नेकपा एसको प्रथम केन्द्रीय परिषद् बैठक : पार्टीभित्र उत्पन्न विवाद र आन्तरिक गुटबन्दी निराकारण हुने अपेक्षा

अनिल क्षेत्री
Read Time = 13 mins

काठमाडौं । मन्त्री हेरफेरको निर्णयका कारण तीव्र विवाद र आन्तरिक गुटबन्दी भइरहेकै बेला सत्तारूढ दलको एक घटक नेकपा एकीकृत समाजवादीको पहिलो केन्द्रीय परिषद् बैठक काठमाडौंमा बसिरहेको छ । मन्त्री हेरफेरको विषयले गठन भएको छोटो समयमै विभाजनको संघारमा पुगेर बल्लबल्ल जोगिएको नेकपा एकीकृत समाजवादीको यो बैठकलाई आन्तरिक एकता र भावी कार्यदिशाको लागि महत्वपूर्ण मानिएको छ ।

पार्टीभित्रको चरम विवादकै कारण समाजवादीले आफ्ना मन्त्रीहरू हेरफेर गर्न गरेको निर्णय र सिफारिस प्रधानमन्त्री देउवालाई कार्यान्वयन गर्न तीन साता लाग्यो । २०७९ जेठ २२ गते बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले मन्त्रीहरू हेरफेर गर्ने निर्णय गरेको थियो भने असार १ गते स्थायी कमिटीले उक्त निर्णय अनुमोदन गरेको थियो ।

मन्त्रीहरू रामकुमारी झाँक्री, विरोध खतिवडा, प्रेम आले र कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाएको नेकपा समाजवादीले स्वाथ्य तथा जनसंख्या राज्यमन्त्री भवानी खापुङलाई बढुवा गर्न सिफारिस गरेको थियो । तर, पार्टीले गरेको निर्णयप्रति फिर्ता बोलाइएको मन्त्रीहरूले असन्तुष्टि मात्र व्यक्त गरेनन् पार्टीले निर्णय गरिसकेपछि राजीनामा दिएर मार्गप्रशस्त गर्नुको साटो मन्त्री पद जोगाउन कहिले बालुवाटार त कहिले खुमलटारतर्फ दौडधुप गरे ।

सरकारबाट फिर्ता बोलाएकोप्रति असन्तुष्टि जनाउँदै चार मन्त्री र ६ सांसद गरी १० जनाले संसदीय दलको बैठक बोलाउन हस्ताक्षर संकलन गरेर आठ बुँदे ध्यानाकर्षण पत्र पार्टीमा बुझाए । असार १० गते पार्टीको केन्द्रीय कमिटी बैठक बस्दै गर्दा १० सांसदले संसदीय दलको नेतासमेत रहेका अध्यक्ष नेपाललाई दलको बैठक बोलाउन माग गर्दै पत्र नै बुझाएपछि समाजवादी भित्रको विवाद उत्कर्षमा पुग्यो । जसले गर्दा गठबन्धन र समाजवादी पार्टी नै विभाजननजिक पुगेको आशंका गर्न थालियो । मन्त्री हेरफेरको निर्णयबारे पक्ष विपक्षमा बहस चलिरहेका बेला असार ११ गते बसेको केन्द्रीय समिति बैठकमा पार्टीले गरेको निर्णय फिर्ता गर्नुहुँदैन भन्नेमा पक्षमा बहुमत सदस्यहरू उभिएपछि असन्तुष्ट मन्त्रीहरू पछि हट्न बाध्य भए र पार्टी निर्णय तीन सातापछि मात्र कार्यान्वयन भयो ।

मन्त्री हेरफेरको विषयलाई लिएर जेजति घटनाहरू र अन्तिममा जे निर्णय भयो त्यसले तत्कालको संकट टरे पनि तुष पछिसम्म नै बाँकी रहने देखिएको छ । पार्टीभित्र अवसरवादी प्रवृत्ति झाँगिन सुरु भएकाले तत्कालका लागि मन्त्रीको लफडा मात्रै मिलेको तर, पार्टीभित्रको आन्तरिक असन्तुष्टिका स्वरहरू मत्थर हुन सहज नभएको स्वयं पार्टीकै नेताहरू बताउने गरेका छन् । विवाद र गुटबन्दीको भुमरीमा फसिरहेको बेला सुरु भएको केन्द्रीय परिषद् बैठकमा पार्टीको देशभर भएका सांगठनिक गतिविधि, स्थानीय तह चुनावको समीक्षा, आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि चुनाव लक्षित कार्यक्रम र हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत भएका केही प्रतिवेदनमा छलफल भइरहेको छ । नेकपा एमालेबाट छुट्टिनुको औचित्यबारे चौतर्फी प्रश्न उठिरहेको बेला जारी केन्द्रीय परिषद् बैठकले पार्टीको आगामी कार्यदिशा पनि तय गर्ने बताइएको छ ।
निर्वाचनको तयारीमा लाग्न निर्देशन
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी नेता तथा कार्यकर्ताहरूलाई सम्पूर्ण ध्यान प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा लगाउन निर्देशन दिनुभएको छ । पार्टीको केन्द्रीय परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दैै अध्यक्ष नेपालले अरूको भर नपरी सम्पूर्ण शक्तिका साथ निर्वाचनको तयारीमा जुट्न र वडा तहसम्म पार्टी विस्तार गर्नका लागि लाग्न निर्देशन दिँदै भन्नुभयो, ‘पार्टीको सम्पूर्ण ध्यान प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा केन्द्रित गर्नुपर्ने भएको छ । अधिकतम सफलता हासिल गर्नका लागि लाग्नुपर्छ । अरूमाथि भरोसा गर्ने नभई आफ्नै शक्तिमा जानुपर्ने भएको छ ।’

अध्यक्ष नेपालले प्रतिनिधिसभाका १६५ वटै निर्वाचन क्षेत्रमा अहिलेदेखि नै सम्भावित उम्मेदवार खडा गरेर काम थाल्न र सातवटै प्रदेशसभाका निर्वाचन क्षेत्रमा पनि उम्मेदवार तयार पार्नसमेत निर्देशन दिनुभयो । स्थानीय तह निर्वाचनबाट ६० प्रतिशत वडामा पार्टी संगठन पुगेको दाबी गर्दै अध्यक्ष नेपालले अबको निर्वाचनसम्म सबै स्थानीय तह र पालिकामा संगठन विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

सिट सुनिश्चित भइसक्यो, २० लाख मत ल्याउँछौँ
केन्द्रीय परिषद् बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले २० लाख मत प्राप्त गर्नुपर्ने बताउनुभयो । स्थानीय तह निर्वाचनमा पार्टीले २८ प्रतिशत ठाउँमा उम्मेदवार खडा गरेको र नौ लाख मत प्राप्त गरेको उल्लेख गर्दै अध्यक्ष नेपालले भन्नुभयो, ‘हामीले यसपटक झण्डै २८ प्रतिशत मात्रै ठाउँमा उम्मेदवार खडा गरेका थियौँ । २८ प्रतिशत उम्मेदवारबाट झण्डै नौ लाख मत हामीले प्राप्त गरेका थियौँ । २८ प्रतिशत उम्मेदवार खडा गर्दाखेरि हामीले नौ लाख मत प्राप्त गर्‍यौँ भने हामीले सबै ठाउँमा उम्मेदवार खडा गरेको भए योभन्दा दोब्बर, तेब्बर मत प्राप्त गर्न सक्ने थियौँ । कम्तीमा पनि २० लाखको सेरोफेरोमा हामीले मत प्राप्त गर्नसक्ने थियौँ ।’ स्थानीय तहको निर्वाचनले प्रतिनिधिसभा र प्रदेशसभामा केही सिटहरू सुनिश्चित भएको अध्यक्ष नेपालको दाबी छ ।

अध्यक्ष नेपालले सैन्य सम्झौतासम्बन्धी प्रस्ताव रोकेर सत्तारूढ पाँच दलीय गठबन्धनले मुलुकलाई दुर्घटनाबाट जोगाएको जिकिर गर्नुभयो । एमाले अध्यक्ष केपी ओलीमा राष्ट्रको भन्दा पनि व्यक्तिवादी प्रवृत्ति हाबी भएकाले मुलुक पटक–पटक समस्यामा परेको तर्क गर्दै अध्यक्ष नेपालले गठबन्धन दलले लिएको अडानका कारण एसपिपीमा नेपालको संलग्नता नरहने सरकारले घोषणा गरेर मुलुक दुर्घटनाबाट जोगिएको अध्यक्ष नेपालको दाबी छ ।

बैठकमा पार्टी महासचिव डा. बेदुराम भुसालले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ । महासचिव भुसालको राजनीतिक प्रतिवेदनमा मुलुकमा संविधान र राजनीतिक व्यवस्था संरक्षणका लागि तत्कालीन एमालेबाट विद्रोह गरी सो पार्टी स्थापना गरिएको, कम्युनिष्ट आन्दोलनमा देखापरेको विसर्जनवाद र अवसरवादका विरुद्ध जनतालाई एकताबद्ध गर्न पार्टीको औचित्य र आवश्यकता तथा आगामी कार्यदिशाबारे उल्लेख छ । उक्त प्रतिवेदनमा बैठकमा सहभागीहरूले छलफल गरेर पार्टीको आगामी कार्यदिशा तय गर्नेछन् । केन्द्रीय परिषद् बैठकमा देशभरबाट करिब एक हजार ५०० प्रतिनिधि सहभागी छन् ।

पार्टीमा कुनै विवाद छैन : महासचिव भुसाल
नेकपा एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसालले पार्टीमा कुनै विवाद नरहेको जिकिर गर्नुभएको छ । पार्टी केन्द्रीय परिषद्को प्रथम बैठकमा सहभागी हुने क्रममा पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै भुसालले मन्त्री हेरफेरको विषयलाई लिएर पार्टीभित्र कुनै विवाद नरहेको जिकिर गर्दै भन्नुभयो, ‘पार्टीमा कुनै खालको विवाद छैन । फिर्ता भएका मन्त्रीहरूले पार्टीभित्र आफ्नो कुरा राख्नुभएको छ, बाहिर त्यही बोल्नुहुन्छ ।’

नवनियुक्त मन्त्रीहरूद्वारा शपथग्रहण
सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीबाट सिफारिस नवनियुक्त मन्त्रीहरूले सोमबार पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा चार मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्नुभएको थियो । शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति भण्डारीले सोमबार बिहान ११ बजे शपथग्रहण गराउनुभएको हो ।

नेकपा एकीकृत समाजवादीको सिफारिसअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन जीवनराम श्रेष्ठ, शहरी विकास मेटमणि चौधरी, स्वास्थ्य भवानीप्रसाद खापुङ, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी नियुक्त भएसँगै पाँचै जनाले शपथग्रहण गर्नुभएको हो ।

शपथग्रहण कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा लगायतको उपस्थिति थियो । शपथग्रहणपछि सोमबार नै चारजना मन्त्रीले सम्बन्धित मन्त्रालयमा पुगेर पदभार सम्हाल्नुभएको छ । समाजवादीको सचिवालय बैठकले गत जेठ २२ गते नै मन्त्री हेरफेर गर्ने निर्णय गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?