सिनेमाघरमा ‘बगान’

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । चलचित्र ‘बगान’ आज (शुक्रबार)बाट प्रदर्शनमा आएको छ । आजदेखि देशभरका सिनेमाघरमा चलचित्र ‘बगान’ प्रदर्शनमा आएको हो । अभिनेता सरोज खनालको निर्देशनमा बनेको पहिलो नेपाली यो चलचित्र ‘बगान’को बुधवार साँझ काठमाडौंमा प्रीमियर शो पनि आयोजना गरिएको थियो ।

नयाँबानेश्वरस्थित आइप्लेक्स हलमा रहेको वान सिनेमा हलमा आयोजित प्रीमियर शोमा चलचित्र हेर्ने अधिकांशले यसको प्रशंसा गरेका थिए । चलचित्रमा एकल महिलालाई समाजले गर्ने तिरस्कार र विवाह गर्ने चुनौतीलाई प्रस्तुत गरिएको छ । चलचित्रमा अभिनेत्री करिश्मा मानन्धरले एकल महिलाको रूपमा मुख्य भूमिका निर्वाह गर्नुभएको छ ।

चलचित्रमा सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, प्रमिला कार्की, नीर शाह, वसुन्धरा भुसाल, मिथिला शर्मालगायत कलाकारको अभिनय छ । स्वप्न नीरवको कथामा आधारित यो चलचित्रबाट अभिनेता खनालले निर्देशनमा डेब्यु गर्नुभएको हो । चलचित्रका निर्माता सुरेश वाग्ले हुनुहुन्छ भने कार्यकारी निर्माता विनोद मानन्धर रहनुभएको छ । उत्सव दाहाल र नारायण जिसीद्वारा छायांकन गरिएको यो चलचित्रलाई सन्देश शाहले सम्पादन गर्नुभएको हो ।

बगान समाज परिवर्तन गर्ने चलचित्र : उपसभामुख राना

प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले समाज परिवर्तनमा पुरुष भूमिका विशेष हुने बताउनुभयो । बुधबार साँझ आयोजित चलचित्र ‘बगान’को विशेष प्रदर्शनीमा सहभागी हुँदै उहाँले उक्त चलचित्रमार्फत एकल आमाको कथा, संघर्ष, दायित्वसँगै परिवार र समाजबाट खोज्ने साथलाई देखाइएको बताउनुभयो ।

‘एकल आमाको भावनालाई चलचित्रमार्फत समाजसम्म पुर्‍याउने प्रयास गरिएको छ,’ उपसभामुख रानाले भन्नु हुन्छ, ‘समाजमात्र नभई आफ्नै परिवारबाट सहयोग नपाउँदा जीवन यात्रामा भोग्ने कठिनाइ चलचित्रमार्फत उजार गरिएको छ ।’ समाज रूपान्तरणमा पुरुषले महिलालाई साथ दिनेमात्र नभई परिवर्तनकारी भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ थियो ।

‘एकल आमाले नयाँ जीवन बाँच्न पाउनुपर्छ भन्ने तथ्यलाई प्रष्ट्याउँदै यसले समय परिवर्तन गर्न भूमिका खेल्छ’, उहाँले भन्नुभयो । विशेष प्रदर्शनीमा चलचित्र ‘बगान’ हेर्न राजनीतिज्ञसँगै कलाकर्मी उपस्थित थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?