चित्रकार रामकुमार भौकाजीको निधन

Read Time = 2 mins

काठमाडौं । चित्रकार रामकुमार भौकाजीको निधन भएको छ । उहाँको ७१ वर्षको उमेरमा बिहीबार बिहान ५ः३० बजे बानेश्वरस्थित निवासमा निधन भएको हो । केही समयदेखि प्रोष्टेट अर्बुद (क्यान्सर) रोगबाट ग्रसित भौकाजीको निधनमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले बिहीबार शोक वक्तव्य जारी गर्दै दुःख व्यक्त गरेको छ ।

रामेछाप साँघुटारमा जन्मिनुभएका भौकाजीले सोभियत कला एकेडेमी मास्कोबाट आधुनिक र अत्याधुनिक नेपाली चित्रकला विधामा विधावारिधि गर्नुभएको थियो । चित्रकार एवं कला समीक्षक रमेश खनालका अनुसार ललितकला क्षेत्रमा पिएचडी गर्ने भौकाजी पहिलो कलाकार हुनुहुन्थ्यो । उहाँले ‘मेरो नेपाल’ शीर्षकमा नेपालको संस्कृति, लोकजीवन, परम्परा र परिवेशका चित्रहरू कोरी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउनुभएको थियो ।

जीर्णोद्वार कलामा समेत तालिम प्राप्त भौकाजीले नेपालमा भूकम्पपछि क्षतिग्रस्त वसन्तपुर दरबार, पशुपति, टोखा चण्डेश्वरीलगायत सम्पदाको स्थलगत चित्र तयार गरी सार्वजनिक गर्नुभएको थियो ।

भौकाजीद्वारा लिखित ‘जुद्धकला पाठशाला,’ ‘स्रष्टा कुलमान सिंह भण्डारी’, ‘नेपाली कलाकारका समस्या’ पुस्तक तथा थुप्रै कला, संस्कृतिसम्बन्धी लेख रचनाहरू प्रकाशित छन् । उहाँको बिहीबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?