बाढीले डोल्पा दुनैका २४ परिवार विस्थापित, डेढ करोड बराबरको क्षति

हिमालय टाइम्स
Read Time = 2 mins

सुर्खेत । ठूलीभेरी नगरपाालिका-३ डोल्पाका २४ घरधुरी बाढीका कारण विस्थापित भएका छन् । सरमुकाम दुनैस्थित शान्ति टोलमा बाढीपहिरोले २४ परिवार विस्थापित भएका हुन् ।

ठूलीभेरी नगरपालिका-३ शान्तिटोलमा अचानक आएको बाढीपहिरोले नन्नाकुमारी विकको एकतले कच्ची घरलाई पूर्णरूपमा क्षति पुर्‍याएको छ । बाढीले धनबहादुर घर्ती, झुमा विक, उर्मिला विश्वकर्मा, मोतीलाल रोकाया, मानबहादुर रोकायाको घर र खेतबारी बगाएको छ ।

यस्तै कर्णबहादुर रोकाया, मायादेवी बुढा, हस्त विक, पदम रोकाय, तिउली विकको घर र खेतबारी पनि बगेको प्रहरी नायव उपरीक्षक निरञ्जन थापाले जानकारी दिनुभयो । उहाँका अनुसार २४ जनाको घरखेत, अन्नपानी, लत्ताकपडा, सुनचाँदीसमेत गरी झन्डै एक करोड ५० लाख बराबरको क्षति भएको पाइएको प्रहरीले सार्वजनिक गरेको क्षति मूल्यांकन विवरणमा उल्लेख छ ।

सोमबारको प्रतिनिधिसभा बैठकमा सांसद सत्य पहाडीले दुनैमा बाढीका कारण भएको क्षतिबारे जानकारी गराउनुभएको थियो । सदरमुकाम दुनै उच्च जोखिममा भएको भन्दै दुनै बचाउ अभियानमा सरकारले ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।

भेरी नदीको कटानका कारण दुनै बजार जोखिममा पर्दै आएको छ । यो भन्दा अगााडि गरिएको कामसमेत परिणाममुखी नहुँदा समस्या हुँदै आएको सांसद पहाडीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?