माओवादीले लाखौँ नागरिकताविहीनको समस्या समाधान गर्‍यो : प्रचण्ड

हिमालय टाइम्स
Read Time = 5 mins

पुरान साह/हिटा
जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशमा भएको नागरिकतासम्बन्धी समस्या माओवादी केन्द्रले समाधान गरेको दाबी गर्नुभएको छ । सर्लाहीको बागमती नगरपालिका-८ मा आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सो कुरा बताउनुभएको हो । शुक्रबार संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाबाट नागरिकता विधेयक पारित भएको थियो । लगत्तै शनिबार मधेश प्रदेश आउनुभएका प्रचण्डले नागरिकता विधेयकको बारेमा चर्चा गर्नुभएको हो ।

उहाँले जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँगको साक्षात्कारमा पनि नागरिकता विधेयकको सफलताबारे सुरुमा चर्चा गर्नुभएको थियो । ‘झण्डै ६/७ लाख युवा नागरिकताविहीन भएको अवस्था थियो । मैले यही मधेश प्रदेशमा आएर केही महिना पहिला के भनेको थिएँ ?’, प्रचण्डले भन्नुभयो । उहाँले माओवादी केन्द्रले सो समस्या समाधान गरेको बताउनुभयो । ‘तराई मधेशको नागरिकता समस्या हर हालतमा समाधान गरिनेछ भनेर विश्वास दिलाएको थिएँ,’ प्रचण्डले भन्नुभयो, ‘मैले यहाँका सम्पूर्ण जनता र लाखौँ युवाहरू । जो नागरिकताविहीन अवस्थामा थिए, उनीहरूलाई हामीले शुक्रबारबाट नागरिकताको समस्या समाधान गर्‍यौँ । यो सबैको लागि खुसीको कुरा हो । माओवादी केन्द्रले गरेको प्रतिबद्धता शुक्रबारबाट पूरा गरेको छ ।’ यी समस्या समाधान गर्ने मुख्य पार्टी माओवादी केन्द्र भएको भन्दै आउने दिनमा बलियो बनाउन उहाँले आग्रह गर्नुभयो ।

अहिले पनि मुलुकमा संघीयता र गणतन्त्र असफल पार्ने षड्यन्त्र भइरहेको उहाँले जिकिर गर्नुभयो । उहाँले कसले त्यस्तो गरिरहेको हो भन्ने उल्लेख नगरे पनि त्यसलाई असफल बनाउन माओवादीले पार्टीले संघर्ष गर्ने बताउनुभयो । त्यस्तै, दाहालले मंसिर पहिलो साता प्रदेश र संघको निर्वाचन हुने बताउनुभएको छ । त्यो निर्वाचनमा आफ्नो पार्टीलाई बलियो बनाउन आग्रह गर्दै प्रचण्डले शिक्षा, स्वास्थ्य, रोजगारी तथा हक, अधिकार र पहिचानको सुनिश्चितता हुने बताउनुभयो ।

उहाँले नेपालमा राजनीतिक स्थायित्वका निम्ति चीन र भारतबीच राम्रो सम्बन्ध बनाउनुपर्ने पनि बताउनुभयो । ‘नेपालको राष्ट्रिय एकतालाई बलियो पार्नका लागि छिमेकीहरू चीन र भारतसँग सन्तुलित र राम्रो सम्बन्ध बनाउनुपर्छ । नेपालमा स्वाधिनता, राजनीतिक स्थिरता, विकास र समृद्धिको निम्ति हामीले सबैसँग हातेमालो गर्नुछ,’ उहाँले भन्नुभयो ।

हालैको भारत सम्बन्ध र चिनियाँ नेताहरूसँग काठमाडौंमा भएको भेटवार्ता उल्लेख गर्दै दाहालले दुवै मुलुकसँग राम्रो सम्बन्ध बनाइराखे विकास र स्थिरता हुने बताउनुभएको हो । दाहालले आगामी निर्वाचनपछि आरजूलाई प्रधानमन्त्री र राष्ट्रपतिमा शेरबहादुर देउवालाई बनाउने सहमति भएको कुरा ‘गिरोहले गरेको आपराधिक हल्ला’ भएको बताउनुभयो । त्यस्तो प्रचारमा कुनै सत्यता नभएको भन्दै दाहालले भन्नुभयो, ‘यो सबै हावा कुरा हो । यो एकखालको भ्रम फैलाउने कुनै न कुनै गिरोहले गरेको आपराधिक हल्ला हो । त्यसमा कुनै सत्यता छैन, हुन सक्दैन,’ अघिल्लो साता भएको तीनदिने भारत भ्रमणबारे दाहालले भन्नुभयो, ‘आरजू उपचारको क्रममा दिल्लीमा हुनुहुन्थ्यो, उहाँको स्वास्थ्य लाभको कामना गरेको हो । त्यो यति प्रचारमा लगियो कि अन्तर्राष्ट्रियस्तरमा पनि प्रचार भएछ । यस्ता वाहियात, तथ्यहीन र षड्यन्त्रमूलक कुराबाट जोगिनुहोला ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?