गुल्मीका कृषकलाई बजारीकरणको समस्या

हिमालय टाइम्स
Read Time = 5 mins

-रमेश विश्वकर्मा

गुल्मी । गुल्मीका कृषकहरूले बजारीकरणको समस्या भएको बताएका छन् । सदरमुकाम तम्घासमा कृषि ज्ञान केन्द्र गुल्मीको आयोजनामा कृषि उपजको उत्पादनमा आधारित अनुदान र बजार व्यवस्थापनसम्बन्धी गोष्ठीमा उनीहरूले यस्तो गुनासो गरेका हुन् । सहभागी अधिकांश कृषकहरूले खुला सिमानाको कारणले पनि बजारको निकै समस्या भएको बताएका छन् । उत्पादन गरिएका वस्तु बिक्री गर्न पनि निकै समस्या भएको उनीहरूको गुनासो छ ।

छत्रकोट गाउँपालिका–६ का कृषक चिरञ्जीवि पन्थले उत्पादन गरिएका वस्तु बिक्री गर्न निकै समस्या भएको गुनासो गर्नुभयो । उहाँ भन्नुहुन्छ, ‘किसानका व्यथा कसले बुझ्ने । उत्पादन भए पनि विक्री नहुँदा हामीहरू अत्यन्तै चिन्तित छौँ । त्यस्तै, हामीलाई प्राविधिक ज्ञान पनि आवश्यक छ ।’ उहाँले सरकारले उत्पादनको आधारमा अनुदान दिनुपर्नेसमेत माग गर्नुभएको छ । वास्तविक किसानले अनुदान नपाएको उहाँको भनाइ छ । कृषकले उत्पादन गरेका कृषि उपजको निश्चित मूल्य निर्धारण नहुँदा समस्या भएको पन्थ बताउनुहुन्छ ।

त्यस अवसरमा, कृषि ज्ञान केन्द्रले १६ जना नमुना उद्यमी कृषकहरूलाई जिल्लाका १२ वटै पालिकाका प्रमुखहरूको सहभागितामा दोसल्ला र सम्मान पत्रद्वारा सम्मान गरेको थियो । कृषि ज्ञान केन्द्र गुल्मीका कार्यालय प्रमुख नवराज भण्डारीका अनुसार सत्यवती गाउँपालिका–४ का प्रेम शाही, चन्द्रकोट गाउँपालिका–४ का उत्तम खत्री, मुसिकोट नगरपालिका–८ का चुमा घर्ति मगर, इस्मा गाउँपालिका–३ का गोकर्ण नेपाली, इस्मा गाउँपालिका–४ का ओम कुँवर, मदाने गाउँपालिका–३ का शोभबहादुर घर्ती, मुसिकोट नगरपालिका–५ का मनोज पाण्डे र सरोज बेल्वासे सम्मानित हुनुभएको हो ।

त्यस्तै, रेसुंगा नगरपालिका–१० का विनोद कुँवर, रेसुंगा नगरपालिका–६ का प्रेम नेपाली, छत्रकोट गाउँपालिका– १ का दानबहादुर पल्ली र भुवन खराल, छत्रकोट–४ दिगामका चिरञ्जीवि पन्थ, रुरु क्षेत्र गाउँपालिका–४ का कुलचन्द्र ज्ञवाली, रुरुक्षेत्र गाउँपालिका–५ का सञ्जय ज्ञवाली, रेसुंगा नगरपालिका–८ की कमला भलामी सम्मानित हुनुभएको हो ।

युवा उद्यमी तथा नव उद्यमी, रोजगार सृजना, यान्त्रीकृत, नवीनतम सोच, बजार योजना, आम्दानी मर्यादित पेसाको त्यस अवसरमा, कृषि ज्ञान केन्द्रले १६ जना रूपमा रूपान्तरण, स्थानीय तहबाट पुरस्कृत तथा कृषक पेन्सनमा परे, नपरेका सूचकहरूको आधारमा कृषकहरूलाई छनोट गरी सम्मान गरिएको कार्यालय प्रमुख भण्डारीले जानकारी दिनुभयो ।

जिल्ला समन्व्य समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले आयतलाई प्रतिस्थापन गर्ने गरी उत्पादनलाई बढाउन लाग्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले बजेटको धेरै अंश आयतमै बाहिर गइरहेको उल्लेख गर्दै गुणस्तरीय वस्तु उत्पादन गरी कृषकहरूको जीवनस्तर माथि उकास्नुपर्ने बताउनुभयो । त्यस्तै, रेसुंगा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थीले सम्मुनतिको आधार नै कृषि र पर्यटन भएको बताउनुभयो । उहाँले आवश्यकताको आधारमा कृषकहरूको क्षमताअनुसार बिना धितो, बिना ब्याज ऋण उपलब्ध गराउन पनि स्थानीय तह लाग्नुपर्ने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?