महँगीले विद्यार्थीलाई सकस

हिमालय टाइम्स
Read Time = 8 mins

-रामचन्द्र रायमाझी

पाल्पा । ‘केही दिनअघि खानेतेल किन्न पसल जाँदा थाहा भयो, तेल प्रतिलिटर ३६० रुपैयाँ पुगेछ । तेल मात्र होइन तरकारीसमेत छोइनसक्नु छ’ शितलपाटीमा भेटिनुभएकी तानसेनको कैलाशनगरमा कोठा भाडामा लिई त्रिभुवन बहुमुखी क्याम्पसमा अध्ययनरत गर्दै आउनुभएकी गुल्मीकी एलिना खत्रीको हो यो भनाइ । उहाँले भन्नुभयो, ‘अहिले बजारमा सबै चिज अत्यधिक महँगो छ, हामी जस्ता कोठा भाडामा लिएर पढ्न बस्नेहरूलाई निकै सकस भएको छ ।’ घरबाट बुवा आमाले पाँच महिनाका लागि भनेर अड्कलेर खर्च पठाइदिनु हुन्छ तर महँगीले गर्दा त्यो खर्चले दुई महिना पनि धान्न धौ धौ हुने गरेको उहाँको गुनासो छ । ‘साँझ, बिहानको तरकारी किन्नकै लागि साथमा दुई/तीन सय रुपैयाँ नभएसम्म हुँदैन । यसरी बजारमा बसेर पढ्न नसक्ने अवस्था आयो’ खत्रीले भन्नुभयो ।

पछिल्लो समय महँगीका कारण निम्न आय भएका मात्र होइन, कोठा भाडामा लिएर पढ्न बसेका विद्यार्थीहरू समेत बढी मर्कामा परेका छन् । इन्धनको मूल्यमा भएको अचाक्ली वृद्धिले बजारमा दैनिक उपभोग्य वस्तुको मूल्यमा समेत असर गरेका कारण विद्यार्थीहरू बढी मारमा परेका हुन् । अचाक्ली महँगीका कारण अड्कलेको पैसाले साँझ, विहानको भान्सा चलाउनै सकस भइरहेको विद्यार्थीहरूको गुनासो छ । ‘कति साह्रो महँगो भएको तरकारी,’ पसलेले एक सय रुपैयाँ प्रतिकेजी टमाटर भनेपछि जिब्रो टोक्दै पसलबाहिर निस्किनुभएकी कमला सूर्यवंशीले भन्नुभयो । ‘धेरै भएको थियो टमाटर किनेकी थिइन्, टमाटरको मूल्य सुनेर मन कटक्क खायो, बरु नखाने,’ नकिन्ने अठोटमा पुगेकी सूर्यवंशी भन्नुहुन्छ । दुई वर्षअघि स्याङ्जाबाट अध्ययनको लागि तानसेन आउनुभएकी उहाँलाई अहिले महँगीले पिरोलेको छ ।

अर्घाखाँचीबाट पढाइको सिलसिलामा तानसेनको मखनटोलमा बस्दै आउनुभएका पवन विकको समस्या पनि उस्तै छ । कोठामा दाजुभाइ सँगै बस्दै आउनुभएका उहाँ पढाइसँगै साझा बिहानको खर्च ठार्न धौं धौ भएको बताउनुहुन्छ । ‘पहिले दुई सयले १०/१५ दिनलाई पुग्ने तरकारी आउँथ्यो तर अहिले दुई सयले साँझ बिहानको छाकलाई ठिक्क हुन्छ’ विकले भन्नुभयो ‘आफ्नो कमाइ नभएपछि घरकै खर्चमा आश्रित हुनुपर्दा तनाव हुँदो रहेछ । सरकारले भाउ बढाउन मात्रै जानेको छ । रोजगारी दिन जानेको छैन ।’

खत्री, सूर्यवंशी र विक मात्रै होइन अध्ययनका लागि घर छाडेर बजार आएका सामान्य परिवारका विद्यार्थीहरूलाई महँगीले सास्ती खेप्नु परेको छ । पेट्रोल इतिहासमै पहिलोपटक दुई सय रुपैयाँ नजिक पुगेको छ । खाने तेलको भाउमा भएको वृद्धिले त तरकारी पनि उसिनेर खानुपर्ने अवस्था देखिन थालेको छ । तरकारी पनि ठाउँ हेरेर सस्तो वा महँगो छ । थोक बिक्रेता कहाँबाट किन्दा केही सस्तो भए पनि चोक चोकमा खुद्रा पसलमा आइपुग्दा तरकारीको भाउ जिब्रो नै टोक्न मन लाग्ने गरी महँगो छ । चामल, गहुँ दालसमेत सबै खालका खाद्यवस्तु बढेको छ । व्यापारीहरूले चिनी, तेलको भाउ आफूखुसी बढाएका छन् । महँगीको प्रभाव सबैतिर देखिएको छ । कोरोना भाइरसको महामारी कारण महँगी यसै पनि बढेको थियो । पछिल्लो समय रुसले युक्रेनमा आक्रमण गरेयता अवस्था झनै विकराल बनेको छ । बजार अनुगमन तथा मूल्य नियन्त्रण गर्ने जिम्मा पाएका सम्बन्धित निकायहरू नै सामान्य मूल्यवृद्धि स्वाभाविक भएको ठान्छन् । जसका कारण विद्यार्थी जस्तै निम्न आय भएका नागरिक समस्यामा परेका छन् । अत्यावश्यक दाल, चामल, तरकारी जस्ता उपभोग्य वस्तुमा त्यति बढी कर नबढेको भए पनि भाउ अचाक्ली बढेको जिल्लाका खुद्रा व्यापारीहरू नै स्वीर्काछन् । खाद्यान्नदेखि तरकारीसम्म, इन्धनदेखि सवारीभाडासम्म विद्यार्थीको पहुँचबाहिर पुगिसकेको छ । तैपनि, यसबारे नियामक निकाय र सरकारमा बस्नेहरूको अनुहारमा कुनै चिन्ता देखिन्न ।

विभिन्न निहुँमा खाद्यान्नलगायत अन्य सामानको मनपरी मूल्य बढाउने व्यापारीलाई साउन १ गतेदेखि कर्मचारीको तलब बढ्ने भएपछि फेरि मूल्यवृद्धि गर्न सजिलो भएको छ । भान्छामा प्रयोग हुने अधिकांश खाद्य पदार्थको मूल्य छोइसक्नु छैन । गोलभेंडा फेरि पनि १२० रुपैयाँ प्रतिकेजी पुगेको छ । भारतले नेपालमा चिनी बन्द गर्ने हल्लाले चिनी पनि सय रुपैयाँ पुगिसकेको छ । गहुँ, चामल, फलफूलदेखि लिएर भान्छामा प्रयोग हुने सबै वस्तुको भाउ अचाक्ली बढेको छ । खाना पकाउने ग्यासमा मात्रै एकैचोटि २०० रुपैयाँ बढ्दा अड्कलेको खर्चमा चल्ने विद्यार्थीहरूलाई सकस भएको छ ।

अरूलाई घर चलाउन जति धौधौ भए पनि व्यापारीलाई भने रुस–युक्रेन युद्धका कारण विश्व बजारमा पनि महँगी बढेको र भारतले निर्यातमा कडाइ गर्दा पनि थप महँगी बढेको भन्ने जवाफ दिन सजिलो भएको छ । आफ्नै देशमा उत्पादन हुने फलफूल, हरिया सागपात, तरकारीसमेत अचाक्ली महँगा भएका छन् । कतै भने किसानहरू बजार नपाएर गाईवस्तुलाई भिण्डी खुवाउन बाध्य भएका खबर आइरहेका छन् ।

विगतमा मनलाग्दी बजार मूल्य बढाउनेलाई बेलाबेलामा सरकारका तर्फबाट अनुगमन तथा जरिवानासमेत हुने गरेका समाचार आइरहन्थे । बजारमा अनुगमनकर्ताका तर्फबाट बेलाबेलामा छापा मारेका समाचारका कारण व्यापारीसमेत डराउथे । बजारभाउमा मनपरी गर्नबाट डराउथे । अहिले केही महिनादेखि सरकारका तर्फबाट बजार अनुगमन गरेको सुनिँदैन । व्यापारीलाई जे गर्न पनि छुट भए जस्तै छ । उपभोक्ता समिति पनि कानमा तेल हालेर बसे जस्तै देखिन्छ । सर्वसाधारण र विद्यार्थीहरूको पक्षमा कसैले बोलेको सुनिँदैन । न त पसलमा मूल्यसूची टाँसेको देखिन्छ, न तराजु नै उपभोक्ताले देखिने गरी राखेका हुन्छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?