अब जडीबुटीको पनि बिमा हुने

Read Time = 5 mins

काठमाडौं । बिमा समितिले कृषि, पशुपन्छी तथा जडीबुटी बिमा निर्देशिका, २०७९ जारी गरेको छ । सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा जडीबुटी खेतीको बिमा गर्ने व्यवस्थाअनुसार समितिले जडीबुटी बिमासमेत समावेश गरी कृषि, पशुपन्छी तथा जडीबुटी बिमा निर्देशिका, २०७९ जारी गरेको हो ।

निर्देशिका साउन १ गतेदेखि लागू हुनेछ । निर्देशिकामा बिमा कम्पनीले तोकिएका जिल्लामा कृषि, पशुपन्छी तथा जडीबुटीको बिमा व्यवसाय गर्नुपर्ने, जिल्लास्थित कृषि ज्ञानकेन्द्र वा कृषि तथा पशु सेवा कार्यालयनजिकको स्थानमा बिमकले शाखा कार्यालय खोल्नुपर्ने, बिमक आफैँले तयार गरी समितिको स्वीकृतिमा जारी गरेको बिमालेखको हकमा अनुदान प्राप्त नहुने, बिमकले अनुदान प्राप्त नहुने बिमालेखको हकमा छोटो अवधिका लागि बिमालेख जारी गर्न सक्ने र कृषि, पशुपन्छी तथा जडीबुटी बिमा सामूहिकरूपमा गर्न सकिने व्यवस्था गरिएको छ ।

त्यस्तै पशुपन्छी बिमालेखमा उल्लेख भएको हकमा बिमालेखबमोजिम र अन्यको हकमा बजार मूल्य, बिजक मूल्य र स्थानीय चलनचल्तीको मूल्यलाई आधार लिई सहमतिका आधारमा बिमांक कायम गर्नुपर्ने, कृषि तथा जडीबुटी बिमालेखमा उल्लेख भएको हकमा बिमालेखबमोजिम र अन्यको हकमा नेपाल सरकार वा प्रदेश सरकारको विषयगत कार्यालय वा कृषि तथा पशुपन्छी विकास मन्त्रालय वा सम्बन्धित उत्पादक संघ, संस्था वा बोर्डले उपलब्ध गराएको लागत अनुमानका आधारमा बिमांक कायम गरिने निर्देशिकामा उल्लेख छ ।

त्यसैगरी बालीहरूको लागतका आधारमा बिमांक रकम कायम गर्दा मुलुकका सातै प्रदेशका भौगोलिक क्षेत्रमा लगाइने बालीको खेती गर्दा लाग्ने लागत खर्च तथा उत्पादित वस्तुको मूल्य बिमा समितिद्वारा तयार नहुन्जेल कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको लागत अनुमानका आधारमा बिमांक कायम गर्नुपर्ने, बिमा अभिकर्ताको प्रयोग नगरी सिधै बिमालेख बिक्री (प्रत्यक्ष बिमा) गरिएको अवस्थामा कुल बिमा शुल्क गणनापछि पाँच प्रतिशतका दरले हुन आउने रकम छुट प्रदान गर्नुपर्ने र बिमकले आफूलाई तोकिएको जिल्लामा आफूलाई प्राप्त कृषि, पशुपन्छी तथा जडीबुटी बिमाको प्रस्ताव अस्वीकार गर्न नपाउने व्यवस्था गरिएको छ ।

कृषि, पशुपन्छी तथा जडीबुटी बिमा दाबीअन्तर्गत दुर्घटना बिमाबाहेक कृषि, पशुपन्छी तथा जडीबुटी बिमा दाबीको पाँच लाख रुपैयाँसम्मको क्षतिको मूल्यांकन बिमक आफैँले र सोभन्दा बढीको मूल्यांकन क्षति मूल्यांकनकर्ताबाट र सोहीअन्तर्गतको कृषि, पशुपन्छी तथा जडीबुटी बिमाबाहेक अन्य भौतिक सम्पत्तिको पाँच लाखसम्मको क्षतिको मूल्यांकन बिमक आफैंले र सोभन्दा बढीको मूल्यांकन बिमा सर्भेयरबाट गराउनुपर्ने, वास्तविक मूल्यभन्दा बढी रकमको बिमांक कायम गरी बिमा गराएमा रद्द हुने, प्राविधिकका रूपमा कार्य गर्ने व्यक्ति तथा संस्थाले कृषि, पशुपन्छी तथा जडीबुटी बिमा अभिकर्ता भई काम गर्न पाउने व्यवस्था रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?