जुम्लाको सरकारी टोली बडिमालिकाको पूजाका लागि प्रस्थान

Read Time = 4 mins

-विजय रावत

जुम्ला । सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लास्थित बडिमालीको भगवती मन्दिरमा पूजाआजा गर्नेका लागी जुम्लाको सरकारी टोली बाजुरा प्रस्थान गरेको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाका नायब सुब्बा एकराज गिरीको नेतृत्व तथा पुजारी विष्णुप्रसाद उपाध्याय सहित दर्जनौं भक्तजनको टोली बडिमालिका गएको छ । हरेक वर्ष साउन शुक्लपूर्णिमा नाग पञ्चमीका दिन तत्कालीन जुम्ला राज्य र डोटी राज्यद्वारा संयुक्त रूपमा बडिमालिकाको पूजा गर्ने प्रचलन अनुसार मंगलबार जुम्लाको सरकारी टोली बडिमालिका गएको जुम्लाका संस्कृत जानकार रमानन्द आर्चायले जानकारी दिनुभयो ।

नेपाली सेनाको एक टुकुटीले बटुक भैरवनाथ, बाबा चन्दननाथ र दरबार मालिकाको सलामी अर्पण,पाँच वटा सलामी,ब्यान्डबाजा र बिगुल फुकेर पूजाको डोली सहित बडिमालिका हिँडेको टोलीलाई स्थानीयदेखी सुरक्षाकर्मीले भव्यका साथ बिदाइ गरिएको छ ।

संस्कृतिका जानकार आचार्यले भन्नुभयो,“परम्परादेखि हरेक नाग पञ्चमीका दिन जुम्लाको सरकारी टोली पूजाका लागि बडिमालिका जाने चलन रहेको छ । डोटी बाजुराको टोली बडिमालिका आउने जुम्लाको टोली बडिमालीका पुगेर संयुक्त पूजा गर्ने प्रचलन छ । नेपाली सेनाको सलामीसहित टोलीलाई जुम्लाका सयौ भक्तजन, सरकारी तथा गैससका प्रतिनिधिहरूले फूलमाला अबिर सहित बिदाइ गरेकाछन ।” जिल्ला प्रशासन कार्यालयको तर्फबाट सुनको टीका, बिनायो, चाँदीको काँगियो, छत्र, मुरुली गरी ५ वटा पूजाका सामानहरू पेटारो नामक झोलीमा राखेर बडिमालिका मन्दिरमा पूजाका लागि पठाइएको संस्कृत जानकार आर्चायले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी विजया प्रसाईंले बडीमालिका जाने टोली सुरक्षार्थ सिमावर्ती जिल्ला प्रशासन र प्रहरी कार्यालयसंग समन्वय भएको बताउनुभयो । उहाँले भन्नुभयो,“गत वर्ष कोरोनाका कारण सिमित रुपमा टोली बडिमालिका गएको थियो । यस वर्ष नागरिकको उत्साह पनि धेरै देखियो । बाडिमालिकाको टोली पुगेपछि जुम्लामा जात्रा लाग्ने चलन छ । बडिमालिकाबाट टोली आगामी भदौ १ गते जिल्लामा फर्किने छ ।” बडिमालिकामा वर्षमा एक पटक हुने पूजाले बाजुरा र जुम्लाको धार्मिक सहिसुष्णताको विकास संगै धार्मिक पर्यटनलाई समेत उजागर गरेको जिल्ला समन्वय समितिका प्रमुख गोरीनन्द आचार्यले जानकारी दिनुभयो ।

 

 

 

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?