प्रदेश र समानुपातिक खारेजीको माग गर्दै प्रदर्शन

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । आगामी चुनावअघि नै प्रदेश र समानुपातिक निर्वाचन प्रणालीको खारेजीको माग गर्दै नेपाल स्वतन्त्र नागरिक सञ्जालले माइतीघरमा प्रदर्शन गरेको छ । चुनावअघि नै प्रदेश र समानुपातिक प्रणाली खारेज नगरे कडा आन्दोलनको चेतावनीसमेत दिएको छ ।
सञ्जालका संयोजक दिनेश सुवेदीले प्रदेश र समानुपातिक निर्वाचन प्रणाली नेपालका लागि उपयुक्त नभएको प्रमाणित भइसकेको बताउनुभयो । उहाँले तत्काल खारेज नगरे देश ठूलो संकटमा जाने जिकिर गर्नुभयो । सुवेदीले सञ्जालले देशव्यापी रूपमा प्रदेश र समानुपातिक प्रणाली खारेजीका लागि अभियान नै चलाउने बताउनुभयो । प्रदेश निकै खर्चालु भइसकेको र देशले थेग्नै नसक्ने उहाँको भनाइ थियो ।

समानुपातिक सहितको मिश्रित निर्वाचन प्रणालीमा कुनै दलको पनि बहुमत नआउने हुँदा शासन सत्ता सधैँ अस्थिर हुने हुँदा समावेशीसहित पहिलो हुने निर्वाचन प्रणाली चुनावअघि नै संविधान संशोधन गरी लागू हुनुपर्ने उहाँले माग गर्नुभयो ।
सञ्जालका सदस्यसमेत रहनुभएका ललितपुर क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार घोषणा गर्नुभएका डा. दीपेश केसीले दलीय सिण्डिकेट बनाएर जनताले नचाहेको प्रणाली लाद्ने गतिविधिविरुद्ध विद्रोह अनिवार्य भएको बताउनुभयो । उहाँले जाति जातिलाई लडाउने गरी धर्ममाथि प्रहार भएको पनि आरोप लगाउनुभयो ।

यस्तै, सञ्जालका सदस्य सुमन केसीले स्वतन्त्रहरूको आवाज देशभर गुञ्जिइरहेको बताउँदै जनताको अपमान गर्दै दलहरूले जबरजस्ती समानुपातिक निर्वाचन प्रणाली र प्रदेशको व्यवस्था लागू गरेर देशलाई बर्बादीतर्फ लगेको बताउनुभयो ।

त्यसैगरी, सञ्जालका सदस्य विश्व लामाले देशभरका स्वतन्त्रहरू एक भई प्रदेश र समानुपातिक निर्वाचन प्रणाली खारेज गर्न आन्दोलनमा उत्रनुपर्ने बताउनुभयो । त्यस्तै, अर्का अभियानकर्ता आरोपी सिंहले देशमा अराजकता र भ्रष्टाचार ज्यादै बढेकाले विधिको शासन कायम हुनुपर्ने र भ्रष्टाचारीलाई कारबाही हुनपर्ने बताउनुभयो । सञ्जालका सदस्य र समर्थकहरू माइतीघर मण्डलामा राष्ट्रिय झण्डासहित भेला भएर प्रदर्शनमा सहभागी भएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?