खोटाङ । गएको चैत १० गतेयता हप्ताको मंगलबार र शनिबार मनमाया राई खानीडाँडा विमानस्थलबाट काठमाडौं-खानीडाँडा उडान तथा अवतरण हुँदै आएको छ । सदरमुकामबाट सबैभन्दा नजिकको विमानस्थलदेखि यात्रा गर्ने यात्रुहरूलाई विमानस्थल कसरी बन्यो, कसरी नाम रहृयो भन्ने विषय थाहा नहुन सक्छ ।
यी विषयबारे चासो राखेको पाइँदैन । खाल्लेको उराठलाग्दो डाँडामा विमानस्थल बनाउनुपर्छ, विमानस्थल बनाएर हवाईजहाजबाट काठमाडौंलगायत अन्य स्थानको यात्रा सहज गर्न सकिन्छ भन्ने धारणा २०५९ सालमा दिक्तेलका ५४ वर्षीय दुर्गाप्रसाद घिमिरेलाई आयो । घिमिरेलाई भन्दा अगाडि खाल्लेकै सर्वधन राईलाई एयरपोर्ट बनाउनुपर्छ भन्ने कन्सेप्ट आयो । तर, उहाँले पूरा गर्न सक्नुभएन ।
घिमिरेले आफ्नो अध्यक्षतामा विमानस्थल निर्माण उपभोक्ता समिति गठन गर्नुभयो । विमानस्थल बनाउनुपर्छ भन्दै उहाँ जिल्लादेखि नेपाल नागरिक उड्यान प्राधिकरणको ढोकामा पुग्नुभयो । मन्त्री कहाँ बिन्ती बिसाउनुभयो । तत्कालीन संस्कृति मन्त्री बलबहादुर केसी र राज्यमन्त्री सर्वधन राईको कार्यकालमा विमानस्थल बनाउने सैद्धान्तिक सहमति मिल्यो ।
एयरपोर्ट बनाउने कानुनी प्रक्रिया अघि बढ्दै गयो । एयरपोर्ट बन्छ भनेर जिल्लावासी कसैले पत्याएनन् । ‘उल्टै बौलाहासम्म भने, पागल भन्थे’ घिमिरेले दुःखेसो पोख्नुभयो । हुँदैन, बन्दैन भन्दाभन्दै लागेको, लाग्यै गरे । किनेर अनि मागेर प्राधिकरणको नाममा २०७ रोपनी जग्गा नै पास गरिदिए । विमानस्थल बनाउन प्रक्रिया अघि बढ्यो, २०७ रोपनी जग्गा पनि जुटाइयो । तर, विमानस्थलको धावनमार्ग बन्ने ठाउँको जग्गा लिन, किन्न त्यति सजिलो थिएन । किन कि त्यहाँ खाल्लेका सर्वधन राईको आमा मनमाया राईको समाधिस्थल (चिहान) थियो ।
स्वर्गीय मनमाया राईको नाती रुद्र राईसँग समाधिस्थल सार्ने र त्यहाँ धावनमार्ग बनाउने कुरा राखे । उहाँले (रुद्र राई मनमाया राईको नाती)ले समाधिस्थल सार्ने तर, विमानस्थलको नाम मनमाया राई राख्नुपर्छ भनेर अडान राख्नुभयो । रुद्रको प्रस्ताव स्वीकार गरेर समाधिलाई विमानस्थलदेखि सय मिटर तल राख्यौं । उहाँको बजुको नामबाट विमानस्थलको नाम राख्ने भएपछि उहाँहरूले थप १८ रोपनी जग्गा पनि निःशुल्क दिनुभयो । घिमिरेले भन्नुभयो, ‘त्यही कारण नै अहिले एयरपोर्टको नाम नै ‘मनमाया राई खानीडाँडा विमानस्थल’ भएको हो ।’
विमानस्थल बनाउन सैद्धान्तिक सहमति, धावनमार्ग बन्ने स्थलको मनमाया राईको समाधिस्थल अन्यत्र सार्ने सहमति भएर काम अघि बढ्दै गर्दा बजेट भने थिएन । संस्कृति मन्त्री बलबहादुर केसी र राज्यमन्त्री सर्वधन राई मन्त्रीबाट हट्नुभयो । हामीलाई ठूलो समस्या भयो । अरू कसैले पत्याउँदैन थिए । राजाको शासनकाल आयो । राजाको कार्यकालमा बद्रीप्रसाद मण्डललाई गुहार्न गयौं ।
हामीलाई औजार दिनुहोस, खाद्यान्न दिनुहोस, जनश्रमदानबाट एयरपोर्ट खन्छौ भनेर भन्यौ । उहाँले त्यो कुरा पत्याउनु भएन । त्यतिकै यो हुँदैन भनेर सबैले माया मारेको बेला बल्लबल्ल कुबेर शर्मा पर्यटन मन्त्री हुनुभयो । उहाँ वीरेन्द्र केशरीको आफन्त हुनुहुँदो रहेछ । उहाँको घरमा गयौं । उहाँले हाम्रो कुरै सुन्न मान्नुभएन । त्यसपछि हाम्रो जाने ठाउँ कही भएन । ठाउँ नै हरायो । घिमिरेले विगत सम्झिनुभयो ।
राजालाई बिन्तीपत्र र भेट्ने काम त दशौ, बीसौं पटक गरियो । त्यहाँबाट पनि केही पत्तो लागेन । कुबेर शर्माको पार्टी अफिस धाएर खोटांगे जनतालाई धेरै मर्का परेको छ । एयरपोर्ट बनाउनलाई अलिकति पैसा हालिदिनुस बरू त्यहाँका जनताहरू तपाईको पार्टीमा संलग्न हुन्छन् । खोटांगेहरूले अकालमा मृत्युवरण गर्नुपरिरहेको छ भनेपछि उहाँ खुशी भएर दश लाख दिने निर्णय गरिदिनुभयो ।
उपभोक्ता समितिले प्राधिकरणले दिएको बजेट बराबर श्रमदान गर्नुपर्ने भयो । अनि सारा गाउँले मिलेर ५० लाखको श्रमदान ग¥यौं । दश लाख त्यो बजेट सकेर फेरि सर्वेन्द्रनाथ शुक्ला पर्यटनमन्त्रीलाई बजेट माग्न गयौं । शुक्लाले त काम नै भएको छैन, पैसा सबै तपाईंहरूले खानुभएको छ । तपाईंहरूलाई थुन्नुपर्छ समेत भन्नुभयो । तर, हामीले ५० लाखको काम गरिसकेका थियौं । शुक्लालाई तपाईं एयरपोर्ट हेर्न हिड्नुहोस हामी हेलिकोप्टर रिर्जभ गर्छौ भन्दा उहाँ आउन मान्नु भएन । त्यस्तै, त्यस्तै धेरै, धेरै झन्झट र कष्ट खेपेर एयरपोर्ट बनायौं, घिमिरेले भन्नुभयो ।
घिमिरेको पहलमा स्थानीयको अन्दाजी १५ करोड श्रमदान र नेपाल नागरिक उड्डयन प्राधिकरणको सात करोड २४ हजारमा ५९० मिटर लम्बाइ र २० मिटर चौडाइ भएको विमानस्थल २०६० साल वैशाख २० गतेबाट काम थालेर २०६२ सालमा नेपाल एयरलाइन्सले परीक्षण उडान गरेको थियो । तीन वर्षअघिबाट विमानस्थल कालोपत्रे भइसकेको छ ।
त्यो बेला एयरपोर्ट बनाउँछु भनेर हिँड्दा पागल, बौलाहा भनेको सम्झँदा अहिले कस्तो महसुस हुन्छभन्दा घिमिरेले हाँस्दै गौरव लाग्ने बताउनुभयो । त्यो बेला दिक्तेलबजारमा हिँड्दा कस्तोसम्म गिल्ला गर्दथ्यो भने उताबाट आउँदा पनि कालो प्लेन आयो, कालो प्लेन आयो भन्थे, यताबाट उता जाँदा पनि कालो प्लेन आयो, आयो भन्थे । शिर झुकाएर भुइँतिर हेरेर हिँड्थे, त्यतिसम्म खेपेर, सहेर, जसले जेसुकै भनोस् म यो काम पूरा गर्छु भनेर लागेर नै त्यो पूरा भएको घिमिरेले सुनाउँनु हुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच