चार वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या

हिमालय टाइम्स
Read Time = 2 mins

पर्सा । पर्सामा चार वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ । चार वर्षीया बालिकालाई बलात्कार र हत्या गरेको आरोपमा प्रहरीले शनिबार तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा वीरगन्ज महानगरपालिका-२ बस्ने १९ वर्षीय जफ्रुदीन भन्ने सलमान खान, सोही महानगरपालिका-१६ बस्ने १८ वर्षीय किशोर र १२ वर्षीय बालक रहेका छन् ।

प्रहरीका अनुसार बिहीबार साँझदेखि बालिका हराएकी थिइन् । उक्त खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले खोजी कार्य सुरु गरेको थियो ।

खोजीको क्रममा वीरगन्ज महानगरपालिका-२ छप्कैयास्थित खाली जग्गाको झाडीमा ती बालिकाको शव फेला परेको थियो ।

थप अनुसन्धानका क्रममा घटनामा संलग्न १२ वर्षीय बालकलाई पक्राउ गरी थप सोधपुछ गरिएको थियो । सोधपुछका क्रममा ती बालक र अन्य ३ जनाको संलग्नतामा बालिकाको बलात्कारपछि हत्या गरिएको खुलेको थियो ।

घटनामा संलग्नमध्ये सलमान खानलाई सोही महानगरपालिका-२ घुसुकपुरबाट र १८ वर्षीय किशोरलाई सोही महानगरपालिका-१६ नगवास्थित सडकबाट प्रहरीले पक्राउ गरेको हो ।

उनीहरु उपर जबरजस्ती करणी तथा ज्यान सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ । घटनामा संलग्न हाल फरार एक जनाको प्रहरीले खोजी गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?