जिम्बाबे र नेदरल्यान्ड्स विश्वकपमा छनोट     

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । जिम्बाबे र नेदरल्यान्ड्स टी-२० विश्वकपमा छनोट भएका छन् । आगामी अक्टोबर–नोभेम्बरमा अस्ट्रेलियामा हुने उक्त विश्वकपका लागि दुवै देश छनोट भएका हुन् । जारी आइसिसी विश्वकप छनोटको फाइलनमा पुग्दै दुवै देशले विश्वकपमा स्थान बनाएका हुन् । विश्वकप छनोट ‘बी’ मा नेदरल्यान्ड्सले सेमिफाइनलमा अमेरिकालाई ७ विकेटले हराउँदै फाइनलमा स्थान बनायो । यस्तै जिम्बाबेले पपुवा न्युगिनीलाई २७ रनले हराउँदै फाइनलमा स्थान सुरक्षित गर्‍यो ।

पहिलो सेमिफाइनलमा घरेलु टोली जिम्बाबेले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९९ रन बनाएको थियो । जिम्बाबेका विल्सी मधेभेरेले २९ बलमा ५ चौकासहित ४२ रन बनाउनुभयो । यस्तै क्रेग एर्विनले ३० बलमा ४ चौका र १ छक्कासहित ३८ र रेजिस चकभाले ३० रन थप्नुभयो । पिएनजीका सेसे बाउ र चाल्र्स अमिनीले २-२ विकेट हात पार्नुभयो । २ सय रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७२ रनमात्रै बनाउन सक्यो । पिएनजीका टोनी उराले ३५ बलमा ४ चौका र ५ छक्कासहित ६६ रनको अर्धशतकीय पारी खेल्नुभए पनि टोलीका लागि जित दिलाउन सक्नुभएन । उहाँले २२ बलमै अर्धशतक प्रहार गर्नुभएको थियो ।

त्यसबाहेक पिएनजीका चाल्र्स अमिनी ३१, असाद भाला ७, सेसे बाउ ५ र राइली हेकुरे १७ रनमा आउट हुनुभयो । जिम्बाबेका ब्लेसिङ मुर्जाबानीले सर्वाधिक दुई विकेट लिनुभएको थियो । दोस्रो सेमिफाइनलमा १३९ रनको विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १९ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गरेर विश्वकपमा जित सुनिश्चित ग¥यो । नेदरल्यान्ड्सका बास डी लिडेले ६७ बलमा ९ चौका र ३ छक्कासहित ९१ रनको पारी खेल्दै टोलीको जित निश्चित पार्नुभएको थियो । कप्तान स्कट एडवार्ड २६ र म्याक्स ओडआउड १६ रनमा आउट हुनुभयो ।

त्यसअघि बुआयोमा टस जितेर पहिला ब्याटिङ थालेको अमेरिका १९.४ ओभरमा १३८ रनमै अलआउट भएको थियो । उसका मोनाकं पटेलले १५ बलमा ५ चौका र १ छक्कासहित ३२ रन जोड्नुभयो । स्टिभ टेलर २६ र निसर्ग पटेल २८ रनमा आउट हुनुभयो । नेदरल्यान्ड्सका बास डी लिडे र पउल मान मिकरेनले २-२ विकेट लिनुभयो ।

न्युजिल्यान्डको रोमाञ्चक जित

यस्तै अर्को खेलमा न्युजिल्यान्डले आयरल्यान्डमाथि एक रनको रोमाञ्चक जित हात पारेको छ । हृयारी टेक्टर र अनुभवी खेलाडी पउल स्टर्लिङले शतक प्रहार गर्नुभएपछि तेस्रो ओडिआई खेलमा न्युजिल्यान्डसँग आयरल्यान्ड एक रनले पराजित भएको हो । जितका लागि ३६१ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३५९ रन बनाएको थियो । आयरल्यान्डलाई अन्तिम ६ बलमा १० रन चाहिए पनि उक्त स्कोर बटुल्न नसक्दा हार बेहोर्नुप¥यो ।

आयरल्यान्डका पल स्टर्लिङले १०३ बलमा १४ चौका र ५ छक्कासहित १२० रनको शतकीय इनिङ्स खेल्नुभयो । यस्तै हृयारी टेक्टरले १०६ बलमा ७ चौका र ५ छक्कासहित १०८ रन जोड्नुभयो । स्टर्लिङ र टेक्टरले तेस्रो विकेटका लागि १५० बलमा १७९ रनको शतकीय साझेदारी गर्नुभए पनि जितका लागि भने त्यो पर्याप्त भएन । त्यसबाहेक आयरल्यान्डका जर्ज डोकरेल र ग्यारेथ डेलानीले २२-२२ रन थप्नुभयो । न्युजिल्यान्डका म्याट हेनरीले १० ओभरमा ६८ रन खर्चेर ४ विकेट तथा मिचेल सान्टनरले १० ओभरमा ७१ रन खर्चेर ३ विकेट लिनुभयो ।

त्यसअघि डब्लिनमा टस जितेर पहिला ब्याटिङ थालेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३६० रन बनाएको थियो । न्युजिल्यान्डका मार्टिन गुप्टिलले १२६ बलमा १५ चौका र २ छक्कासहित ११५ रनको शतकीय इनिङ्स खेल्नुभयो । हेनरी निकोल्सले ५४ बलमा ७ चौका र ३ छक्कासहित ७९, ग्लेन फिलिप्सले ३० बलमा ५ चौका र २ छक्कासहित ४७ रन, फिन एलेन ३३ र कप्तान टम लाथमले ३० रन जोड्नुभयो । आयरल्यान्डका जोश लिटिलले सर्वाधिक दुई विकेट लिनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?