क्रिप्टोकरेन्सीको अध्ययन गर्न एक्यानलाई आग्रह

Read Time = 2 mins

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पछिल्लो समय डिजिटल कारोबार बढ्दै जाँदा अर्थतन्त्रमा समस्या देखिएको भन्दै डिजिटल कारोबारको पनि अध्ययन गर्न लेखापरीक्षकहरूलाई आग्रह गर्नुभएको छ । शुक्रबार नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) को ३७औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उहाँले नेपालमा डिजिटल कारोबार क्रिप्टोकरेन्सीलगायत अन्य धेरै कारोबार भइरहेको भन्दै डिजिटलरूपमा कारोबार हुने सबै कारोबारको अध्ययन आवश्यक रहेको बताउनुभयो । मन्त्री शर्माले लेखापरीक्षणमै समस्या रहेकाले सरकारको ठूलो रकममा बेरुजु बढ्दै गएको दाबीसमेत गर्नुभयो । विभिन्न निकायले लेखापरीक्षण समयमै नगर्दा राज्यले बेरुजुको भार बोक्नुपरेको उहाँको भनाइ थियो ।

अर्थमन्त्री शर्माले आर्थिक सुशासन, जवाफदेहिता र पारदर्शितालाई स्वार्थ अनुकूल व्याख्या, परिभाषा गर्ने प्रवृति हाबी हुँदै गएको भन्दै एकाउन्टेन्ट्स सरकारको राजस्व तथा करसँग समेत जोडिएकाले पारदर्शितासाथ काम गर्न आग्रह गर्नुभयो ।

महालेखापरीक्षक टंकमणि शर्माले अनलाइन लेखापरीक्षणमा समस्या रहेको बताउनुभयो । सरकारका सबै अडिटहरू अनलाइन प्रणालीबाटै हुने गरेकाले कर्मचारीमा नयाँ प्रविधिको ज्ञान अभावका कारण समस्या आएको उहाँको भनाइ थियो । नयाँ प्रविधिको ज्ञानसीप सबै लेखापरीक्षकले लिएर क्षमता अभिवृद्धि गर्न आवश्वयक रहेको पनि उहाँले बताउनुभयो । एक्यानलाई लेखापरीक्षणको सीप र ज्ञानको विषय तल्लो तहसम्म प्रचारप्रचार गर्न आग्रहसमेत उहाँले गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?