व्यवस्थित शहरीकरण आयोजना बनाउन विदेशी लगानीकर्ता ल्याउने वातावरण बनाउनुपर्छ : अध्यक्ष लोहनी

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडाैं । नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले लगानी सम्मेलनमा व्यवस्थित शहरीकरण आयोजनामा विदेशी लगानी आउने गरी योजना बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

अध्यक्ष लोहनीले सरकारले व्यवस्थित शहर बनाउन विदशी लगानी आउने वातावरण ऐनमार्फत नै बनाउन जरुरी रहेको धारणा महासंघको धारणा रहेको बताउनु भयो । अध्यक्ष लोहनीले मुलुकभित्र व्यवस्थित शहरीकरण योजनामा स्वदेशी लगानी कम हुने भएकोले विदेशी लगानी आवश्यक रहेको बताउनु भयो ।

आगामी लगानी सम्मेलनमा व्यवस्थित शहरीकरणका आयोजनाहरु प्रश्तुत गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले व्यवस्थित शहर बनाउने विदेशी लगानीमैत्री वातावरण नभएको भन्दै लगानीमैत्री वातावरण बनाउने गरी सरकारले तयारी गर्नुपर्ने सुझाव दिनुभयो । विदेशी र स्वदेशी लगानीकर्ताले ठूला शहरीकरण आयोजनाहरुमा लगानी गर्ने वातावरण बनाउन नीतिगत व्यवस्थाको खाँचो रहेको बताउनु भयो ।

उहाँले नेपालमा हदबन्दीको समस्या जटिल रहेको भन्दै व्यवस्थित शहरीकरणको लागि हदबन्दी छुट दिने व्यवस्था तत्काल गर्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष लोहनीले विदेशीहरुलाई नेपालमा अपार्टमेण्ट खरिद गर्ने व्यवस्थाबारे नेपाल सरकारको प्रतिवद्धता छिटो पूरा गर्न आग्रह गर्नुभयो । ठूला-ठूला ल्याण्ड पुलिङका आयोजनाहरु निजी क्षेत्र र विदेशी लगानीकर्ताहरुलाई सहभागिता जनाउने वातावरण बनाउन आवश्यक रहेको धारणा राख्नुभयो ।

उहाँले टुक्रे आयोजनाहरुले मात्रै व्यवस्थित शहरीकरण हुन नसक्ने भन्दै ठूला शहरहरु बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले यस्ता आयोजनाहरु लगानी सम्मेलनमा प्रश्तुत गर्दा मात्रै विदेशी लगानीकर्ता आकर्षित हुनसक्ने दाबी गर्नुभयो । उहाँले नेपालको भूमि सम्बन्धि ऐन परिमार्जन गरी विदेशी लगानीमा बन्ने आयोजनाहरुमा जग्गाको समस्या नआउने परिस्थिति बनाउन जरुरी रहेको बताउनु भयो ।

अध्यक्ष लोहनीले लगानी सम्मेलनका लागि दिएका सुझावः

१. लगानी सम्मेलन गर्नु मात्रै ठूलो कुरा होइन । मुलुकभित्र विदेशी लगानी गर्ने वातावरण सिर्जना गर्ने,नेपाली लगानीकर्ता र घरजग्गा डेभलपरहरुलाई पनि कसरी विकास गर्ने र ठूला आयोजना,व्यवस्थित शहर कसरी बनाउन सकिन्छ भन्ने विषयमा सरकारले नीतिहरु बनाउन जरुरी छ ।

२.नेपालमा हदबन्दीको समस्या जटिल छ । तराईमा ११ बिगाह,पहाडमा ७५ रोपनी र काठमाडौं उपत्यकामा ३० रोपनीसम्मको व्यवस्थाले ठूला शहरहरु बन्ने अवस्था छैन । व्यवस्थित शहरीकरणको लागि हदबन्दी छुट दिने व्यवस्था गर्नुपर्छ ।

३.विदेशीहरुलाई अपार्टमेण्ट खरिद गर्ने व्यवस्था गर्ने पटक-पटक नेपाल सरकारले घोषणा गरेको छ । त्यसलाई पनि कार्यान्वयनको लागि ऐनको रुपमा आउन सकेको छैन । यो ऐन बनाउने प्रतिवद्धता गर्न आवश्यक छ ।

४.ल्याण्ड पुलिङको क्षेत्रमा ठूला-ठूला ल्याण्ड पुलिङका आयोजनाहरु निजी क्षेत्र र विदेशी लगानीकर्ताहरुलाई गर्न नदिने हो भने साना टुक्रे आयोजनाहरुमा विदेशी लगानीको लागि आकर्षित हुँदैनन् । टुक्रे आयोजनाहरुले मात्रै व्यवस्थित शहरीकरण हुन सक्दैन । ठूला शहरहरु बनाउन आवश्यक छ । सरकारले आयोजनाहरु मात्रै घोषणा गर्ने तर कार्यान्वयन नगर्ने अवस्था रहँदै आएको छ । ती आयोजनाहरुमा लगानी गर्ने वातावरण नबनेको कारणले गर्दा विदेशी र स्वदशी लगानीकर्ताहरु ठूला आयोजना बनाउन नसक्ने परिस्थिति छ । यसमा पनि नीतिगत र कानूनी व्यवस्था गर्न आवश्यक छ ।

५.भूमि सम्बन्धि ऐनहरुमा विभिन्न आयोजनाहरुमा गुठी जग्गा, मोही बाँडफाँडको समस्या,दर्ता छुटका समस्याहरु छन् । ठूला आयोजना सञ्चालन गर्नको लागि सहज रुपमा दर्ताको व्यवस्था गर्न आवश्यक छ । विदेशी लगानीमा बनाउने आयोजनाहरुमा जग्गा सम्बन्धि मुद्दा नपर्ने परिस्थिति सरकारले बनाउनुपर्छ । -न्युज एजेन्सी नेपाल

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?