राष्ट्रिय उमा कुङफु भदौ अन्तिम साता

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल उमा कुङफु संघको आयोजनामा सातौँ राष्ट्रिय उमा कुङफु प्रतियोगिता भदौ अन्तिम साता हुने भएको छ । आयोजक संघको फुटुङमा शनिबार बसेको बैठकले भदौ २४ देखि २५ गतेसम्म प्रतियोगिता काठमाडौंमा गर्ने निर्णय गरेको अध्यक्ष सिद्धार्थ लामाले जनाउनुभएको छ । प्रतियोगितामा करिब तीन सय खेलाडीको सहभागिता रहनेछ ।

सान्डा र प्याटर्नमा गरी कुल २६ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । सान्डाको पुरुषमा १० र महिलामा आठ गरी १८ स्पर्धा समावेश छन् । प्याटर्नको पुरुष/महिलामा चार-चार गरी आठ स्पर्धामा खेल हुनेछ । प्रतियोगिता सञ्चालन गर्न करिब १० लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।

बैठकले प्रतियोगितालाई व्यवस्थित र सफलतापूर्वक सम्पन्न गर्न मूल आयोजक समिति र दुई उपसमिति पनि गठन गर्ने निर्णय गरेको छ । नौसदस्यीय मूल आयोजक समितिमा संघका सचिव महेश महर्जनलाई संयोजक र संघका पूर्वअध्यक्ष एवं सहायक मुख्य प्रशिक्षक उद्धव थापा मगरलाई सह–संयोजकको जिम्मेवारी दिइएको छ ।

आर्थिक उपसमितिको संयोजकमा राजदीश नेम्कुल, सह-संयोजकमा अशोक केसी र सदस्यमा जीवन गुरुङ रहनुभएको छ । प्रचारप्रसार तथा प्राविधिक उपसमितिमा संघका वरिष्ठ उपाध्यक्षसमेत रहनुभएका अन्तर्राष्ट्रिय निर्णायक सन्जीतकुमार राई संयोजक तथा गोपाल थापा, कमल मगर, सिद्धार्थ लामा र भूपेन्द्र गुरुङलाई सदस्य तोकिएको छ ।

बैठकले संघको चुनावी साधारणसभा गर्ने निर्णय पनि गरेको अध्यक्ष लामाले जानकारी गराउनुभयो । राष्ट्रिय खेलकुद परिषद्को स्वीकृति लिएर चुनावी साधारणसभा भदौ तेस्रो साता गर्ने गरी प्रक्रिया अगाडि बढाउने अध्यक्ष लामाले बताउनुभयो । केन्द्रीय साधारणसभाअघि विभिन्न पाँच प्रदेशमा संघ गठन गरिनेछ । त्यस्तै हाल १४ जिल्लामा रहेका संघलाई पुनर्गठन गर्ने र थप ११ जिल्लामा संघ विस्तार गर्ने तयारी पनि रहेको अध्यक्ष लामाले जानकारी गराउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?