सर्वोच्च अदालतको आदेशपछि अमेरिकामा गर्भपतन गर्ने क्लिनिकहरू बन्द हुँदै, पक्ष र विपक्षमा प्रदर्शन

हिमालय टाइम्स
Read Time = 6 mins

न्यूयोर्क । अमेरिकाको सर्वोच्च अदालतले महिलाले गर्भपतन गर्न पाउने सम्बन्धी संवैधानिक अधिकार समाप्त हुने फैसला गरेलगत्तै कतिपय राज्यमा गर्भपतन गराउने क्लिनिकहरू बन्द हुन थालेका छन् ।

'रो भर्जस वेड' भनिने गर्भपतनलाई कानुनी मान्यता दिने ५० वर्ष पुरानो आदेश अदालतले उल्टाएपछि अमेरिकाका आधाजसो राज्यले गर्भपतनमा नयाँ प्रतिबन्ध वा कडाइ गर्ने अपेक्षा गरिएको छ । तीमध्येका १३ राज्यले 'ट्रिगर ल' भनिने कानुन बनाएर गर्भपतनलाई प्रतिबन्धित गर्ने व्यवस्था मिलाइसकेका छन् । शुक्रवारको आदेशसँगै ती राज्यमा अब गर्भपतन स्वतः गैरकानुनी ठहरिनेछ।

राष्ट्रपति जो बाइडनले अदालतको आदेश एउटा दुःखद गल्ती भएको टिप्पणी गरेका छन् । राष्ट्रपति वाइडेनले अमेरिकाको सर्वोच्च अदालतद्वारा गर्भपतनसम्बन्धी अधिकार समाप्त हुनेगरी फैसला गरेकाे आराेप लगाएका छन ।

आदेशपछि क्लिनिकहरूको अवस्था

गर्भपतनमा तत्काल प्रतिबन्ध लगाउने कानुन बनाइसकेको आर्कन्सा राज्यको लिटल रकस्थित एउटा गर्भपतन क्लिनिकले अदालतको आदेश अनलाइनमा प्रकाशित भएलगत्तै गर्भपतन सेवा बन्द गरेको छ । त्यहाँ बाहिरैबाट मानिसहरू सुँक्कसुँक्क गरेको सुन्न सकिन्थ्यो ।

कर्मचारीहरूले डाक्टरसँग भेट्ने समय लिइसकेका महिलालाई टेलिफोन गरेर उनीहरूको भेट रद्द गरिएको जानकारी दिइरहेका थिए । 'यस्तो खराब समाचार सुन्न हामीले जतिसुकै कठिन तयारी गरे पनि समाचार आउँदा गाह्रो हुन्छ',  सेवाग्राही महिलाहरूलाई टेलिफोन गरेर 'रो भर्सस वेड' खारेज भयो भन्नु हृदयविदारक हुन्छ, नर्स एश्ली हन्टले भनिन् ।

प्रदर्शनकारीहरूको माझबाट क्लिनिकमा आउने बिरामीहरूलाई सुरक्षा प्रदान गर्न आर्कन्साको गर्मीमा दिनभरि खटिएका सुरक्षाकर्मीहरूले सामूहिक अङ्कमाल गरे ।

'मैले यो देशले अझै पनि मानिसहरूको ख्याल राख्छ भन्ने सोचेकी थिएँ, महिलाहरूको ख्याल राख्छ भन्ने सोचेकी थिएँ', सुरक्षा दिने समूहकी प्रमुख मिस करिनले भनिन् ।

अदालतको आदेश तत्काल कार्यान्वयन हुने लुईजियाना राज्यस्थित तीनवटा गर्भपतन केन्द्रमध्येको एक न्यू ओर्लन्सस्थित विमिन्स हेल्थ केअर सेन्टरका कर्मचारीहरू फैसलालगत्तै घर फर्किन थालेका थिए । क्लिनिकको बाहिर स्वयंसेवी सुरक्षाकर्मीको काम गरिरहेकी लिन्डा कोचरले धनी महिलाहरूले अन्य राज्यमा गएर अझै पनि गर्भपतनको सेवा लिन पाउने भए पनि गरिवहरू मर्कामा पर्ने बताइन् ।

गर्भपतनविरोधी अभियानकर्मी पादरी बिल साङ्क्सले फैसलापछि यो उत्सवको दिन भएको बताए । सर्वोच्च अदालतको फैसलाले अमेरिकामा प्रजनन गर्न सक्ने उमेरका तीन करोड ६० लाख महिलाई आफ्नो राज्यमा गर्भपतनको पहुँचबाट रोक्ने एक अध्ययनले देखाएको छ ।

अदालतको फैसलालगत्तै वाशिङ्टनस्थित अदालतबाहिर गर्भपतनको विरोध गर्दै प्रदर्शन गर्न ठूलो सङ्ख्यामा मानिसहरू भेला भएका थिए । गर्भपतन अधिकारका पक्षधरहरूले पनि ५० वटै राज्यमा प्रदर्शनको तयारी गरिरहेका छन् ।

क्लिनिकबाहिर गर्भपतनविरोधी प्रदर्शनकारीहरूले हर्षोल्लास गरिरहेका थिए ।

के हो रो भर्सस वेड  ?
सन् १९७३ मा गरिएको रो भर्सस वेड फैसलाले आफू सक्षम नभएसम्म गर्भपतन गर्ने महिलाको अधिकार रक्षा गरेको थियो । उक्त आदेशानुसार महिलाहरूले गर्भावस्थाको पहिलो त्रैमासिक वा २८ हप्ता अघिसम्म गर्भपतन गर्न पाउँथे । तर दोस्रो त्रैमासिकमा गर्भपतन निषेध गरेको थियाे ।

अमेरिकाका दक्षिणपन्थी तथा धार्मिक अभियानकर्मीहरूले गर्भपतनसम्बन्धी अधिकारको विरोध गर्दै आएका थिए । परम्परावादी न्यायाधीशहरूको बहुमत रहेको सर्वोच्च अदालतमा उक्त निर्णयको पक्षमा छ र विपक्षमा छ न्यायाधीश उभिएका थिए ।

अमेरिकी संविधानले गर्भपतनसम्बन्धी अधिकार स्पष्ट उल्लेख गरेको छैन र सर्वोच्च अदालतको यो फैसलाले गर्भपतनको अधिकार सुनिश्चित गर्ने विगतको फैसला अवैध भएको ठहर गरेको छ ।

  • बिबिसि नेपालीबाट

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?