लोकमार्गको बिजोग : २५ वर्षदेखि बर्खामा हिलाम्मे, हिउँदमा धुलाम्मे

हिमालय टाइम्स
Read Time = 8 mins

-डम्मर बुढा मगर

बागलुङ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पूर्व-पश्चिम मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ-बुर्तिबाङ सडक खुलेको करिब २५ वर्ष भयो । घोडाबाँधेदेख बुर्तिबाङसम्मको सडक कालोपत्रे भइसके पनि बागलुङ सदरमुकामदेखि घोडाबाँधेसम्मको करिब २५ किलोमटर सडक अझै उस्तै छ । बागलुङ बजारदेखि पाँच किलोमिटर पर पुगेपछि लोकमार्गको दुर्दशा सुरु हुन्छ ।

यतिबेला यस सडक खण्ड पूरै हिलोले भरिएको छ । निर्माण कम्पनीले बागलुङ बजारको उपल्लाचौरदेखि घोडाबाँधेसम्मको सडक दुई खण्डमा विभाजन गरी ठेक्का सम्झौता गरे पनि सडक तल्लो खण्डको खहरेसम्म र उपल्लो खण्डको इनारपानीसम्म कालोपत्रे भइसकेको भए पनि खहरेदेखि अछेते हुँदै इनारपानीसम्मको कालोपत्रे हुन बाँकी १४ किलोमिटर सडक पार गर्न यात्रुलाई घण्टाँै लाग्ने गरेको छ । सडक राम्रो भए ३० मिनेटको यात्रा हुने यस सडकमा अहिले दुई घण्टा पूरै लाग्ने गर्छ ।

अहिले खहरेदेखि इनारपानीसम्मको लोकमार्ग सडकमा दर्जनौँपटक सवारी फस्ने र यात्रुले दुःख पाउने भइरहेको छ । मध्यपहाडी लोकमार्ग समयमै कालोपत्रे सम्पन्न नहुँदा यात्रु हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे सडकमा यात्रा गर्न बाध्य भएका छन् । १४ किलोमिटर सडकमा यात्रा गर्न अहिले दुई घण्टाभन्दा बढी समय लाग्ने गरेको चालक रेशम सुनारले दुखेसो पोख्नुभयो । उहाँले सडकको खराब हालतका कारण चालक र यात्रुहरूले बर्खाको समयमै निकै समस्या भोग्नुपरेको बताउनुभयो ।

‘हिउँदमा त त्यति धेरै समस्या पर्दैन, जब बर्खा लाग्छ तब तनाव सुरु हुन्छ, अहिले त बजारदेखि ६ किलोमिटर सडक कालोपत्रे भएको छ, त्यसपछिको इनारपानीसम्मको सडकमा दर्जनौँपटक सवारी फस्छ, एउटा सवारी फसेपछि घण्टौँ जाम पर्छ, सवारीलाई निकै मार पर्छ भने यात्रुलाई सास्ती,’ उहाँले भन्नुभयो, ‘समयमै कालोपत्रे भए कति सहज हुन्थ्यो होला, सरोकारवालाको ध्यान सडक कालोपत्रे गर्नमा जाँदै गएन, नत्र त यतिका वर्षसम्म यस्तो अवस्था किन हुन्थ्यो र ?’

ट्र्याक खुलेको २५ वर्षसम्म कालोपत्रे सम्पन्न नभएको भन्दै उक्त सडकले विकासमा नेता र सरकारको ध्यान नभएको भन्ने पुष्टि भएको स्थानीय बताउँछन् । उनीहरूले नागरिकस्तरबाट समेत सडकको विषयमा चर्को आवाज उठ्दा पनि ठेकेदार कम्पनीले समयमै काम नसक्नु नेतासँगको साँठगाँठका कारण हुन सक्ने शंका व्यक्त गरे ।

बागलुङ बजारदेखि घोडाबाँधेसम्मको सडक ठेक्का सम्झौता भएको ६ वर्षसम्म कालोपत्रे सम्पन्न हुन नसकेपछि बाह्रै महिना स्थानीयले समेत समस्या भोग्नुपरेको छ । सडक छेउछाउका बस्तीहरू हिउँदमा धूलो र वर्षातमा हिलोका कारण बसाइँसराइ गर्नुपर्ने अवस्थामा पुगेका छन् । सडकको असारअघि बल्लतल्ल २५ किलोमिटर सडकमध्ये ११ किलोमिटरमात्रै दुई निर्माण व्यवसायीले कालोपत्रे गरेका थिए ।

जिल्ला सदरमुकामको उपल्लाचौरदेखि घोडाँबाधेसम्मको २५ किलोमिटर सडकमध्ये घोडाबाँधे बिहुँ खण्डमा ६ किलोमिटर र उपल्लाचौरदेखि खहरेसम्म पाँच किलोमिटर सडक गरी जम्मा ११ किलोमिटर थप सडक कालोपत्रे सम्पन्न भइसकेको भए पनि अन्य १४ किलोमिटर सडक असारअघि कालोपत्रे नहुँदा समस्या भएको लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख नारायणदत्त भण्डारीले बताउनुभयो ।

‘गत आर्थिक वर्षमै बाँकी रहेको सडक कालोपत्रे गरिसक्नुपर्छ भनेका थियौँ, २५ किलोमिटर सडक नै ६ वर्षदेखि कालोपत्रे भएको थिएन, गत वैशाख–जेठमा राम्रो काम भयो, सबै सडक कालोपत्रे गर्न निर्माण व्यवसायीलाई ताकेता समेत गर्यौं,’ आयोजना प्रमुख भण्डारीले भन्नुभयो, ‘कच्ची सडक कालोपत्रे नगरेसम्म समस्या समाधान हुँदैन, हाम्रो निरन्तरको पहलमा ११ किमी कालोपत्रे गरेका छौँ, असारअघि सबै कालोपत्रे गर्न निर्माण व्यवसायीले सकेन, यसमा निर्माण व्यवसायीको कमजोरी छ, पानी रोकिनासाथ काम थाल्न र आगामी मंसिरसम्म सबै सडक कालोपत्रे गर्न अन्तिम चेतावनी दिएका छौँ ।’

भण्डारीले गत वर्षजस्तो बोक्से खाल्टोमा आउने समस्या अहिले नभएको भन्दै सडकमा सवारी फसेमा तत्कालै आयोजनाले निकाल्नका लागि बिहुँ र खहरेमा उपकरण तयारी अवस्थामा राखेको बताउनुभयो । उहाँले यो बर्खामा सवारीसाधन फसेर जाममा परेको खण्डमा उपकरणको सहायताले सहजीकरण गर्नुको विकल्प नरहेको बताउनुभयो । अहिले पानी पर्यो कि सडकमा सवारी फस्ने लोकमार्गको नियति नै भइसकेको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन् । उपल्लाचौरदेखि अक्षेते–बिहुँ खण्ड २०७३ माघ १४ गते भारत/सिद्धिसाई जेभीले १३ किलोमिटर र बिहुँ घोडाबाँधे खण्ड २०७२ माघ १० गते एमपी-एससिएफ-इसिसी जेभीले १२ किलोमिटर सडक दुई वर्षमा सडक कालोपत्रे गर्ने ठेक्का सम्झौता गरेका थिए । बागलुङ खण्डमा मात्रै १४२ किलोमिटर पर्छ ।

जसमध्ये अन्य स्थानको समस्याग्रस्त केही सडकबाहेक अधिकांश सडक कालोपत्रे सम्पन्न भइसक्दासमेत सदरमुकाम खण्डको १४ किलोटिरम सडक कालोपत्रे हुन नसक्दा स्थानीयसमेत आक्रोशित बनेका छन् । केही समयअगाडि जिल्ला प्रशासन कार्यालयमा छलफल गर्नेक्रममा लोकमार्ग कार्यालय पर्वतका प्रमुख नारायणदत्त भण्डारीले जसरी पनि गत आर्थिक वर्षमै सडक कालोपत्रे गरिसक्छौँ भनी प्रतिबद्धता जनाए पनि नतिजा नयाँ आउन सकेन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?