‘घरेलु तथा साना उद्योग बागमतीको प्राथमिकतामा’

Read Time = 3 mins

काठमाडौं । बागमती प्रदेश सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठले मुलुकको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने र रोजगारी सिर्जना गर्ने लघु, घरेलु तथा साना उद्योग बागमती सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घद्वारा काठमाडौँमा आयोजित अन्तरक्रियामा उहाँले अर्थतन्त्र माथि उठाउने र आयात प्रतिस्थापन गर्दै स्थानीय उत्पादनबाटै आत्मनिर्भर बनाउन सघाउने यस्ता उद्योगका लागि बागमती सरकार सदैव साथमा रहेको बताउनुभयो ।

चप्पलदेखि टोपीसम्म, लत्ता कपडादेखि दैनिक उपभोग्य वस्तुसम्म लघु घरेलु तथा साना उद्योगका माध्यमबाट आत्मनिर्भर हुन सक्ने सम्भावना प्रशस्तै रहेको भन्दै मन्त्री श्रेष्ठले रोजगारी र आत्मनिर्भरका हिसाबले यो क्षेत्रका लागि आफूले मन्त्रालय सम्हाल्दासम्म दत्तचित्त भएर सहयोग गर्ने बताउनुभयो । ललितपुरको लुभु र ठैबमा टेक्सटाइल, भक्तपुरमा काष्ठकला, पाटनमा ललितकला र धातुकलालगायतले अर्बौं रुपैयाँको आयआर्जनमा भूमिका खेलेको भन्दै उहाँले घरेलु तथा साना उद्योगका उत्पादन प्रवद्र्घन गर्न प्रदेशको राजधानी हेटौँडामा चारदेखि पाँच करोडको लागतमा गत वर्षदेखि अत्याधुनिक बिक्री कक्ष निर्माण भइरहेको जानकारी गराउनुभयो ।

महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले नेपालका सन्दर्भमा लघु, घरेलु तथा साना उद्योग आर्थिक समृद्घिको संवाहकका रूपमा रहे पनि प्रमुख समस्या बजार पहुँचको रहेको बताउनुभयो । महासङ्घको पालिकादेखि केन्द्रीय सरकारसम्म नेटवर्क रहेको भन्दै हाल दुई–चारजनाको संस्था खडा गरेर प्रदेशका कार्यक्रमको दुरूपयोग भएकोतर्फ पनि उहाँले ध्यानाकर्षण गराउनुभयो । महासङ्घका निवर्तमान अध्यक्ष श्यामप्रसाद गिरीले समानुपातिक विकास र उत्पादनको समानुपातिक वितरणका लागि प्रदेश सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो ।

सो अवसरमा महासङ्घका वरिष्ठ उपाध्यक्ष सूर्य कँडेल, उपाध्यक्षहरू मोहन कटुवाल र शोभा गुरुङ, महासचिव डम्बरप्रसाद रेग्मी, कोषाध्यक्ष अच्युत पाण्डे, महासङ्घ महिला उद्यमी समितिकी वरिष्ठ उपाध्यक्ष रीता अग्रवाललगायतले पनि बोल्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?