दुर्गम गाउँमा १० शश्याको अस्पताल निर्माण सुरु

हिमालय टाइम्स
Read Time = 6 mins

-डम्बर बुढा मगर

बागलुङ ।  बागलुङ जिल्लाको निसीखोला गाउँपालिका-४ झिम्पामा पालिकास्तरीय आधारभूत अस्पताल निर्माण सुरु भएको छ । केन्द्र सरकारको सहयोगमा निसीखोला आधारभूत अस्पताल बन्न लागेको हो । अस्पताल आगामी २०८० पुस महिनामा सम्पन्न गर्ने गरी निर्माण सुरु भएको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले जानकारी दिनुभयो ।

गाउँपालिकाले १० करोड ९४ लाखको स्टिमेट गरेकोमा हिन्दुङ एसी आइएस जेबी कन्ट्रक्सनले आठ करोड २४ लाख रुपैयाँमा निर्माण गर्ने गरी जिम्मा लिएको गौतमको भनाइ छ । अस्पताल १० शश्याको निर्माण हुने उहाँको भनाइ छ । ‘अस्पतालको सम्झौताको काम पूरा भएर निर्माण सुरु भएको छ, आगामी २०८० पुससम्म सम्पन्न हुने गरी सम्झौता भएको छ,’ उहाँले भन्नुभयो ।

अस्पतालको लागत ठूलो भएको हुँदा निर्माण समय लामो भएको उहाँको भनाइ छ । केन्द्र सरकारले कार्य प्रगतिका आधारमा बजेट दिने गौतमले बताउनुभयो । अस्पताल भवन सुविधासम्पन्न हुने बताइएको छ । अस्पताल निर्माणपछि निसीखोलाबाटै विशेषज्ञ सेवा प्रदान हुने अपेक्षा लिइएको छ । भवन दुईतले हुने गौतमले जानकारी गराउनुभयो ।

भवन निर्माणका लागि गाउँपालिकाले केही समयअगाडि नै आठ रोपनी निःशुल्क जग्गा प्राप्त गरेको थियो । अस्पताल बनाउन सात रोपनी दुई आना जग्गा आवश्यक पर्ने मापदण्डमा उल्लेख छ । स्थानीयहरूले अस्पताल निर्माणका लागि जग्गा प्रदान गरेपछि गाउँपालिकाले गत वर्ष नै अस्पतालको शिलान्यास गरेको थियो । अघिल्लो वर्ष शिलान्यास भएको अस्पतालको निर्माण भने बल्ल सुरु भएको छ ।

अस्पताल विशेष गरी गाउँपालिकाका वडा नम्बर ३, ४, ५ र ६ का नागरिकलाई पायक पर्नेछ । झिम्पा गाउँको फेदमा निर्माण हुन लागेको अस्पतालमा विशेषज्ञसहित स्वास्थ्य सेवा सुरु हुन थालेपछि निसीखोलाका हजारौँ नागरिकलाई स्वास्थ्य उपचारमा सहजता हुने गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले बताउनुभयो । उहाँले वर्षौंदेखि यहाँका नागरिकहरू सहज स्वास्थ्य सेवा पाउनबाट वञ्चित हुँदै आएको भन्दै आधारभूत अस्पताल निर्माणपश्चात् गाउँठाउँबाटै सहज सेवा लिन सक्ने बताउनुभयो । ‘निसीखोलाका दूरदराजमा रहेका नागरिकहरूले वर्षौंदेखि सहज रूपमा स्वास्थ्य सेवा लिन पाइरहेका छैनन्, सामान्य स्वास्थ्य सेवा पाउन नसकेका नागरिकले यहाँ अस्पताल निर्माणपश्चात् विशेषज्ञ सेवा पाउनेछन् भन्नेमा हामी विश्वस्त छौँ,’ अध्यक्ष घर्ती मगरले भन्नुभयो, ‘सहज स्वास्थ्य सेवा प्रदान गर्नु हाम्रो प्रमुख दायित्व हो । विगतमा धेरै नागरिकले स्वास्थ्य उपचारका लागि दुःख पाए, अब त्यो समस्याको समाधान गर्नेतर्फ हामी छौँ ।’

अध्यक्ष घर्ती मगरले विगतमा यहाँका धेरै नागरिकले स्वास्थ्य उपचार नपाएर अकालमा ज्यान गुमाउनुपरेको भन्दै अब कुनै पनि नागरिकले स्वास्थ्य उपचार नपाएर अकालमा ज्यान गुमाउनुनपर्ने बताउनुभयो । उहाँले सामान्य बिरामी भए पनि बुर्तिबाङ पुग्नुपर्ने बाध्यता हट्ने र नागरिकको स्वास्थ्य, समय र पैसासमेत बचत हुने बताउनुभयो । ‘निसीखोलामा अझैसम्म विशेषज्ञ स्वास्थ्य सेवा प्रदान हुन सकिराखेको छैन, स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य इकाईहरू त हामीले स्थापना गरेर सञ्चालनमा छन् तर विशेषज्ञ सेवा भने दिन सकिराखेका छैनौँ, त्यसका लागि ठूला–ठूला अस्पतालहरूमा पुग्नुपर्ने अवस्था यथावत छ,’ उहाँले भन्नुभयो, ‘अब त्यो अवस्थालाई पार लगाउनुपर्ने हिसाबले काम सुरु गरेका छौँ ।’

यस क्षेत्रमा ठूला अस्पतालहरू छैनन् । त्यसकारणले गर्दा यहाँका हजारौँ नागरिकहरू सामान्य बिरामी हुनेबित्तिकै बुर्तिबाङ जाने गर्छन् । बुर्तिबाङमा उपचार हुन सकेन भने पोखरा, काठमाडौं, पाल्पा, भरतपुरलगायत देशका ठूला अस्पतालहरूमा जानुपर्ने बाध्यता छ । निसीखोलामा अहिलेसम्म पनि विशेषज्ञ सेवा प्रदान हुन सकेको छैन । निजी क्षेत्रले पनि यो सेवा उपलब्ध गराउन सकेको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?