डम्मर बुढा मगर/हिटा
बागलुङ । दुई वर्ष अगाडि भुजीखोलामा आएको बाढीले ढोरपाटन नगरपालिका–९ बोबाङका हुमबहादुर विकको श्रीमती, बहिनी र भएको जायजेथा सबै बगायो । दुई छोरालाई छिमेकीले बचाए । उहाँ विदेशमा हुनुहुन्थ्यो । बाढीले ठूलो क्षति पु¥याएको खबर पाएपछि उहाँ गाउँ फर्किनुभयो । उहाँ आउँदा न श्रीमती थिइन्, न बहिनी, न श्रीसम्पत्ति नै थियो । उहाँसँग मन सम्हाल्नुबाहेक अरू केही विकल्प थिएन ।
बाढीले विकको पसल, घर, पशुचौपायासहित भएको जग्गा जमिन सबै बगाएको थियो । घर बनाउन विभिन्न संघ संस्थाले सहयोग गरेको जस्तापाता पनि यत्तिकै रहेको थियो । परिवारबाट पहिले नै छुट्टिएर बस्नुभएका विकको भए भरको जग्गा जमिन नभएपछि उहाँ घर कहाँ बनाउने चिन्तामा हुनुहुन्थ्यो । तर, बुबाआमा र भाइले केही जग्गा दिएपछि अहिले उहाँले ऋण धन गरेर घर बनाउनुभएको छ ।
सरकारले बाढी पीडितलाई चार लाख रुपैयाँ दिने घोषणा गरेपछि विकले ऋण खोजेर घर बनाउनुभयो । तर, सरकारले अहिलेसम्म राहत नदिएपछि उहाँ झन् तनावमा पर्नुभएको छ । विक जस्ता धेरै बाढी पीडितको हालत पनि उस्तै छ । सरकारले राहत दिने आशाले घर बनाउँदा अहिले ऋणले झन् समस्या थपिएको हुमबहादुर बताउनुहुन्छ । अहिलेसम्म विभिन्न संस्थाले संकलन गरेको दुई लाख र नगरपालिकाले दिएको ५० हजारबाहेक अन्य रकम पाउन नसकेको उहाँको भनाइ छ ।
‘विभिन्न संघ संस्था र नगरपालिकाले दिएको रकमबाहेक अन्य कुनै पनि निकायले अहिलेसम्म राहत दिएको छैन, सरकारले चार लाख रुपैयाँ दिने भनेर आश्वासन दियो अहिलेसम्म दिएको छैन,’ हुमबहादुर भन्नुहुन्छ- ‘राहत पाइएला भनेर ऋण खोजेर घर बनाइयो, अहिलेसम्म राहत पाइएन, साहुले छिटो पैसा दिने भए दे, नत्र घरको टिन भए पनि उठाएर लग्छु भनेको छ, निकै समस्या भयो, कहिले आउने हो थाहा छैन ।’
बाढीमा पसलसहित घर जग्गा गुमाउनुभएका भीमबहादुर सुनारले जनप्रतिनिधिले राहत उपलब्धका लागि पहल गरिरहेको भने पनि अहिलेसम्म सरकारी निकायबाट राहत पाउन नसकेको गुनासो गर्नुभयो । उहाँले बाढीले क्षति पुर्याएको दुई वर्ष बितिसक्न लाग्दा पनि सरकारले आफूहरूलाई राहत दिन नसक्दा धेरै पीडामा परेको बताउनुभयो ।
‘बाढीले घर, सम्पत्ति सबै लग्यो, कतिको त परिवारनै बगायो, त्यसको पीडा त छँदैछ, तर सरकारले राहत दिने वचन दिएपछि ऋण खोजेर धेरैले घर बनायौँ, अहिलेसम्म राहात नआएपछि ऋणले सबैको टाउको दुखाएको छ, सबैलाई झ्न पीडा दिएको छ, साहुले दिनदिनै पैसा मागेर सताउने गरेका छन् ।’
सुनारले सरकारले राहत दिने आश्वासन नदिएको भए ऋणमा नपर्ने बताउनुहुन्छ । ‘सरकारले राहत दिने भन्यो, हामी त होला देला भन्ने आशा गर्यौँ र ऋण खोजेर जसोतसो घर बनायौँ, तर अहिलेसम्म आएन,’ उहाँले भन्नुभयो, ‘अब के गर्ने, कसरी ऋण तिर्ने ?, हामी त निकै समस्यामा पर्यौँ, कसैले सुनेन हाम्रो पीर व्यथा ।’
बाढीमा बुहारी र छोरी गुमाउनुभएकी खिमी विकले राहत नपाएको गुनासो गर्दै घर बनाउन पैसा आउँछ भनेको धेरै समय भएको तर अहिलेसम्म नपाएको बताउनुभयो । ‘आज आउँछ भोलि आउँछ भन्छन्, यस्तो भन्न लागेको वर्ष दिन भयो तर अहिलेसम्म आएन, कहिले आइपुग्दो रैछ ?, कहाँ आएर रोकिएछ कुन्नी, छिटो आए हुन्थ्यो, यहाँ घर बनाएका कर्मीले आज पैसा देऊ, भोलि पैसा देऊ नत्र झ्याल ढोका निकालेर लग्छौँ भन्छन्’ विकले भन्नुभयो ।
बाढी पीडितलाई विभिन्न संघ संस्थाहरूले संकलन गरेको दुई/दुई लाख र ढोरपाटन नगरपालिकाको ५०/५० हजार गरी दुई लाख ५० हजार राहत प्राप्त भए पनि सरकारले दिने भनेको चार लाख रुपैयाँ पाउन सकेका छैनन् ।
सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेलले स्थानीय तहले समयमा आवश्यक कागज पत्र प्रक्रियाअनुसार नपठाउँदा अहिलेसम्म राहत वितरण हुन नसकेको बताउनुभयो । प्रक्रिया पूरा गरी आएका कागजपत्रको छानबिन गरी राहत वितरणका लागि काम गरिरहेको उहाँको भनाइ छ ।
बाढीमा परी ३७ जनाले ज्यान गुमाएका थिए । १५ जना अझै बेपत्ता छन् । बाढीले १३१ घरमा क्षति पु¥याएको थियो भने ११ वटा जलविद्युत् आयोजनाको गृह तथा नहर, एक स्वास्थ्य इकाई, ११ झोलुंगे पुल, ढलान पुल पाँचवटा काठेपुल १० र दुई विद्यालयसमेत बगाएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच