सरकारको अधोगतिमा ‘ब्रेक’ नलागे देश श्रीलंकाको अवस्थामा पुग्छ : ओली

नारायण भण्डारी
Read Time = 6 mins

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश श्रीलंकाको अवस्थामा पुग्ने भन्दै सचेत गराउनुभएको छ । सोमबार विभिन्न सञ्चार माध्यमका सम्पादकहरू सँगको अन्तरक्रियामा अध्यक्ष ओलीले अहिलेकै तरिकाले अधोगतिमा जाने हो भने श्रीलंकाभन्दा पनि खराब स्थितिमा पुगिने बताउनुभयो । ओलीले बजेट निर्माणमा व्यापारी तथा अनाधिकृत व्यक्तिलाई घुसपैठ गराइएको भन्दै यो अर्थमन्त्रीको तहबाट मात्रै सम्भव नभएको दाबी गर्नुभयो । उहाँले यसमा प्रधानमन्त्री सम्मको सेटिङ हुनसक्ने आशंका गर्नुभयो ।

प्रहरीका लागि हतियार खरिद गर्ने निर्णय र बजेटमा गरिएको बदमासीको उदाहरण दिँदै उहाँले भन्नुभयो, ‘यसको प्रभाव कम्तीमा हामी श्रीलंकासम्म पुग्ने लक्षण देखिन्छ ।’ आर्थिक विचलनमा रोक नलगाए मुलुकको अवस्था श्रीलंकाभन्दा पनि कमजोर हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो अधोगतिमा ब्रेक नलगाउने हो भने कम्तीमा श्रीलंकासम्म पुगिन्छ । त्योभन्दा उँधो पनि जान सक्छ ।’ बजेट निर्माणमा अनाडि मान्छे घुसाइएको टिप्पणी गर्नुभयो ।

ओलीले संघीयता सफल भएन भने परिवर्तन गर्न तयार हुनुपर्ने पनि बताउनुभयो । उहाँले संविधान जारी गर्ने बखतमा हतार–हतार भएको भन्दै कार्यान्वयनका क्रममा समस्या देखिए परिवर्तन गर्न तयार हुनुपर्ने धारणा राख्नुभयो । ‘जे भए पनि हामीले संघीयता ल्याएको हो । यसको कार्यान्वयनका लागि ऐन, कानुन बनाएका छौँ । अहिले नै यो सफल हुँदैन भनेर असफल पार्नेतिर जाने होइन तर व्यावहारिक रूपमा यो असफल नै हुने रैछ भने जति मिहिनेत गरे पनि हुँदैन,’ ओलीले भन्नुभयो, ‘सफल भएन भने परिवर्तन गर्न हामी तयार हुनुपर्छ ।’

ओलीले अहिलेको सरकार कसले चलाउँछ ? भन्ने प्रश्न उठेको बताउनुभयो । प्रधानमन्त्री देउवाकी पत्नी तथा कांग्रेस केन्द्रीय सदस्य आरजू राणा र उहाँका भाइलाई लक्षित गर्दै ओलीले सरकार सरले चलाउनुहुन्छ कि म्याडम ? भन्नेतर्फ आफू नजाने बताउनुभयो । ‘दिदीले चलाउनुहुन्छ कि भाइले, भिनाजुले चलाउनुहुन्छ कि सालाले ? म त्यतातिर जान्नँ,’ ओलीले भन्नुभयो । ओलीले जसले सरकार चलाएको भए पनि संवैधानिक प्रक्रियालाई ध्वस्त पारिएको, भ्रष्टाचार बेलगाम बढेको बताउनुभयो । एमाले अध्यक्ष ओलीले गठबन्धनको यो सरकार निष्प्राण भइसकेकोले अब यसैलाई बोकेर हिँडिरहे समाजमा हैजा फैलाउने टिप्पणी गर्नुभयो ।

संवैधानिक परिषद्सम्बन्धी विधेयक लज्जास्पद
एमाले अध्यक्ष ओलीले संवैधानिक परिषद्सम्बन्धी विधेयकका बारेमा सरकारले प्रतिपक्षलाई थाहा नै नदिई सुटुक्क राष्ट्रियसभाबाट उत्पत्ति गरेको बताउनुभएको छ । उहाँले त्यही विषयमा पहिला विवाद भएर अदालतमा मुद्दा परिरहेका बेला सरकारले सुटुक्क पेश गरेको भन्दै निर्लज्ज काम गरेको धारणा राख्नुभयो । ‘उहाँहरूले मुद्दा फिर्ता लिनुपर्छ, जनतासँग माफी माग्नुपर्छ । हिजो हामीले जानेनछौँ भन्नुपर्छ । अनि हिजो त्यही अस्वीकार गरेको कुरा लिएर जाने ?’ ओलीले प्रश्न गर्दै बौद्धिक जगत्ले यसमा आलोचना गर्न नसकेको बताउनुभयो । ओलीले निजगढ विमानस्थलका बारेमा सोधिएको प्रश्नमा अदालतले गरेको फैसलाको पूर्णपाठ जारी गर्न नसकेको भन्दै अनावश्यक क्षेत्रफल लिनु र वातावरणीय हिसाबले दुष्प्रभाव पर्ने गरी अघि बढ्न नहुने बताउनुभयो ।

प्रधानन्यायाधीशमाथिको महाअभियोग सरकारको निकम्मापन
एमाले अध्यक्ष ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लगाइएको महाअभियोग सरकारको निकम्मापन भएको टिप्पणी पनि गर्नुभयो । सम्पादकहरू सँगको छलफलमा उहाँले भन्नुभयोे, ‘यो महाअभियोग होइन निकम्मापन हो, तिगडम हो । राज्यका अंगलाई कमजोर, निष्प्रभावी बनाउने खेल हो ।’ गठबन्धन सरकारले सर्वोच्च अदालतको गरिमामाथि खेलवाड गरेको पनि उहाँले आरोप लगाउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?