साफको प्रशिक्षण आजबाट

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा ) ले महिला साफ च्याम्पियनसिपको तयारी आज (सोमबार) बाट गर्ने भएको छ । एन्फाले काठमाडौंमा भदौ २१ देखि असोज ३ सम्म आयोजना हुने साफ महिला च्याम्पियनसिपको बन्द प्रशिक्षण सोमबारदेखि हुने जानकारी गराएको हो ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले १९औँ एसियाली खेलकुदका लागि प्रारम्भिक चरणको प्रशिक्षणमा रहेका ४० खेलाडी र थप १८ गरी ५८ खेलाडीलाई प्रशिक्षणमा बोलाएको छ । प्रशिक्षण टोलीमा ६ जना गोलरक्षक, २० डिफेन्डर, २० मिडफिल्डर र १२ फरवार्ड छन् ।

एन्फाले टोलीको मुख्य प्रशिक्षकमा कुमार थापालाई पुनः जिम्मेवारी दिएको छ । त्यस्तै एन्फाले व्यवस्थापकमा विन्द्रा देवानलाई नियुक्त गरेको छ । प्रतियोगिताका लागि रविन्द्र चन्द भेन्यु म्यानेजर, विजय घले लोकल जनरल को-अर्डिनेटर तथा दिनेश व्यञ्जनकार सुरक्षा प्रमुख रहनुहुनेछ । सञ्जीव शिल्पकारले मार्केटिङ, ब्रोडकास्ट र डिजिटल राइट्सको जिम्मेवारी लिनुहुनेछ ।

प्रतियोगिताका खेलहरू दशरथ रंगशाला हुनेछन् । आयोजक नेपालसहित सात राष्ट्रले प्रतियोगितामा भाग लिनेछन् । पाँचपटकको विजेता भारत प्रतियोगिताको स्वाभाविक दावेदार हो । बंगलादेशको ढाकामा बसेको साफको कार्यकारी समितिको बैठकले साफ च्याम्पियनसिप नेपालमा गर्ने निर्णय गरेको थियो ।

नेपालले यसअघि पाँचौँ संस्करणको महिला साफ आयोजना गरेको थियो । विराटनगरमा आयोजना भएको साफको उपाधि भारतले जितेको थियो । नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?