नामिबियासँग नेपाल पराजित

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) क्रिकेट सिरिजमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको छ । सोमबार राती भएको खेलमा जितका लागि २२१ रनको लक्ष्य पाएको नेपाल ४६.५ ओभरमा सबै विकेट गुमाएर १८० रनमै समेटियो । नेपालका आरिफ शेखले सर्वाधिक ५० रन जोड्नुभयो । ८४ बलमा उहाँले २ चौका प्रहार गर्नुभयो । आरिफको ओडिआई करिअरको यो चौथो अर्धशतक हो ।

यस्तै नेपालका देव खनालले ६५ बलमा २ चौकासहित ३४ रन जोड्नुभयो । ओपनरद्वय आसिफ शेख १४ र कुशल भुर्तेल २७ रनमा पवेलियन फर्कनुभयो । कुशलले ४६ बलमा २ चौका र १ छक्का प्रहार गर्नुभएको थियो । आसिफले २० बलमा २ चौका प्रहार गर्नुभयो । उपकप्तान रोहित पौडेल शून्यमा रनआउट हुनुभयो । खराब लयबाट गुज्रिरहेका दीपेन्द्रसिंह ऐरी १८औँ ओभरको अन्तिम बलमा ४ रनमा क्याच आउट हुनुभयो । सोमपाल कामी र आदिल अन्सारी १०-१० रनमा आउट हुनुभयो ।

नेपाललाई अन्तिम तीन विकेट बाँकी हुँदा ४२ बलमा ५६ रन आवश्यक थियो । तीव्र गतिका बलर रुबेन ट्रम्पेलम्यानको ४४औँ ओभरको तेस्रो बलमा करण केसीलाई आउट गरेसँगै नेपालको सम्भावना सकिएको थियो । करण ११ बलमा २ चौका र १ छक्कासहित १९ रनमा आउट हुनुभयो । लगत्तै बसिर अहमद ३ रनमा पवेलियन फर्किनुभएको थियो ।

नामिबियाका स्पिनर बेर्नार्ड शोल्टजले १० ओभरमा २७ रन खर्चेर २ तथा डेविड विजाले ६.५ ओभरमा २४ रन खर्चेर २ विकेट लिनुभयो । जान फ्रिलिंकले २ विकेट हात पार्नुभयो । त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको नामिबियाले ४७.३ ओभरमा २२० रन जोडेको थियो । जान निकोल लोफ्टी एटोनले ६९ बलमा ५ चौका र १ छक्कासहित ६० रन जोड्नुभयो ।

ओपनर लो हान्ड्री लरेन्स र डिभान ला ककले पहिलो विकेटका लागि ६.३ ओभरमा ३१ रनको साझेदारी गर्नुभएको थियो । लरेन्स करण केसीको बलमा १८ रनमा कट एन्ड बोल्ड हुनुभयो । उहाँले २३ बलमा ३ चौका प्रहार गर्नुभयो । डिभान ला ककले ३२ बलमा ७ चौकासहित ४१ रन जोड्नुभयो । नामिबियाका प्रमुख ब्याटर क्रेग विलियम्सले ४६ बलमा १ चौकासहित २१ रन जोड्नुभयो । दीपेन्द्रले ३०औँ ओभरको पाँचौँ बलमा कप्तान गेर्हार्ड इरास्मसलाई २२ रनमा आउट गर्नुभये ।

तल्लोक्रमका जेजे स्मित १७ र डेविड विजा १८ रनमा आउट हुनुभयो । नेपालका कप्तान सन्दीप लामिछानेले १० ओभरमा ५४ रन खर्चेर ४ विकेट लिनुभयो । सोमपाल कामीले ७ ओभरमा ४४ रन खर्चेर २ तथा करण केसी, बसिर अहमद र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिनुभयो । नेपालले अब दोस्रो खेल बुधबार स्कटल्यान्डसँग खेल्नेछ ।

यो हारसँगै नेपाल अंकतालिकाको छैटौँ स्थानमा पुगेको छ । नेपाल १७ खेलमा सातमा जित र नौमा हारका साथ १५ अंक जोड्दै छैटौँ स्थानमा पुगेको हो । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारका साथ ४४ अंक जोड्दै शीर्षस्थानमा छ । स्कटल्यान्ड २१ खेलमा १४ मा जित र पाँचमा हारका साथ ३० अंक जोड्दै दोस्रो स्थानमा छ । युएई २२ खेलमा १२ मा जित र आठमा हारसहित २६ अंकका साथ तेस्रो स्थानमा छ ।

अमेरिका २४ खेलमा ११ मा जित र १२ मा हारका साथ २२ अंक जोड्दै चौथो स्थानमा छ । नामिबिया १६ खेलमा आठमा जित र आठमा हारसहित १६ अंकका साथ पाँचौँ स्थानमा उक्लिएको छ । पपुवा न्युगिनी २० खेलमा १ मा जित र १९ मा हारका साथ पुछारमा छ ।

नेपाललाई सिधै विश्वकप ग्लोबल छनोट खेल्न शीर्ष तीनमा पर्नुपर्ने हुन्छ । त्यसबाहेक प्लेअफ खेल्नुपर्ने हुन्छ । प्लेअफबाट ६ टोलीको खेलमा पुनः शीर्ष दुईमा पर्न सके विश्वकप ग्लोबल छनोट खेल्न पाउनेछ । ओडिआई मान्यतालाई निरन्तरता दिन अंकतालिकामा शीर्ष पाँचमा पर्नुपर्ने हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?