काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले प्रभु बैंकका नायव प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेसहित ११ जनालाई पक्राउ गरेको छ । सिआइबीले तत्कालीन सेञ्चुरी कमर्सियल बैंकका दुईजना प्रमुख कार्यकारी अधिकृत (सिइओ) तुलसीराम गौतम र मनोज न्यौपानेसहित ११ जनालाई पक्राउ गरेको हो । सेञ्चुरी कमर्सियल बैंकमा रहँदा ऋण प्रवाहमा अनियमितता भेटिएपछि उनीहरूलाई सिआइबीले मंगलबार पक्राउ गरेको हो । सेञ्चुरी बैंक प्रभु बैंकमा मर्ज भएसँगै न्यौपाने प्रभु बैंकमा नायव प्रमुख कार्यकारी अधिकृत थिए । सिआइबीका अनुसार तत्कालीन सेञ्चुरी बैंकका कर्मचारीहरू सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ, सन्ध्या श्रेष्ठ, सविन श्रेष्ठ, दिलीप बराल, सुशिल बस्नेत, राजेश भण्डारी, रमण श्रेष्ठ र दिपेश प्रधान पक्राउ परेका छन् । यीमध्ये पाँचजना प्रभु बैंकका बालवाला कर्मचारी हुन् ।
सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका देउराली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रवीन्द्र चौलागाईंको बयानका आधारमा तत्कालीन सेञ्चुरी बैंकका सिइओसहित कर्मचारी पक्राउ गरिएको सिआइबीका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुभयो ।
वोगटीका अनुसार ८० करोड रुपैयाँ बराबरको धितो राखेर दुई अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह भएको भेटिएको छ । पूजा मार्केटिङ, पूजा ट्रेडिङ एण्ड मार्केटिङ, थ्री ब्रदर्स मार्केटिङ र अन्नपूर्ण डिष्टिलरी प्रालि लगायतका कम्पनीका नाममा चौलागाईंले तत्कालीन सेञ्चुरी बैंकबाट दुई अर्ब चार करोड ऋण लिएका थिए । धितोले ऋणको साँवा ब्याज खाम्ने अवस्था नरहेको देखिएको छ । चौलागाईंले समयमा कर्जा र कर्जाको साँवा ब्याज नतिरेपछि प्रभु बैंकले ऋणी तथा जमानीको धितो गत असोजमा लिलामीमा निकालेको थियो तर धितो बिक्री हुन सकेको छैन ।
चौलागाईंले सेञ्चुरीलगायत माछापुच्छ्रे, एनआइसी एसिया, सिटिजन्स, मेगा, बैंकबाट पनि ऋण लिएका थिए । माछापुच्छ्रे बैंकले गत वर्ष नै चौलागाईंको धितो गैरबैंकिङ सम्पत्तिका रूपमा सकार गरिसकेको छ भने सिटिजन्सले पनि असुली गरिसकेको छ । चौलागाईंले आफू अध्यक्ष भएको सहकारीका बचतकर्ताको रकमले जग्गा किन्ने र उक्त जग्गा बैंकमा धितोमा राखेर ऋण लिँदै आएका थिए । सहकारीका बचतकर्ताको तीन अर्बभन्दा बढी ठगी गरेको अभियोगमा गत असोज १८ गते सिआइबीले चौलागाईंलाई पक्राउ गरेको थियो ।
चौलागाईं तथा उनका आफन्तहरूले पूजा मार्केटिङ, पूजा ट्रेडिङ एण्ड मार्केटिङ, थ्री ब्रदर्स मार्केटिङ र अन्नपूर्ण डिष्टिलरी प्रालिको नाममा लिएको कर्जाको समयमा नै साँवा ब्याज नतिरेपछि बैंकले धितो लिलामी निकालेको हो । पूजा मार्केटिङको सञ्चालकमा पूजा खत्री रहेकी छन् भने कर्जाको जमानतकर्तामा रवीन्द्र चौलागाईँ छन् । खत्री चौलागाईंकी श्रीमती हुन् । अन्य सञ्चालकमा राजेन्द्र खत्री र रवीन्द्र चौलागार्इं रहेका छन् । जमानीमा शशी खत्री र पूजा खत्री रहेका छन् ।
नेपाल राष्ट्र बैंकले सेञ्चुरीमा भएका कर्जा दुरुपयोगसम्बन्धी फाइल अध्ययन गर्न सिआइबीलाई जिम्मा दिएको थियो । प्रारम्भिक अध्ययनमा न्यौपानेसहितका कर्मचारी दोषी देखिएपछि पक्राउ गरिएको सिआइबीले जनाएको छ । सेञ्चुरीको खराब कर्जाका कारण हाल प्रभुको खराब कर्जा अनुपात उच्च रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच