बिपी कोइरालाई राष्ट्रिय पुरस्कार समर्पण

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । बिपी कोइरालाई राष्ट्रिय पुरस्कार-२०७८ समर्पण गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार एक कार्यक्रमबीच बिपी कोइरालाई राष्ट्रिय पुरस्कार समर्पण गरिएको हो । सो अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले जननायक बिपी कोइरालाले मुलुकको राजनीतिक परिवर्तन र नेपाली भाषा साहित्यको श्रीवृद्धिमा पुर्‍याएको अतुलनीय योगदानको कदर गर्दै राज्यबाट गरिएको सम्मानले स्रष्टा र सर्जकलाई थप हौसला प्रदान हुने उल्लेख गर्नुभयो ।

नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व एवं राजनीतिक संघर्षका प्रेरक जननायक बिपी कोइरालाको स्मृतिमा नेपाल सरकारद्वारा स्थापित बिपी कोइराला राष्ट्रिय पुरस्कार प्राप्त गर्नुहुने स्रष्टालाई सम्मान गर्न पाउँदा आफूलाई खुसी लागेको बताउँदै उहाँले उक्त पुरस्कारबाट विभिन्न विधा र क्षेत्रमा पुरस्कृत हुने संस्था एवं सर्जकलाई बधाई ज्ञापन गर्नुभयो ।

कार्यक्रममा पर्यटनमन्त्री जीवनराम श्रेष्ठले नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष जननायक बिपी कोइराला एक आदर्श व्यक्तित्व भएको बताउनुभयो । नेपालको राजनीतिक, ऐतिहासिक, सामाजिक र साहित्य क्षेत्रमा अतुलनीय योगदान पुर्‍याउनुभएका बिपीको स्मरण गर्नु राज्यको दायित्व भएकाले सोहीअनुरूप उहाँको सम्मानमा पुरस्कार प्रदान गरिएको मन्त्री श्रेष्ठले बताउनुभयो
पर्यटन मन्त्रालयले विसं २०७८ को बिपी कोइराला राष्ट्रिय पुरस्कारबाट तीन स्रष्टा र एक संस्थालाई पुरस्कृत गरेको छ । राजनीतिक दर्शन विधातर्फ कोइरालाको विचारबारे खोज तथा अनुसन्धानमा सक्रिय सुन्दरीजलस्थित बिपी संग्रहालय तथा राजनीतिक विधातर्फ बिपी कोइरालाको नजिक रहेर उहाँका साहित्य र राजनीतिक रचनाहरूको प्रकाशन व्यवस्थापनमा भूमिका खेलेका पुरुषोत्तम बस्नेतलाई संयुक्त रूपमा प्रदान गरिएको छ ।

यस्तै, साहित्य विधातर्फ यस वर्षको बिपी कोइराला राष्ट्रिय पुरस्कार संयुक्त रूपमा साहित्यकारद्वय डा. विष्णुविभु घिमिरे र डा. ध्रुवचन्द्र गौतमलाई प्रदान गरिएको छ । ती सबै पुरस्कार प्रधानमन्त्री देउवाले प्रदान गर्नुभएको थियो । पुरस्कारको राशि जनही नगद एक लाख नगद रुपैयाँ र सम्मानपत्र रहेको छ ।

नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व एवं नेपाली साहित्य क्षेत्रमा अतुलनीय योगदान गर्नुभएका बिपी कोइरालाको स्मरणमा पर्यटन मन्त्रालयले यसैवर्ष सो पुरस्कारको स्थापना गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?