गलेश्वरमा बिहानैदेखि भक्तजनको भीड : चितवनबाट मात्रै ५ सय बढी भक्तजन

Read Time = 4 mins

-ध्रुवसागर शर्मा
म्याग्दी । आज साउन महिनाको पहिलो सोमवार । पश्चिम नेपालको पशुपतिनाथका नामले चिनिने म्याग्दीको बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
साउन महिना भगवान शिवको प्रिय महिना र सोमबार प्रिय बार मानिन्छ । पहिलो सोमबार भगवान शिवको पूजा आराधना गर्नका लागि चितवन, काठमाण्डौं, पोखरा, नवलपरासी, पर्वत, बागलुङ, म्याग्दी लगायतका ठाउँहरुबाट भक्तजनाहरु आएका गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।
मुक्तिनाथ प्रवेशद्धारको रुपमा रहेको गलेश्वर धाममा आज बिहानैदेखि पूजाआजाको विशेष प्रवन्ध मिलाइएको गलेश्वर शिवालय क्षेत्रविकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए ।
गलेश्वरमा साउन महिनाको सोमबार, शिवरात्री, बालाचर्तुदशीमा विशेष मेला लाग्ने गर्छ । गलेश्वरको दर्शन र पूजाआजा गरेमा मनोकाक्षा पुरा हुने जनविश्वास छ ।
साउने सोमबार बिहानै स्नान गरी शिवालयमा दर्शन गरेमा मनोकांक्षा पुरा हुने विश्वास रहेको छ । गलेश्वरधाम शिवालय मन्दिरमा दर्शन गर्ने महिला तथा युवायुवतीको संख्या बढी छ । साउन महिनामा शिवालय मन्दिरमा गङ्गाजल र बेलपत्रले पुजा गरेमा भगवान शिव खुशी भई मनोकांषा पुरा गरिदिने जनविश्वास रहेको कारण साउन महिनाभरी गलेश्वरमा श्रद्धालुको घुइँचो लाग्ने गर्छ ।
कालीगण्डकी नदीको किनारमा ९ रोपनी चट्टानमाथि रहेको गलेश्वर मन्दिरमा शिवको पुजा गर्न आउने भक्तजनलाई ब्यवस्थित रुपमा पुजा गराउन गलेश्वर क्षेत्र विकास कोष, प्रहरी, गलेश्वर आमा समुह, लगायतले स्वयमसेवकको भूमिका निर्वाह गरेको छन् ।
एउटै चट्टानमाथि अवस्थित गलेश्वरलाई विश्वर्क अलौकिक धार्मिक स्थल भन्ने गरिन्छ । हिन्दु तथा वौद्ध धर्मवालम्बीहरुको साझा तिर्थस्थल मुक्तिनाथ प्रवेशद्धारका रुपमा परिचित गलेश्वरलाई पछिल्लो समय पश्चिमको पशुपतिनाथ समेत भन्न थालिएको छ ।
गलेश्वरका साथै म्याग्दीका अन्य शिवालयहरुमा पनि आज बिहानैदेखि भक्तजनाको बाख्लो भीड लगोको छ । बेनी शिवालय, बाबियाचौर, अर्मनको कैलाशफाट, दरवाङ लगायत ठाउँमा रहेको शिवालयहरुमा साउनको पहिलो सोमबार आज पूजाआजा गर्ने भक्तजनको भीड लागेको स्थानीयले बताएका छन् ।
गलेश्वर क्षेत्र बिकास कोषका अध्यक्ष रेग्मीले काठमाडौं, चितवन, कास्की, पर्वत, बागलुङका साथै म्याग्दीको ग्रामिण क्षेत्रबाट भक्तजन आएको बताए । मन्दिर प्रवेशमा मास्क अनिवार्य बनाइएको छ।
पुजा व्यवस्थापनका लागि सुरक्षाकर्मी र स्वमसेवकहरु परिचालन भएका छन् । बेनीको खुल्ला मञ्च नजिकैको शिवालय मन्दिरमा पनि विहानैदेखि पुजाआजा गर्न आएका भक्तजनको चहलपहल भएको शिवालय मन्दिर संरक्षण समितिकासुन्दर केसीले जानकारी दिनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?