मोरङबाट भन्सार छलेर ल्याएको २९ लाखको कपडा झापामा बरामद

Read Time = 3 mins

झापा । झापा र इलाम जिल्लाबाट हुने लत्ताकपडा तस्करी कारोबारीबीचको आन्तरिक विवादले रोकिएपछि तस्कर समूह अहिले मोरङ र सुनसरी नाका धाउन थालेका छन् ।

मोरङको आमबारी, रङ्गेली र सुनसरीको भन्टावारि, लौकी, भोक्रा, घुस्की लगायतको नाकाबाट ठुलो परिणामको लत्ताकपडा तस्करीको माध्यमबाट नेपाल भित्रिरहेका छन् ।

मोरङको आमबारी नाकाबाट भन्सार छलेर नेपाल भित्राइएको १८ पोका लत्ताकपडा सशस्त्र प्रहरीले झापाको बिर्तामोडबाट बरामद गरेसँगै सो नाकाहरूमा तस्करी धन्दा फस्टाएको यसै घटनाले पुष्टि गर्छ ।

बिना कागजात ल्याइएको १८ पोका कपडा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस शनिश्चरेबाट खटिएको टोलीले बिर्तामोड नगरपालिका– १ स्थित पश्चिम बस स्टेन्ड नजिकैबाट बुधवार विहान करिब ३ बजे बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका डिएसपी प्रेम भण्डारीले जानकारी दिनुुभयो ।

१८ पोका कपडाको मुल्य २९ लाख ९३ हजार १ सय रुपैयाँ मूल्याङ्कन तोकेर आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरी बुझाइसकेको डिएसपी भण्डारीले बताउनु भयो ।

मोरङबाट गाडीमा हालेर ल्याएको सो परिमाणको लत्ताकपडा बितामोडको पश्चिम बस स्ट्यान्ड नजिकै भण्डारण गरी गाडी फर्किसकेका थिए । विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीले भण्डारण गरी राखिएको स्थानको पहिचान गर्यो । भण्डारण गरी राखिएको स्थानबाट कपडाका पोकाहरू ठेला भ्यानमा हालेर दुर्गा भवानीको गोदामतर्फ लैजाने तयारी थियो । त्यही बेला सशस्त्र प्रहरीले कपडाका पोकाहरू बरामद गर्न सफल भएको बताइएको छ ।

राष्ट्र बैङ्कले गत चैतदेखि भारतलगायत तेस्रो मुलुकबाट आयात हुने करिब ३०० वटा वस्तुको एलसीमा कडाइ गरेपछि त्यसको प्रत्यक्ष असर राजश्वमा परेको छ । एलसीमा कडाइ गरेपछि तस्कर समूहले तस्करीको माध्यमबाट लत्ताकपडा भित्राउँदा मेची भन्सार कार्यालय तथा भद्रपुर भन्सार कार्यालयको राजश्वमा समेत भारी गिरावट आएको छ ।
लत्ताकपडा भन्सार आउन छाडे पनि पूर्वका बजारहरूमा लत्ताकपडा छ्यापछ्याप्ती पाउन थालेपछि यस बारेमा जिल्लास्तरीय राजश्व चुहावट नियन्त्रणको बैठकमा समेत पटक पटक कुरा उठिसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?