सौराहामा पाँचतारे रिसोर्ट निर्माण गर्दै केटिएम

Read Time = 4 mins

काठमाडौं । पर्यटकीय नगरी चितवनको सौराहामा पाँचतारे लक्जरी रिसोर्ट ‘रोयल टुलिप’ सञ्चालनमा आउने भएको छ । हस्पिटालिटी व्यवसायमा विश्व बजारमा सफलता हासिल गरिरहेको फ्रान्सेली ‘लुभ्र होटल्स’ गु्रपसँगको ब्रान्ड सहकार्यमा रिसोर्ट सञ्चालनमा आउने भएको हो । काठमाडांैमा आयोजित एक समारोहबीच परराष्ट्रमन्त्री डा. नारायण खड्काको उपस्थितिमा केटिएम हस्पिटालिटीका अध्यक्ष रामेश्वर शाह र लुभ्र होटल्स इन्डियाका निर्देशक अजय बकायाले ब्रान्ड सम्झौतामा हस्ताक्षर गर्नुभयो ।

केटिएम हस्पिटालिटीका अध्यक्ष शाहले पर्यटन क्षेत्र सदैव नेपालीको अर्थतन्त्रको बलियो खम्बा कोरोनाले थला पारेको अवस्थामा गुणस्तरीय सेवामार्फत् पर्यटक आकर्षित गरी देशको अर्थतन्त्रमा गहकिलो योगदान दिने विश्वासका साथ रिसोर्ट सञ्चालनमा ल्याउन लागिएको बताउनुभयो । लुभ्र होटल्सका निर्देशक बकायाले नेपाल पर्यटकीय गन्तव्यको ‘हटस्पट’ का रूपमा अघि बढिरहेकाले भारतीयलगायत विश्वभरबाट आउने पर्यटकलाई आरामदायी र भरपर्दो सेवा दिने बताउनुभयो । परराष्ट्रमन्त्री डा. खड्काले पर्यटनको ‘हब’ नेपालमा विश्वस्तरको अनुभव सँगालेको ब्रान्ड भित्रिनु गौरवको विषय भएको बताउनुभयो ।

युरोपकै दोस्रो ठूलो तथा विश्व बजारमा ११ विभिन्न ब्रान्डसहित उपस्थित रहेको लुभ्र होटल्स ग्रुपको लक्जरी पाँचतारे होटल ब्रान्ड ‘रोयल टुलिप’ ले कोरोना महामारीबीच शिलान्यास भई निर्माण सुरु भएको ६४ कोठासहितको रिसोर्टको सम्पूर्ण व्यवस्थापन सम्हाल्नेछ । २०७७ मंसिर १५ मा तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराई र श्रममन्त्री रामेश्वर राय यादवले संयुक्तरूपमा शिलान्यास गर्नुभएको रिसोर्टलाई सुरुमा अत्याधुनिक सुविधासम्पन्न बुटिक रिसोर्ट ‘दि फरेस्ट फ्रन्ट’ का नामबाट सञ्चालनमा ल्याउने तयारी गरिएको थियो । करिब ३४ रोपनीमा बनाइएका २२ भवनमा विविध सुविधासहितका कोठा रहने रिसोर्टमा आगन्तुक पाहुनाले डुंगा सयर, जल महलको बास, स्विमिङ पुल, हेल्थ क्लब, स्पा, चिल्ड्रेन पार्क, एमपी थियटर, पदयात्रा मार्ग, आफ्नै बेकरीसहितको ग्रिल बार र रेस्टुरेन्टलगायतका सेवा पाउने रिसोर्ट सञ्चालकले जनाएका छन् ।

नेपाली संस्कृति झल्किने स्थानीय र मौलिक सामग्री प्रयोग गरी निर्माण भइरहेकोे रिसोर्टको लागत ८५ करोड अनुमान गरिएको छ । रिसोर्ट विक्रम संवत् २०८० को दशैंताका सञ्चालनमा ल्याउने तयारी रहेको केटिएम हस्पिटालिटी प्रालिका अध्यक्ष रामेश्वर शाहले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?