अन्तःशुल्क, भन्सार, आयकर र मूल्य अभिवृद्धि करसम्बन्धी नियमावली संशोधन

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । सरकारले अन्तःशुल्क, भन्सार, आयकर र मूल्य अभिवृद्धि करसम्बन्धी नियमावलीमा संशोधन गरेको छ । सोमबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मूल्य अभिवृद्धि कर (चौबीसौँ संशोधन), नियमावली २०७९, अन्तःशुल्क (तेइसौँ संशोधन) नियमावली, २०७९, भन्सार (तेह्रौं संशोधन) नियमावली, २०७९ र आयकर (तेह्रौं संशोधन) नियमावली, २०७९ स्वीकृत गरेको जानकारी दिनुभयो ।

मन्त्रिपरिषद् बैठक आइतबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको थियो । यसैगरी, बैठकले सुरक्षा मुद्रण विकास समिति (गठन) (तेस्रो संशोधन) आदेश, २०७९ को दफा ६ को उपदफा (३क) बमोजिम सुरक्षा मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलको पदावधि एकपटकको लागि थप गरेको छ ।

यस्तै, सरकारले प्रधानसेनापति प्रभुराम शर्मालाई विदेश भ्रमणका लागि स्वीकृति प्रदान गरेको छ । बैठकले प्रधानसेनापतिको विदेश भ्रमणलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कार्कीले जानकारी दिनुभयो । प्रधानसेनापति नेतृत्वको टोली युनफिल्ड लेबनान, युएनडफ सिरिया तथा अमेरिकाको भ्रमणमा जाँदै छ । त्यसका लागि सरकारले अनुमति प्रदान गरेको हो । बैठकले बेल्जियमको राजधानी ब्रसेल्समा जेठ १८ र १९ गते आयोजना हुने ग्लोबल समिट २०२२ टर्निङ द टाइड चाइल्ड सेक्सुअल अभ्युज अनलाइन कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य सोलनी सिंहलाई सहभागी हुन पनि स्वीकृत प्रदान गरेको छ ।

सरकारले नेपाल बैंक लिमिटेडको स्वामित्वमा सुर्खेत जिल्लामा रहेको जग्गा नेपाल राष्ट्र बैंकलाई लिजमा दिन स्वीकृत दिने, गणतन्त्र दिवस २०७९ को अवसरमा उपमाकान्त पराजुलीसमेत १६ जना व्यक्तिहरूको सजाय माफी गर्न सम्माननीय राष्ट्रपतिज्यूसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । यस्तै, बैठकले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी समितिको सदस्यमा प्रकाशबहादुर श्रेष्ठलाई मनोनयन गर्ने निर्णय गरेको छ । बैठकले परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथलीमा पदाधिकार रहनुभएका प्रमुख कन्सलटेण्ट अब्स्ट्रेटिक्स एण्ड गाइनोलोजिष्ट डा. जागेश्वर शर्मा गौतमले दिनुभएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ ।

बैठकले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी समितिको सदस्यमा श्री प्रकाशबहादुर श्रेष्ठलाई मनोनयन गरेको छ । यस्तै, बैठकले लोकसेवा आयोगको सिफारिसबमोजिम निजामती सेवाको राजपत्रांकित प्रथम श्रेणीको पदमा नियुक्ति तथा पदस्थापना गर्ने निर्णय गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?