३० वर्षदेखि भेडासँगै रमाउँदै वीरबल

हिमालय टाइम्स
Read Time = 10 mins

-डम्मर बुढा मगर

बागलुङ । शिरमा भेडाको ऊनबाट बनेको टोपी । शरीरमा कालो र खैरो रंगको मैलिएका कपडा, खुट्टामा फाटेका चप्पल लगाएका र काँधमा घुम (भेडाको ऊनबाट बनेको पानी छेक्ने कपडा) बोकेका । बागलुङ र पूर्वी रुकुमको सिमाना आसपासमा दैनिकजसो भेटिनुहुन्छ । हँसिलो अनुहार र मिजासिलो स्वभाव । निसीखोला गाउँपालिका–६ का वीरबल घर्ती मगर गोठाले जीवन आनन्दपूर्वक बिताएकोमा सन्तुष्ट हुनुहुन्छ ।

वीरबल प्रायः यस सिजनमा यही पेरिफेरीमै भेटिनुहुन्छ । वीरबल एक्लै होइन, उहाँसँगै सयौँ काला, सेता र खैरा रंगका भेडाहरू पनि भेटिन्छन् । यिनै भेडाको रेखदेख गोठालो गर्नु उहाँको दैनिकी हो । मध्यपहाडी लोकमार्गको रोल्पा, रुकुम र बागलुङको सिमाना पातीहाल्ने भन्दा केही माथितिर पहेँलो त्रिपालले छाएको एउटा गोठ छ । त्यही गोठ छेउमा तीनवटा ठूला–ठूला डरलाग्दा कुकुरहरू पनि छन् ।

उहाँ विहान बेलुकाको खाना यहीँ पकाएर खाने गर्नुहुन्छ भने रात बिताउने पनि यही छाप्रो नै हो । घर्तीले गोठै छेउमा बाँधेर राख्नुभएका तीन वटा कुकुर आफ्नो र भेडाहरूको ‘सुरक्षा गार्ड’ हुन् । भेडा चोरी हुन र वन्यजन्तुबाट जोगाउनका लागि यी कुकुरहरू काफी छन् । यो ठाउँ उच्च पहाडी क्षेत्रमा पर्छ । यो क्षेत्र करिब ३२ सय मिटरको उचाइमा छ ।

उहाँको गोठ रहेको ठाउँ रिगताल क्षेत्रमा पर्छ । गोठ रिगताल क्षेत्रमा भए पनि उहाँ त्योभन्दा निकै माथिल्लो क्षेत्रमा भेडाहरू लिएर जाने गरेको बताउनुहुन्छ । उहाँ सधैँभरि एकै ठाउँ भने बस्नुहुन्न । हिउँदमा औल (भल्कोट) र वर्षातको समयमा लेकतिर बढी बस्नुहुन्छ । यसरी लेकबेसी गर्न थालेको तीन दशक बढी भएको बीरबल बताउनुहुन्छ ।

सानै उमेरदेखि भेडा पाल्दै आउनुभएका वीरबल बुढ्यौली लाग्दै गए पनि उहाँमा त्यो जोश र जाँगर भने उस्तै छ । १४ वर्षको उमेरदेखि भेडापालन गर्दै आउनुभएका उहाँ अहिले ५१ वर्ष पार गरिसक्नु भयो । हात खुट्टा चल्दासम्म र शरीरमा शक्ति हुँदासम्म भेडा नै पाल्ने सोचमा वीरबल हुनुहुन्छ ।

सामान्य लेखपढ गर्नुभएका उहाँले जीवनमा धेरै बाधा अवरोध पार गर्दै यहाँसम्म आइपुगेको बताउनुभयो । अहिले निसीखोलाको रिग, पातीहाल्ने, रोल्पा र रुकुमको सिमाना तिलाचन क्षेत्रमा भेडा चराउने गर्दै आउनुभएको छ । वीरबलका बाउबाजे र त्यस अगाडिका पुस्ताले पनि पशुपालन गर्दै आएका थिए । बाउबाजेले गर्दै आएको पशुपालनलाई आफूले निरन्तरता दिए पनि अहिलेका युवा पुस्ताले पशुपालनमा चासो नदेखाएको वीरबल बताउनुहुन्छ । ‘जिजुबाजेदेखि नै भेडाहरू पाल्दै आएका रैछन्, हामीले पनि त्यही गरियो, जमानाले गर्दा अहिलेका मान्छेले यस्तो गर्दैनन्, म २७ सालको हो, म पछिकाले भेडा पाल्नै छोडे,’ वीरबलले भन्नुभयो ‘अहिले त स्कुल पढ्ने, गाडीहरूमा हिँड्ने, विदेश जाने रे, पहिले हाम्रो पालामा पढिएन, विदेश पनि गइएन, यस्तै भेडाहरू पाल्न लेक–लेक हिँड्ने गरियो ।’

जमाना फेरिँदै गएपछि मान्छेहरूले आफ्नो पेसासमेत फेर्दै आएको उहाँ बताउनुहुन्छ । आफ्नो पालामा पढाई लेखाइको खासै महत्व नभएको सुनाउँदै अहिले विद्यालय नजाने बालबालिका कोही नभएको उहाँको बुझाइ छ । ‘जमानाले गर्दा यस्तो हुँदो रैछ, उतिबेला न पढाइ लेखाइ थियो, न विदेश जानु, के पेसा गर्ने त ? त्यसो हुँदा यस्तै गाई भैँसी भेडाबाख्राको गोठाले भइयो, पढाइ भए पो विदेश जाने, नोकरी खोज्ने । पढाइ लेखाइ नभए गर्ने यही रैछ’ वीरबलले भन्नुभयो ।

आफूले पनि कक्षा ३ पास गरेको स्मरण गर्दै शिक्षाको महत्व नबुझ्दा विद्यालय छोडेको र सानैदेखि भेडापालनमा लागेको उहाँको भनाइ छ । ‘मैले सानैदेखि भेडा चराउन थालेको हुँ । स्कुलमा तीन पढ्दा पढ्दै गाउँको दाइले लौ लाहुरतिर जाऊँ भन्यो, अनि बटौलीतिर गएर केही काम गरियो, १३ महिनामा घर फर्किएँ, फेरि स्कुल गएँ, स्कुल गएर तीन पास गरेँ,’ उहाँले आफ्नो बाल्यकाललाई सम्झिँदै भन्नुभयो ‘त्यसपछि पढाइ छोडेर भेडा गोठाले भएँ, भेडा गोठालो गर्दा गर्दै बिहे गरेँ ।’

वीरबल भेडा चराउँदै गर्दा २०५२ सालको जनयुद्धमा माओवादीको अपहरणमा पनि पर्नुभयो । अपहरणमा परेर फर्किएपछि पनि उहाँले त्यही पेसालाई अँगाल्नुभयो । उहाँलाई कहिल्यै पेसा बदल्ने सोच आएन । ‘२०५२ सालतिर जनयुद्ध भयो, जनयुद्धमा अपहरण गरेर पाँच महिना राखे, त्यहाँबाट छुटेछि पनि फेरि गोठ आएँ र एक डेढ सय भेडा बनाएँ, त्यही बेला भेडामा रोग आयो र सबै मरे र पनि भेडा पाल्ने रहर मरेन, मन मानेन,’ घर्तीले सुनाउनुभयो ।

रोगले सयौ भेडा बाख्रा मरेपछि उहाँले केही समय भेडा पाल्न छोड्नुभयो । वर्षांैदेखि भेडासँगै रमाउँदै आएको त्यो मन कहाँ यत्तिकै बस्न सक्थ्यो र ? घर्तीले केही समय भेडा पाल्न जोडे पनि पुनः ६ वर्ष अगाडिदेखि पुरानै पेसालाई निरन्तरता दिन थाल्नुभयो ।

उहाँले आफूहरूको परम्परागत पेसालाई अहिलेका युवा पुस्ताले बेवास्ता गरेको गुनासो गर्नुहुन्छ । घर्तीले भेँडासँगै लेकबेंसी गरेर जीविका चलाउँदै आएको भन्दै अहिलेका पुस्ताले आफ्नो परम्परागत पेसा व्यवसायमाथि घृणा गर्न थालेको बताउनुहुन्छ । ‘अहिलेका त स्कुल पढ्ने रे, स्कुल पढेर नोकरी खोज्ने रे, विदेश जाने रे, शहर बजारमा बस्ने रे, हाम्ले भेडा बाख्रा पाल्दा त किन पाल्छौँ, यस्तो जंगलमा हिँड्ने होइन, मैलो भएर यस्तो फाटेको लुगा लाएर, हिँड्ने होइन,’ वीरबलले भन्नुभयो ।

उहाँले विकासले गर्दा परम्परागत कुराहरू धेरै लोप हुँदै गएको र भेडापालन पनि विस्तारै हट्दै जान थालेको बताउनुभयो । अहिले गाउँका युवाहरू विदशे जाने र शहर बजारमा बस्ने गर्दा पुराना परम्परागत पेसा व्यवसाय पनि हराउँदै गएको उहाँको भनाइ छ । अहिलेका युवाहरूमा गाउँमा व्यवसाय गर्न भन्दा विदेश जान तयार हुने भन्दै गाउँका खेतबारीसमेत बाँझिन थालेको उहाँको गुनासो छ । ‘हामीलाई त सानोमा कति दुःख थियो, बाउबाजे नुन बोक्न बटौली जान्थे रे, तम्घास, चोरकाटे, फेदीसम्म त म पनि पुगे, उतिबेला ६ रुप्पे पाथी थियो नुन, उतिबेला तलतल गएर मकै कोदो खोजेर, ल्याएर खानुपथ्र्यो,’ उहाँले भन्नुभयो ‘अहिले त कसौडीको ढकनी उगारेर हेर्छन्, आँटो देखे खाँदैनन्, उनीहरू त भात नै खाने रे ।’

घर्तीका तीन भाइ छोरा छन् । उनीहरू बजारतिर रहेको उहाँको भनाइ छ । घर परिवार यही व्यवसायबाट नै चल्दै आएको उहाँ बताउनुहुन्छ । उहाँले भेडा बेचेर वार्षिक आठ/दश लाख कमाउन सकिने बताउनुहुन्छ । ‘भेडाहरू पाल्दा फाइदा छ, तर बढी दुःख हुन्छ, बर्खामा यी यसरी लेक लेकमा बस्नुपर्छ, हिउँदमा पनि डाला काटेर हाल्नुपर्छ,’ अरू केही गर्न सकिएन,’ उहाँले भन्नुभयो ‘मेरो त यही भेडासँगै लेकबेंसी गर्दै जीवन बित्न थाल्यो, छोराहरू तीन भाइ छन्, पोखरातिर छन्, अब उनीहरू आएर यसरी मैले जस्तो भेडा पाल्दैनन्, उनीहरूलाई त शहर बजार नै राम्रो लाग्छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?