रुविभ्याली र गजुरी गाउँपालिकाका १२ स्वास्थ्य केन्द्र बन्द

हिमालय टाइम्स
Read Time = 3 mins

-बाबुराम श्रेष्ठ

धादिङ । धादिङको रुविभ्याली र गजुरी गाउँपालिकाका १२ स्वास्थ्य केन्द्र बन्द भएको छ । गजुरी गाउँपालिका र रुविभ्याली गाउँपालिकाले करारका स्वास्थ्यकर्मीहरू हटाएपछि स्वास्थ्य सेवा बन्द भएको हो । करारका स्वास्थ्यकर्मी मात्र भएको स्वास्थ्य चौकीमा सेवासमेत रोकिएको छ ।

धादिङको रुविभ्याली गाउँपालिकामा आठ स्वास्थ्यसंस्था असार २० गतेदेखि नै बन्द भएका छन् । धादिङ आधारभूत स्वास्थ्य सेवा केन्द्र, लाप्साङ्कर्पो आधारभूत स्वास्थ्य सेवा केन्द्र, कपुरगाउँ सामुदायिक स्वास्थ्य इकाइ, तीनचेत सामुदायिक स्वास्थ्य इकाइ, कुप्चेत सामुदायिक स्वास्थ्य इकाइ, नेवेर सामुदायिक स्वास्थ्य इकाइ, सेर्तुङ हेल्थपोष्ट बन्द भएको छ । स्वास्थ्य संस्थाहरू बन्द हुँदा विकटको गाउँपालिका भएकाले बढी समस्या देखिएको छ ।

सुत्केरी गराउन आउनेदेखि स्वास्थ्य परीक्षण गरी औषधि लिन आउने बिरामीले समस्या भोगेका करार सेवाबाट हट्नुभएका अहेब नीरबहादुर तामाङले बताउनुभयो ।

गाउँपालिकाले असार १६ गते सूचना प्रकाशित गरी हेल्थ असिस्टेन्ट तीनजना, अहेब आठजना, अनमी नौ जनासमेत गरी २९ जना स्वास्थ्यकर्मी माग गरेको प्रमुख प्रशासकीय अधिकृत ध्रुवकुमार राईले बताउनुभयो । गजुरी गाउँपालिकामा असार ३० गते २० जना स्वास्थ्य सेवाका स्वास्थ्यकर्मी करारमा माग गरिएको छ । गजुरी गाउँपालिकामा पाँचवटा स्वास्थ्य सेवा केन्द्रमा करारका कर्मचारी निकालिएपछि स्वास्थ्यकर्मीविहीन भएको छ ।

गजुरी गाउँपालिका वडा नम्बर २, ३, ४, ६ र ७ को आधारभूत स्वास्थ्य सेवा केन्द्रका स्वास्थ्यकर्मीविहीन भएको र पुरानालाई अर्को नआउँदासम्म ज्यालामा काम गर्न अनुरोध गरिएको गजुरी गाउँपालिका स्वास्थ्य शाखाका सुन्दर श्रेष्ठले बताउनुभयो । करारमा राखिएका सबै स्वास्थ्यकर्मी हटाउँदा ४ नम्बर वडा कार्यालयसमेत स्वास्थ्यकर्मीविहीन भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?