भट्टराई पक्षका दुईलाई मन्त्री बनाएसँगै जसपामा उपेन्द्र पुन: बलियो

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । पार्टीको आन्तरिक कलहमा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई साथ दिँदै आएका दुई नेतालाई मन्त्रीमा सिफारिस गरेसँगै उपेन्द्र यादवको पकड जनता समाजवादी पार्टीमा पुनः बलियो हुन पुगेको छ ।

विगतमा भट्टराईलाई साथै दिँदै आएकामध्ये भौतिक पूर्वाधार मन्त्रीमा मोहम्मद इस्तियाक राई र वन मन्त्रीमा प्रदीप यादवलाई सिफारिस गरेसँगै यादव आन्तरिक राजनीतिमा बलियो हुन पुग्नुभएको हो ।

‘इस्तियाक राई, प्रदीप यादव मन्त्रीमण्डलमा पर्नुभयो, महेन्द्र (महेन्द्रराय यादव)जी पनि उपेन्द्रतिर नै आउनु भएको छ, अब बाबुरामजीसँग त को होला र ?,’ जसपा प्रमुख सचेतक प्रमोद साहले भन्नुभयो, ‘यो घटनाक्रमले त उपेन्द्रजी पार्टीमा स्वतः बलियो हुनु भएको छ ।’ उहाँका अनुसार मन्त्रीमण्डलमा सिफारिस भएलगत्तै जसपा नेपालको आन्तरिक कलह पनि सकिएको छ ।

पछिल्लो केन्द्रिय कार्यकारिणी समितिको बैठकको निर्णय अनुसार ‘तीन सदस्सीय हेडक्वाटर’ अर्थात् यादव, भट्टराई र अशोक राईको सहमतिमा मात्रै कुनै पनि महत्वपूर्ण निर्णय लिने भन्ने सहमतिलाई यादवले उल्लंघन गरेको, पार्टीलाई मनोमानी रुपमा चलाउन खोजेको, स्थानीय तहको निर्वाचनमा एकलौटी रुपमा टिकट वितरण गरेको, ‘हेड क्वाटर’को अवधारणाविपरित मन्त्रीमण्डल सिफारिसमा एकलौटी अधिकार लिएको विषयमा यादव र भट्टराई पक्षबीच आन्तरिक संघर्ष चल्दै आएको थियो ।

आफ्नोविरुद्ध हस्ताक्षर अभियानसमेत चलाएका नेताहरु राई र यादवलाई नै मन्त्रीमा सिफारिस गरेर यादवले बाबुराम ‘फ्याक्टर’लाई कमजोर बनाउनुभएको छ । अब भट्टराईको पक्षमा राजकिशोर यादवलगायत केही असन्तुष्ट नेता मात्रै बाँकी रहेको जसपा नेपालका एक नेताले बताए ।

उनका अनुसार असार २७-२८ गते वीरगञ्जमा बोलाइएको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा सम्भवतः भट्टराई उपस्थित नहुने सम्भावना छ, किनभने ‘सहमतिको आधारमा अलग हुने’ जानकारी अध्यक्ष यादवलाई गराई सकेकाले पनि सो बैठकमा उहाँ अनुपस्थित हुन सक्ने सम्भावना रहेको हो । भट्टराई अनुपस्थित भएमा यादवले वीरगञ्ज बैठकबाट आफू अनुकूलका निर्णय गर्न पाउने पक्का छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?