पाटन र रत्नराज्य क्वाटरफाइनलमा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । पाटन क्याम्पस र रत्नराज्य क्याम्पस राष्ट्रव्यापी खेलकुदअन्तर्गत प्रथम उपत्यकाव्यापी पुरुष भलिबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । ताहाचल क्याम्पसमा भएको समूह ‘सी’ को लिगमा पाटनले अमृत साइन्स क्याम्पस (अस्कल) लाई २५–१७ र २५–२२ को सोझो सेटमा पराजित गर्‍यो । जितसँगै पाटन समूह विजेता बन्यो । यो समूहमा २ टिममात्र रहेकाले अस्कल पनि उपविजेताका हैसियतले क्वाटरफाइनलमा पुग्न सफल भयो ।

रत्नराज्य दोहोरो जित निकाल्दै समूह ‘बी’ को विजेता बन्दै क्वाटरफाइनल पुगेको हो । रत्नराज्यले जय बहुमुखी क्याम्पसलाई २५-८ र २७-२५ तथा सरस्वतीलाई २५-२२ र २५-१९ को सोझो सेटमा हरायो । मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रीय भलिबल विभागद्वारा आयोजित प्रतियोगितामा त्रिचन्द्र पनि दुई जित आत्मासात् गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्न सफल रहृयो । त्रिचन्द्रले महेन्द्र रत्नलाई २५-१८ र २५-२० तथा भक्तपुरलाई २५-२२ र २५-२२ को सिधा सेटमा पाखा लगायो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहकार्यमा भइरहेको प्रतियोगितामा वानेश्वर क्याम्पसले मिश्रित नतिजा निकाल्यो । शंकरदेव क्याम्पसलाई २७-२५, २२-२५ र २५-१८ ले पराजित गरेको वानेश्वर नेपाल कमर्ससँग २५-१५ र २५-१६ ले चुक्यो ।

प्रतियोगिताको राखेपका सदस्य-सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो । उक्त अवसरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यलगायतको उपस्थिति थियो । ७१औँ मदन जयन्तीका अवसरमा आयोजित प्रतियोगितामा ११ टिम सहभागी छन् । राष्ट्रव्यापी खेलकुदअन्तर्गत भलिबलबाहेक क्रिकेटको ट्यालेन्ट हन्टसहित प्रतियोगिता, रेस्लिङ, बुद्धिचाल, बास्केटबल, फुल कन्ट्याक्ट कराँते र तेक्वान्दोको प्रतिस्पर्धा हुनेछ । प्रशिक्षण तथा तालिम पनि हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?