नेपाललाई चामलमा भार

भारतले निकासी रोकेपछि दुई लाख मेट्रिक टन व्यवस्था गर्नुपर्ने

हिमालय टाइम्स
Read Time = 9 mins

रमेश भारती/हिटा
काठमाडौं । नेपाल कृषिप्रधान देश भए पनि नेपालीहरू कृषिका सामग्री आयातमै भर पर्नुपर्ने अवस्था छ । गत बिहीबार भारत सरकारले चामल निकासीमा रोक लगाउने निर्णय गरेको छ । जसको प्रभाव एसियामा चामल आयात गर्दै आएका देशमा पर्ने सम्भावना बढेको हो । भारतले चामल निकासीमा रोक लगाएपछि विश्वबजारमा चामलको भाउ बढ्ने, कालोबजारी हुने र एसियाका केही देशमा चामल अभाव हुनेसमेत अनुमान सुरु भएको हो ।

भारत विश्वकै सबैभन्दा ठूलो चामल निकासी गर्ने देशभित्र पर्छ । अहिले भारतले चामल निकासीमा रोक लगाएपछि यसको प्रभाव विश्वमा पर्ने सम्भावनाका बारेमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले औँल्याउन थालेका छन् । विश्वबजारमा हुने चामलको व्यापारमा भारतीय हिस्सा ४० प्रतिशत छ । भारतमै पछिल्लो समय चामलको माग बढेपछि सातवटा राज्यमा चामलको अभाव देखापरेको भारतीय सञ्चारमाध्यमहरूले बताइरहेका छन् ।

भारतीय चामलको मुख्य बजार नेपाल, श्रीलंका, बंगलादेश, भुटान पाकिस्तान, अमेरिका, चीन, युरोपका देश र अफ्रिकालगायत देश हुन् । भारतले चामल निकासी रोक्दा नेपाली बजारमा त्यस्तो समस्या सिर्जना नहुने कृषि तथा पुशपन्छी विकास मन्त्रालयका सहसचिव तथा प्रवक्ता प्रकाशकुमार सन्जेलले बताउनुहुन्छ । भारतले चामल निकासी रोक्दा नेपालमा अभाव र समस्या हुन्छ भनेर आत्तिहाल्नुपर्ने अवस्था नभएको उहाँले बताउनुभयो । ‘भारतले चामल निकासी गरेको विषय कूटनीतिक तहमा छलफल भइरहेको छ । सरकारले पनि यो विषयमा छलफल गरिरहेको छ । जसकारण अहिले विभिन्न खाले अनुमान गर्नु हुँदैन’ उहाँले भन्नुभयो ।

मासिक एक करोड ४५ लाख किलो आयात
आर्थिक वर्ष २०७९/८० को ११ महिनामा नेपालले दुई लाख मेट्रिक टन चामल आयात गरेको भन्सार विभागको तथ्यांकमा छ । विभागको तथ्यांकका आधारमा मासिक एक करोड ५० लाख किलो चामल विभिन्न देशबाट आयात भएको जनाइएको छ । यो भन्सार हुँदै आएको चामल हो । नेपालमा चामल खुला नाका हुँदै पनि भित्रिने गरेको कृषि मन्त्रालयका अध्ययनमा भनिएको छ । प्रायः नेपालमा चामल धेरै भारतबाटै आयात हुने गरेको छ । नेपालमा वार्षिक नौ अर्ब ८५ करोड बराबरको चामल आयात गरेको सरकारी तथ्यांकहरूमा छ । नेपालमा मासिक एक करोड ४५ लाख किलो चामल खपत हुँदै आएको विभागको तथ्यांकमा छ । योमध्ये करिब ९० प्रतिशत हिस्सा भारतबाटै आएको छ ।

भारतले निर्यात गर्ने कुल चामलमध्ये अहिले प्रतिबन्ध लगाएको गैर–बासमती चामलको हिस्सा २५ प्रतिशतभन्दा बढी छ । यसको अर्थ अब भारतले विश्वभर निर्यात गर्ने चामलमध्ये २५ प्रतिशत निकासी कटौती भएको छ । नेपालमा यो चामलको माग र खपत राम्रो भएको चामल व्यवसायी बताउँछन् । गत आर्थिक वर्ष २०७९/०८० को जेठ मसान्तसम्म (११ महिना)मा भारतसहित चीन, अमेरिका र कोरिया लगायतका १७ देशबाट झण्डै ३४ अर्बको ७२ करोड किलो धान चामल नेपाल भित्रिएको विभागको तथ्यांकमा छ । भारतबाट वार्षिक करिब ३० देखि ४० अर्बको धान÷चामल नेपालमा आयात भइरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकमा छ । भारतीय चामलको एउटा प्रमुख बजार नेपाल भएकाले निकासीमा प्रतिबन्ध लगाउँदा प्रत्यक्ष प्रभाव नेपाललाई पनि पर्ने मन्त्रालयकै तथ्यांकले पनि बताउँछ ।

नेपालमा वार्षिक ५५ देखि ६० लाख मेट्रिक टन धान उत्पादन हुन्छ । तर, अहिले उत्पादन भएको धानले नपुग्ने गरेको र नेपालमा वार्षिक ६५ लाख मेट्रिक टन धान आवश्यक रहेको कृषि मन्त्रालयको भनाइ छ । कुल उत्पादनको ३० प्रतिशत आयातमा निर्भर हुनुपर्ने बाध्यता भएको कृषि विज्ञ हरि दाहाल बताउनुहुन्छ । नेपालले धानसँगै गहुँ, मकै, कोदो, फापर र अन्य नगदेबाली उत्पादनलाई जोड दिएर आयातको निर्भर घटाउँदै लैजानुपर्ने उहाँले बताउनुभयो ।

दैनिक प्रतिव्यक्ति २५० ग्राम खपत
नेपालमा सन् २०१० मा प्रतिव्यक्ति चामल खपत वार्षिक १३२.१६ किलो रहेकोमा सन् २०१५ मा बढेर १३६.९ किलो पुग्यो । यो पनि बढेर अहिले प्रतिव्यक्ति चामल खपत १३८.७४ किलो पुगेको कृषि मन्त्रालयका केही अध्ययनमा उल्लेख छन् । कृषि मन्त्रालयको अध्ययनमै दैनिक प्रतिव्यक्ति २५० ग्राम हुन आउँछ । अहिले यति चामल खपत भइरहेको कृषि मन्त्रालयले जनाएको छ ।

७६ लाख मेट्रिक टन धान उत्पादन गर्नुपर्ने
सन् २०१९ मा प्रकाशित ‘राइस स्ट्राटेजी फर नेपाल’ शीर्षकको शोधपत्रमा अनुमान गरिएअनुसार सन् २०३५ सम्ममा नेपाललाई वार्षिक एक करोड दुई लाख ६० हजार मेट्रिक टन चामल आवश्यक पर्ने देखिन्छ । जसमा सरकारले ७६ लाख मेट्रिक टन धान उत्पादन गर्नुपर्ने दायित्व सरकारलाई थपिएको कृषि विज्ञहरूले औँल्याएका छन् । सरकारले अहिलेकै जस्तो कृषिमा लगानी गर्दै गए १२ वर्षमा ७६ लाख मेट्रिक टन धान उत्पादन गर्न मुश्किल हुने यो क्षेत्रका विज्ञहरू बताउँछन् ।

सरकारले चालु आर्थिक वर्षमा ५६ अर्ब बजेट छुट्याएको छ । सरकारले चालु आर्थिक वर्ष २०८०/०८१ मा ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको छ । यो रिपोर्ट तयार गर्दासम्म नेपालमा ६७ प्रतिशत धान रोपाइँ भएको कृषि विभागले जनाएको छ । यो गत आर्थिक वर्षभन्दा कम भएको विभागको भनाइ छ । कुल धानखेती योग्य जमिनमध्ये करिब ७० प्रतिशत जमिनमा आकाशे पानीकै भरमा खेती हुने गरेको छ । कृषि मन्त्रालयका अनुसार नेपालमा कुल १४ लाख ७० हजार हेक्टर जग्गा धानखेतीका लागि योग्य छ । तर, यसमध्ये ३० प्रतिशत जमिनमा मात्र सिँचाइ पुगेको छ । जसकारण तत्काल सिँचाइको दायरा बढाएर उत्पादनमा जोड गर्नुपर्ने विज्ञहरूको भनाइ छ ।

अमेरिका र अफ्रिकी देशमा पनि चामलको अभाव
अमेरिकाका विभिन्न सहर, अफ्रिकाको बेनिनसहितका क्षेत्रमा चामलको अभाव भइरहेको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूबाट आइरहेको छ । विश्वकै सर्वशक्तिमान देश अमेरिकामा समेत अभाव हुने स्पष्ट संकेतहरू आइसकेको छ । अमेरिका र बेनिनका केही बजारमा चामल किन्नेहरूको लाइन लाग्न सुरु भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?