एनओसी अवार्ड : प्रिन्स र गौरिका सर्वोत्कृष्ट खेलाडी

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल ओलम्पिक कमिटीले पहिलोपल्ट प्रदान गरेको एनओसी अवार्ड २०२२ अन्तर्गत उत्कृष्ट पुरुष खेलाडी ब्याडमिन्टनका प्रिन्स दाहाल र उत्कृष्ट महिला खेलाडी पौडी गौरिका सिंह हुनुभएको छ । ‘ओलम्पिक डे’ को अवसर पारेर उक्त अवार्ड प्रदान गरिएको हो । पछिल्लो तीन वर्षमा नेपाली खेलकुदमा पुर्‍याएको योगदानका लागि उनीहरूलाई अवार्ड प्रदान गरिएको थियो । गौरिका हाल बेलायतमा रहेकाले कार्यक्रममा उपस्थित हुनुभएन ।

कोरोना महामारी प्रभावित दुई वर्षसमेत जोडेर यो अवार्ड प्रदान गरिएको हो । अबदेखि प्रत्येक वर्ष नियमित कार्यक्रम आयोजना गरिनेछ । कार्यक्रममा उत्कृष्ट पुरुष प्रशिक्षक गल्फका दीपक मगर र उत्कृष्ट महिला प्रशिक्षक तेक्वान्दोकी संगीना वैद्यलाई अवार्ड प्रदान गरियो । राष्ट्रिय संघतर्फ नेपाल तेक्वान्दो संघ उत्कृष्ट घोषित भयो । कार्यक्रममा चार विधामा पत्रकारलाई पनि अवार्ड प्रदान गरिएको थियो ।

उत्कृष्ट पत्रकार छापातर्फ कान्तिपुर दैनिकका राजु घिसिङ, मल्टीमिडियातर्फ बीबीसी न्यूजका निरञ्जन राजवंशी, फोटोतर्फ राजेन्द्र चित्रकार र भिजुअलतर्फ कान्तिपुर टेलिभिजनकी सविना कार्कीले अवार्ड पाउनुभएको छ । सबैका उत्कृष्टले जनही ५० हजार रुपैयाँ पाए ।
सोही अवसरमा मरणोपरान्त शरदचन्द्र शाह र रुक्मशमशेर राणालाई ‘एनओसी प्रेसिडेन्टसियल रिकग्नाइजेसन अवार्ड’ प्रदान गरियो ।

दुवै एनओसीको अध्यक्ष भइसकेका व्यक्तित्व हुनुहुन्छ । यही सम्मान पुरुषोत्तम पौडेल, ध्रुवबहादुर प्रधान, विष्णुगोपाल श्रेष्ठ, श्याम चित्रकार, लोकभक्त राणा, जितबहादुर केसी, वैकुण्ठ मानन्धर, सुधासेन मल्ल र सावित्रा भण्डारीलाई पनि प्रदान गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?