एपिएफ र पुलिसको लगातार दोस्रो जित

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । विभागीय टोलीद्वय नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबले राजधानीमा जारी बागमती प्रदेश न्यु डायमन्ड कप खुला महिला राष्ट्रिय भलिबल प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेका छन् । कीर्तिपुरस्थित कभर्डहलमा भएको खेलमा एपिएफले आयोजक न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई तथा पुलिसले परोपकार आदर्श माध्यमिक विद्यालयलाई समान ३-० को सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो जित आत्मसात गरेका हुन् ।

एपिएफले न्यु डायमन्डमाथि २५-१२, २५-२० र २५-१४ को सोझो सेटमा जित निकाल्यो । अर्काे खेलमा पुलिसले परोपकारमाथि २५-६, २५-६ र २५-११ को सोझो सेटमा जित निकाल्दै लगातार दोस्रो जित दर्ता गर्न सफल भयो ।

लगातार दोस्रो जितसँगै समान ६ अंक जोडेको एपिएफ र पुलिस राउन्ड रोविन लिगको एक खेल बाँकी छँदै फाइनल पुगेका छन् । यी दुई टोली (एपिएफ र पुलिस) बीच राउन्ड रोविन लिगमा शीर्षस्थानका लागि प्रतिस्पर्धा हुनेछ । डायमन्ड र परोपकारले अंकको खाता खोल्न सकेका छैनन् । शीर्ष दुई टोलीले उपाधिका लागि शनिबार प्रतिस्पर्धा गर्नेछन् । शनिबार नै तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेश तथा न्यु डायमन्ड स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । दोस्रो हुनेले दुई लाख ५० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । तेस्रो हुनेले एक लाख २५ हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र तथा चौथो हुनेले ७५ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र हात पार्नेछन् ।

अन्य विधागत उत्कृष्ट (स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्डर र प्रशिक्षकले समान १० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको मुख्य उद्देश्य न्यु डायमन्ड स्पोर्ट्स क्लबको आफ्नै भलिबल कोर्ट निर्माण सहयोगार्थ रहेकाले पुरस्कारबापतको २० प्रतिशत दिनुपर्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?