सुधारको बाटोमा स्याङ्जा जिल्ला अस्पताल

हिमालय टाइम्स
Read Time = 7 mins

-युवराज पौडेल

स्याङ्जा । स्याङ्जा जिल्ला अस्पताल यतिबेला सुधारको बाटोमा अगाडि बढेको छ । पुतलीबजार-३ कुमाल गाउँमा अवस्थित यो अस्पताल धेरै समयदेखि सुधार कुरेर बसिरहेको थियो । जिल्लाको सदरमुकामको अस्पताल भएर पनि अस्पताल थुप्रै समस्याहरुबाट ग्रस्त थियो ।

साधन र श्रोतको अभाव र भएका साधन र स्रोतको उपयुक्त परिचालन हुन नसकेर अस्पताल आफै रोगी अवस्थामा पुगेको भन्दै यसका बारेमा चौतर्फी चिन्ता व्यक्त भएको थियो । ब्लड ब्याग जस्तो सामान्य कुरा पनि उपलब्ध गराउन नसकेर सुत्केरी बिरामीले धन्नै ज्यान गुमाउने अवस्थामा पुगेको भन्ने समाचार हिमालय टाइम्सले छापेको थियो।

अस्पतालको व्यवस्थापन पक्षप्रति स्वयम् त्यहीँका कर्मचारी र डाक्टरको समेत गुनासो सुनिन्थ्यो । कहिले बेलामा तलब नपाएर कर्मचारीले गुनासो गरिरहेका हुन्थे त कहिले उपचारका सामग्री नपाएर डाक्टर नर्सले गुनासो गरिरहन्थे ।

यतिबेला भने सबैको खबरदारीका कारण अस्पताल सुधारको बाटोमा अगाडि बढेको छ । कोभिडको बेलामा ल्याइएको अक्सिजन प्लान्ट विद्युतको अभावमा थन्किएको अवस्थामा तत्कालीन प्रजिअ राजुप्रसाद पौडेलको विशेष पहलमा र विद्युत प्राधिकरण स्याङ्जाका प्रमुख प्रताप बराल र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रमेश आचार्यको सक्रियता जिल्लाकै ठुलो अक्सिजन प्लान्ट सन्चालमा आएको छ । यसका कारण अस्पताललाई आवश्यक अक्सिजन यहीँबाट उपलब्ध हुन थालेको छ भने जिल्लाका अन्य अस्पताललाई पनि यसले अक्सिजन सेवा पुर्‍याइरहेको छ ।

अस्पतलका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रमेशप्रसाद आचार्यको विशेष सक्रियतामा यतिबेला अस्पताल परिसरमा ट्रान्सफरमर जोड्ने काम अन्तिम चरणमा पुगेको छ । डा.आचार्यले भन्नुभयो, ‘अस्पतालमा ट्रान्सफरमरको व्यवस्था नहुँदा कहिले विद्युत बढी भोल्टेजमा आउने त कहिले कम भोल्टेज आउने भएकाले अस्पतालको सेवामा समस्या परेको थियो । बढी भोल्टेज आउँदा ल्याबमा तथा विभिन्न उपकरणमा क्षति पुगेर हैरान भएका थियौं। कम भोल्टेज आउँदा नचलेर समस्या हुने भएकाले अहिले विद्युतसँग सहकार्य गरी ट्रान्सफरमरको व्यवस्था गरेका छौं ।‘ ट्रान्सफरमर जोडेपछि अब अस्पताल विद्युत असन्तुलनका कारण हुने सबै समस्याबाट मुक्त हुने भएको छ ।

अहिले आएर अस्पतलामा बिरामीका लागि विभिन्न सेवा सुविधाहरु थपिएका छन् । अस्पतालमा आइसियु उपचारलाई व्यवस्थित तरिकाले स्थापना गरिएको छ । गम्भीर प्रकृतिका दर्जनौं बिरामीलाई अस्पतालको इमर्जेन्सी कक्षमा राखेर एकैसाथ उपचार गर्न सकिने गरी आकस्मिक कक्ष निर्माण गरिएको छ ।

नयाँ महिला र पुरुष वार्डहरु थपिएका छन् । ओपिडीमा बिरामीलाई सहज र सरल तरिकाले सम्बन्धित डाक्टरलाई भेट्न पाउने गरी व्यवस्थित गरिएको अस्पतालका प्रमुख डा.रमेश प्रसाद आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अस्पतालमा अहिले जिल्लामै पहिलोपल्ट रगत तथा पिसाबको कल्चर गर्न सक्ने व्यवस्था गरिएको छ । दन्त्य सेवा विस्तार गरिएको छ ।’

त्यस्तै अस्पतलमा जेष्ठ नागरिकहरुलाई सहज र सरल तरिकाले सेवा दिन सकियोस् भन्ने उद्देश्यका साथ ज्येष्ठ नागरिक उपचार वार्ड स्थापना गरिएको छ । गरिब, असहाय, अशक्त, विपन्न, अपाङ्गलाई उपचारमा सहुलियत दिने उद्देश्यले सामाजिक सेवा इकाई स्थापना गरिएको अस्पतालका अध्यक्ष इन्द्रबहादुर गोदारले बताउनुभयो ।

अस्पतालले यतिबेला मृगौलाका डाइलाइसिस गर्नुपर्ने बिरामीहरुका लागि भनेर नियमित डाइलाइसिस सेवा प्रदान गरिरहेको छ । यसबाट नियमित डाइलाइसिस गर्नुपर्ने बिरामीहरु पोखरा वा काठमाडौ जानुपर्ने अवस्थाको अन्त भएको छ । बिरामीहरु यसबाट निकै खुसी देखिएका छन् । सिसी क्यामराबाट अस्पतालका सबै वार्डमा भएका गतिविधि हेर्न सकिने भएको छ । पहिले आर्थिक रुपले घाटामा गएको अस्पताल यतिबेला रु १ करोड २४ लाख नाफामा गएको अस्पतालका प्रमुख आचार्यले बताउनुभयो ।

एकद्वार सङ्कट व्यवस्थापन केन्द्रको स्थापना गरिएपछि हिंसामा परेका महिलाहरुका लागि फाइदा पुगेको छ । यसबाट यौन हिंसा तथा अन्य तरिकाले हिंसामा परेका महिलाहरुले स्वस्थ्योपचार तथा कानुनी सेवा लगायत अन्य आवश्यक सेवा एकै ठाउँबाट लिन पाउने भएका छन् ।

अहिले अस्पतामा एक्सरे, डिजिटल एक्सरे, भिडियो एक्सरे, इसिजी, शल्यक्रिया, प्रसुति सेवा, होमोडायलाइसिस लगायतका सेवाहरु प्रदान गरिएको छ । स्वास्थ्य बिमाका बिरामीहरुका लागि त्यही अनुसारको व्यवस्था गरिएको छ । पहिले फार्मेसीमा डाक्टरले लेखेका औषधी नपाइएर अन्यत्र औषधी खोज्न बिरामी भौतारिनुपर्थ्यो भने अहिले फार्मेसीमा औषधी थपेर प्रायः रोगका औषधीका लागि बिरामी अन्यत्र भौतारिनु नपर्ने भएको छ । ब्लड बैङ्कको व्यवस्था गरिएको छ जसबाट बिरामीहरुका लागि रगतको अभाव हुने अवस्थाको अन्त भएको छ ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Umashankar Prajapati
Umashankar Prajapati
2022-10-31 12:40 pm

My Special Thanks to Yubraj Sir.

रिलेटेड न्युज

छुटाउनुभयो कि ?