कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, शेखर पक्ष आक्रामक देखिँदा सभापति देउवालाई अफ्ठेरो

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षले आज (सोमबार)बाट सुरु हुने पार्टी केन्द्रीय समिति बैठकमा सरकारको काम, कारबाहीबारे गम्भीर समीक्षा गर्ने एजेण्डा तय गरेको छ ।

नेता कोइराला पक्षको बैठकले भ्रष्टाचारको आरोप लागेको निष्कर्ष निकाल्दै पार्टी नेतृत्वको काम कारबाहीबारे केन्द्रीय समिति बैठकमा समीक्षा गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

पार्टी नेतृत्वको सरकारमाथि भ्रष्टाचारको आरोप लागेकाले सरकारको काम कारबाहीबारे गम्भीर समीक्षा केन्द्रीय समिति बैठकमा गर्ने विषयमा छलफल गरिएको नेता चन्द्र भण्डारीले जानकारी दिनुभयो । कोइराला पक्षले सरकारले ल्याएको बजेटबारे पनि असन्तुष्टि व्यक्त गर्दै आएको छ ।

त्यसैगरी, पार्टी सभापतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई विधिवत रूपमा अघि बढाउन नसकेको भन्दै कोइराला पक्षको आक्रोश छ । स्थानीय तह निर्वाचनको समेत समीक्षा गरी आगामी प्रदेशसभा र संघीय संसद्को निर्वाचनमा पार्टीलाई अझ फाइदा हुने गरी गठबन्धनलाई बृहत् बनाउने विषयमा पनि छलफल हुने नेता भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सोमबारदेखि केन्द्रीय समिति बैठक हुँदैछ । त्यो बैठकमा समीक्षा, चाहे स्थानीय तह निर्वाचनको होस् वा सरकारको समीक्षा होस् । यसले ल्याएको बजेटले पारेको असरको बारेमा होस् । पार्टीलाई विधिवत तरिकाले चलाउने कुराहरूमा पनि केन्द्रीय समिति बैठकमा छलफल गर्ने, कांग्रेसलाई कसरी मजबुत बनाउने, आगामी चुनावमा कांग्रेस कसरी जाने रु र, गठबन्धनका बारेमा पनि अझ बृहत्तर रूपमा पार्टीलाई फाइदा पुग्ने तरिकाले छलफल गर्ने भन्ने विषयमा कुरा भयो । पार्टीको भ्रातृ संस्थाहरूदेखि विभागसम्मको गठनको कामलाई समयमै गर्नुपर्छ भन्ने विषयमा पनि छलफल हुन्छ ।’

बैठकमा कोइराला पक्षले पार्टीको भ्रातृ संस्थाहरू सबैको पुनर्गठन गर्न र विभागहरूलाई समयमै पूर्णता दिन पनि पार्टी सभापति देउवालाई दबाब दिने निर्णय गरेको छ ।पार्टीको विधानअनुसार विभागहरू समेत गठन गर्न नसकेको भन्दै सो पक्षले सभापति देउवाको सार्वजनिक रूपमै आलोचना गर्दै आएको छ ।

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक सोमबार दिउँसो १ बजे बस्ने पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बताउनुभएको छ ।

प्रवक्ता महतका अनुसार, स्थानीय तह निर्वाचनको समीक्षा बैठकको मूल एजेण्डा रहेको छ । सत्तासाझेदार दलसँग गठबन्धन गरेर स्थानीय तह निर्वाचनमा होमिएको नेपाली कांग्रेसले आफ्नो स्थिति ०७४ को भन्दा सुदृढ पारेको छ ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबारे पनि बैठकमा छलफल हुने बताइएको छ । सत्तासाझेदार दल आउँदो दुई तहका निर्वाचनमा गठबन्धन गर्ने पक्षमा छन् । कांग्रेसले स्थानीय तह निर्वाचनमा इमान्दारितापूर्वक गठबन्धनको पालना नगरेकाले अब त्यसो नहुने सुनिश्चितता उनीहरूले खोजेका छन् ।

यसैबीच, कोइराला पक्षका नेता-कार्यकर्ताले केन्द्रीय समिति बैठकपूर्व बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा प्रदर्शन गर्ने भएका छन् । नेपाल विद्यार्थी संघ, महिला संघ, तरुण दललगायत भ्रातृ संस्थाका कोइराला पक्षधर नेता कार्यकर्ताले भातृ संस्थालाई पूर्णता दिन माग गर्दै प्रदर्शन गर्न लागेका हुन् ।

गत फागुनमा सम्पन्न कांग्रेसको केन्द्रीय समिति बैठकले अवधि पुगेका भातृ संस्थाको केन्द्रीय कार्यसमिति भंग गरेको थियो । पछि देउवाले यसमध्ये चारवटाको मूल नेतृत्व चयन गरे पनि तिनले अहिलेसम्म पूर्णता पाउन सकेका छैनन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?