श्रममन्त्रीलाई ज्ञापनपत्र पेश गर्ने निर्णय गरेको छ ।

२४ असारमा भ्रष्टाचार नियन्त्रण र भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै देशभरका जिल्लाका जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने र कोणसभा गर्ने निर्णय गरेको राप्रपाले २७ असारमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको नेतृत्वमा पठनपाठनको समय भइसक्दा पनि विद्यालयमा समयमा पाठ्यपुस्तक उपलब्ध गराउन नसकेको भन्दै जनक शिक्षा सामग्री केन्द्र र कक्षा १२ सम्मको शिक्षालाई निःशुल्क हुने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न उच्च माध्यमिक शिक्षा परिषदमा ज्ञापनपत्र र धर्ना दिने कार्यक्रम रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

यसैगरी ३१ असारमा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको नेतृत्वमा महिला हिंसाविरुद्ध राष्ट्रिय महिला आयोगमा धर्ना दिने भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?