ययाति तृष्णाले तृषित शासकवर्ग

Read Time = 14 mins

✍️ मणि शर्मा

कुनै देशका नेताहरू भ्रष्ट बन्नुको अर्थ उनीहरू राष्ट्रप्रति घात गरिरहेका छन् भन्ने हो । राष्ट्रप्रति घात नगरे अकूत सम्पत्ति कमाउन सकिँदैन । जनता उनीहरू विरुद्ध जागे भने उनीहरूको गन्तव्य विदेश नै हो । यो विश्व परिदृष्यले बताइरहेको छ । राष्ट्रप्रति घात गर्नुको अर्थ हो आफ्नो राष्ट्रप्रति माया नहुनु । एउटा खुट्टा घाटमा र अर्को खुट्टा घरमा छउँञ्जेल उनीहरूले न त सत्ता छाड्न चाहन्छन् न पार्टीको नेतृत्व नै । हाम्रो जस्तो गरिब मुलुकहरूमा अति सत्ता लिप्सा हुनुभनेको राष्ट्रप्रति घात गरेर अकूत सम्पत्ति कमाउनु हो । ययाति तृष्णा उनीहरू न मरुन्जेल रहिरहन्छ ।

हाम्रो जस्तो गरिब जनता भएको देशमा जहाँ पैसाको बलमा चुनाव जितिन्छ त्यहाँ उनीहरूले नै चुनाव जित्नु कुनै ठूलो कुरा होइन । ययाति तृष्णा भनेको जीवनको अन्तिम कालसम्म धनको तीव्र कामनाको तृष्णा हो । चन्द्रवंशी राजा ययातिलाई वृद्ध अवस्थासम्म यौवनको सुख भोगको तीव्र चाहना भएकोले यस्तो चाहना हुनेलाई ययाति ग्रन्थी भने झैँ ययाति तृष्णा पनि अन्तिमसम्म धनको तीव्र कामना हो । ययातीको विवाह गुरु शुक्राचार्यकी पुत्री देवयानीसँग भएको थियो । देवयानी आफ्नो पतिगृहमा आउँदा उनीसँग उनकी सखी शर्मिष्ठा पनि आएकी थिइन् ।

ययातिले शुक्रसँग प्रतिज्ञा गरेका थिए कि उनी देवयानीबाहेक अरू कुनै नारीसँग शारीरिक सम्बन्ध राख्ने छैनन् तर देवयानी गर्भवती भएपछि एक पटक शर्मिष्ठाले ययातिसँग यौन सम्बन्धको कामना गर्दा ययातिले उनको कामना पूरा गरिदिएका थिए । यसरी तीन वर्षसम्म लुकेर ययातिले शर्मिष्ठासँग यौन सम्बन्ध राखे । शर्मिष्ठाबाट तीनजना पुत्र प्राप्त भएपछि देवयानीलाई ययाति र शर्मिष्ठाको कुरा थाहा भयो र उनले यो कुरा आफ्ना पितालाई भनिन् । शक्रले यो सुनेर ययातिलाई शुक्रहीन वृद्ध हुने श्राप दिएपछि उनी वृद्ध भए ।

हाम्रा नेताहरूलाई जनतामा भन्दा बाहृय शक्तिमा विश्वास छ । जनता पाँच वर्षमा एकपटक काम लाग्ने हुन् र यो एक पटकमा जनतालाई कसरी किनेर सत्तामा पुनः जान सकिन्छ यो ज्ञान शासक वर्गमा छ ।

तर, ययातिलाई उनको कुनै पुत्रले आफ्नो यौवन दिएमा उनी युवक हुने वरदान पाएपछि आफ्ना जेठा छोरादेखि क्रमैसँग सबै छोराहरूसँग उनीहरूको यौवन मागे तर कसैले दिएनन् । अन्त्यमा उनका कान्छा छोरा पुरुले आफ्नो यौवन दिएपछि उनी एक हजार वर्षसम्म युवक भएर यौवनको सुख भोग गरे । ययातिले यस बापत पुरुलाई आफ्नो उत्तराधिकारी बनाए । एक हजार वर्षसम्म यौवन सुख भोग्दा पनि उनी तृप्त नभएपछि पुरुलाई उनको यौवन फर्काएर उनले सन्यास आश्रम धारण गरे । ययातिलाई वास्तविकताको ज्ञान प्राप्त भएपछि भनेका थिए –भोगा न भुक्ता वयमेव भुक्ताः, तपो न तप्तं वयमेव तप्ताः । कालो न यातो वयमेव याताः, तृष्णा न जीर्णा वयमेव जीर्णाः ।।

अर्थात् हामीले भोग भोगेनौँ, बरू भोगहरूले नै हामीलाई भोगे, हामीले तप गरेनौँ बरू हामी आफैँ नै तप्त भयौँ, काल समाप्त भएन हामी नै समाप्त भयौँ, तृष्णा जीर्ण भएन तर हामी नै जीर्ण भयौँ । हाम्रा कैयौं शीर्ष नेताहरूले सात पुस्तालाई र धेरै नेताहरूले तीन चार पुस्तालाई पुग्ने गरी राष्ट्रहित विपरीत काम गरी धन सम्पत्ति आर्जन गरिसकेका छन् । तैपनि उनीहरूको तृष्णा मेटिएको छैन, आमरण सत्तामा रहेर धन कमाइरहने तृष्णाले उनीहरू तृषित छन् । राजा ययातिले अन्तिम समयमा आफ्नो तृष्णा बारे भनेको कुरा उनीहरूलाई सुनाउनु भनेको अरण्य रोदन गर्नु हो । तैपनि सुनाउनै पर्छ ।

विदेशी शक्तिकेन्द्रको सेवा नगरे सत्तामा टिक्न सकिँदैन भन्ने हीनग्रन्थीले हाम्रा शासकवर्ग ग्रसित छन् । यिनीहरूलाई जनतामा भन्दा बाहृय शक्तिमा विश्वास छ । जनता पाँच वर्षमा एक पटक काम लाग्ने हुन् र यो एक पटकमा जनतालाई कसरी किनेर सत्तामा पुनः जान सकिन्छ यो ज्ञान शासक वर्गमा छ । क्षणिक लोभ, लालच र प्रलोभनमा परी जनता राष्ट्रघातीहरूलाई चुनेर आफू पनि राष्ट्रघात गर्दै छन् भन्ने कुरा उनीहरूको सुषुप्त बुद्धिले सोच्न सक्दैन । प्रजातान्त्रिक पद्धतिमा चुनावको घोषणा भएपछि संसद भंग गरिन्छ तर राज्यको दोहन गर्न अन्तिम समयसम्म ययाति तृष्णाले ग्रसितहरूले संसद भंग गरेनन्, जनता चूप छन् ।

विवादित सरकारले चुनाव गराउनुभन्दा स्वतन्त्र व्यक्तिहरूको चुनावी सरकार बनाउन बाटो छोडिदिनुपर्ने हो तर छोड्दैनन् । किनकि चुनावपछि फेरि यिनै शासक सत्तामा आउनेमा उनीहरूलाई शंका छ । सत्तासीन पाँच दलले गठबन्धन गरेरै चुनाव नगराए तिनीहरूको पराजय लज्जास्पद हुनेछ भन्ने ज्ञान तिनीहरूलाई एक ठाउँमा ल्याउनेलाई थाहा छ । जबसम्म तिनीहरूलाई यो गठबन्धनको प्रयोजन छ तबसम्म यसलाई निरन्तरता दिइराख्ने छन् । सरकारमा भए धाँधली पनि गर्न पाइयो । पूरै राज्य संयन्त्रमा आफ्नो पकड छ । यसबीच बाहृय शक्तिको सेवामा तनमनले समर्पित भए चुनाव जित्न सक्ने आकलन पनि छ ।

अमेरिकाको आर्थिक स्थिति ओरालो लाग्दो छ । उसको मई २०२२ सम्मको कूल ऋण तीन करोड पाँच लाख अडसट्ठी हजार पाँच सय बयासी मिलियन डलर छ जो उसको जिडिपीको आठ सय दश दशमलव बीस प्रतिशत हुन्छ । हतियार बिक्री उसको एकमात्र उद्योग हो । अमेरिका जुन मुलुकमा पसेको छ त्यो देश धाराशायी भएको उदाहरण धेरै टाढा न जाऔँ अरब मुलुकहरूलाई हेरे हुन्छ । खाडीका केही सम्पन्न मुलुकहरूलाई छाडेर सबैजसो मुलुक युद्ध थोपरेर उसले ध्वस्त पारिसकेको छ । अहिले युक्रेनलाई ध्वस्त हुँदैछ ।

अब उसको नजर चीनतर्फ छ । अमेरिकाले एक चीन नीति स्वीकार गरेको छ तर थाहा नै नदिइकन अमेरिकी सिनेटका स्पिकर नेन्सी पेलोसीको ताइवान भ्रमणले उसको एक चीन नीतिको खिल्ली उडाएको छ । उनको भ्रमणको ताइवानमा विरोध भयो । चीन र ताइवानको निजी मामिला हस्तक्षेप नगर भन्दै नारा लगाएर ताइवानी जनताले उनको भ्रमणको विरोध गरे भने सरकारी पक्षबाट उनको भव्य स्वागत भयो ।

यदि चीन र ताइवानको युद्ध भएमा नेपालले कसको साथ देला सबैको चासो छ । नेपालले अमेरिकन लबीमा लागेर युक्रेनलाई साथ दिए झैँ यसपालि पनि अमेरिकालाई साथ दिँदै ताइवानको पक्ष लिए नेपाल पनि तेस्रो विश्वयुद्ध भएमा युद्धमा मुछिएको मानिने छ ।

जुन देशका शासकले विदेशीको दासता स्वीकार गरेका हुन्छन् उनीहरूले जनताको आवाज सुन्दैनन् । ताइवानी शासकले पनि सुनेन । अर्कोतिर ताइवानी सरकारले आसन्न युद्धको विभिषिकाबाट बच्न आफ्ना नागरिकलाई तालिम दिइरहेको छ । नेपालमा एमसिसीको त्यति विरोध हुँदा पनि सत्तापक्ष र प्रमुख प्रतिपक्षले सुनेनन्, राष्ट्रघाती नागरिकता विधेयक पारित गर्न दुवै पक्ष लागिपरे । एमालेको दोहोरो चरित्र एमसिसीपछि फेरि नागरिकता विधेयकमा नांगियो । विदेशी शक्तिकेन्द्रहरूबाट सञ्चालित शासक वर्गले जनताको आवाज सुन्दैनन् ।

पेलोसीको भ्रमणको खबर पाएपछि चीनले आफ्ना सेना ताइवानी समुद्री क्षेत्रमा पठाएर क्षेप्यास्त्रको प्रयोग गरेको छ र अमेरिकाले चीनलाई ताइवानमा आक्रमण नगर्न चेतावनी दिएको छ । यसरी रुसलाई युक्रेनमा र चीनलाई ताइवानमा अल्झाएको छ अमेरिकाले । विश्वयुद्ध भएमा हतियारको बिक्रीबाट आफ्नो देशको अर्थतन्त्र बलियो बनाउने दाउमा छ अमेरिका । तर, अमेरिकाले ऊ आफू ज्वालामुखीमाथि उभिएको छु भनेर बिर्सिएको छ ।

यदि चीन र ताइवानको युद्ध भएमा नेपालले कसको साथ देला सबैको चासो छ । नेपालले अमेरिकन लबीमा लागेर युक्रेनलाई साथ दिए झैँ यसपालि पनि अमेरिकालाई साथ दिँदै ताइवानको पक्ष लिए नेपाल पनि तेस्रो विश्वयुद्ध भएमा युद्धमा मुछिएको मानिने छ । एमसिसी, एसपिपी सम्झौता र सोफामा सहमति जनाएपछि नेपाल इन्डोप्यासिफिकको एउटा सदस्यको नाताले युद्धमा अमेरिकालाई साथ दिन बाध्य हुनेछ । सत्ता, पद र पैसाका लागि नेताहरूले देशको स्वतन्त्रता तथा सार्वभौमसत्तालाई दाउमा लगाउन कत्ति पनि संकोच मानेनन् र फेरि पनि नेपाली जनताले यिनीहरूलाई नै भोट दिएर देशको अस्तित्व समाप्त गर्ने जिम्मा दिए यी नेतामात्र होइन यिनीहरूलाई भोट दिने जनता पनि राष्ट्रघातको मतियार ठहरिनेछन्, पछि पछुताएर हुने केही छैन ।

तर, आशा गरौँ अमेरिकाले यस्तो अदूरदर्शी काम नगर्ला । ताइवानलाई सन् १९४९ मा अलग्गै राज्य बनाउनमा चीनमा उद्योग, व्यवसायमा रहेको अमेरिकी साझेदारहरूको हितका लागि ताइवानलाई चीनबाट अलग बनाएको थियो । अब त त्यस्ता साझेदारी उद्योग र व्यापार अमेरिकाको ताइवानभन्दा कैयौं गुणा विशाल देश चीनमै छ । व्यापारिक नाफाघाटाको हिसाबले दूरगामी परिणामका लागि अमेरिकाले यो जोखिम नलेला ।

अब त अमेरिकाले भनेको मान्ने सरकार र दलहरू छन् । हाम्रा नेताहरूमा देशप्रति माया र जिम्मेवारी नभएकाले नेपाल दुई साँढेहरूको मिचाइमा पर्ने सम्भावना तीव्र छ । संयोग कस्तो, सरकारले प्रधानमन्त्रीको परराष्ट्रको सल्लाहकारमा अरुणकुमार सुवेदीलाई नियुक्ति दिएको छ । जो एमसिसीको सल्लाहकार पनि हुन् । गणतन्त्रवादीहरू एकपछि अर्को राष्ट्रविरोधी काम गर्दै गइरहेका छन् । ययाति तृष्णाले तृषित यी शासकवर्गले पद, पैसा तथा सत्ताको लागि अब राष्ट्रघात गर्न त्यागेर सन्यास लिँदा देश र जनताको कल्याण त हुने नै थियो, यिनीहरूले पनि मोक्ष प्राप्त गर्ने थिए । अन्यथा एक दिन राजापाक्षे र अशरफ घानीहरूको अवस्था व्यहोर्नुपर्ने दिन आयो भने पनि आश्चर्य मान्नुपर्ने छैन ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Dil Bahadur Kathayat
Dil Bahadur Kathayat
2022-08-08 3:02 pm

Satik bisleshan

रिलेटेड न्युज

छुटाउनुभयो कि ?